योजना कार्यान्वयनमा जुट्यो नगरपालिका

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ३० साउन/
कैलालीले टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको विकास आयोजना कामको प्रक्रिया अगाडि बढाएको छ ।
नगरपालिले विकासका आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि वडा स्तरमा उपभोक्ता समिती गठनको प्रक्रिया अगाडि बढाएको हो ।
यसभन्दा पहिले नगरपालिकाले दशै तिहार पछि मात्रै उपभोक्ता समिती गठन गरी आयोजनाको काम सुरु गर्ने गरेको भएपनि यसपटक नगरपालिकाले चालू आर्थिक वर्षमा भने कार्यविधि नै बनाएर भदौ १५ गतेभित्र उपभोक्ता समिती गठनको कार्य सम्पन्न गर्ने नीति लिएको छ । भदौ १५ गतेभित्र उपभोक्ता समिती गठन मात्रै नभई ठेक्का आयोजनाको प्रक्रिया समेत पूरा गरिसक्ने नीति लिएको छ । नगरपालिकाले आयोजनाको सबै काम बैशाखसम्म सम्पन्न गरी भुक्तानीको प्रक्रिया पूरा गर्ने गरि काम अगाडि बढाएको नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले बताउनुभएको छ । उहाँले आर्थिक मसान्तमा नगरपालिकामा भुक्तानीका लागि भिडभाड हुने र आयोजनाको काम समेत निकै कमसल हुने गरेको जनगुनासो आउन थालेपछि बैशाखमै आयोजनाको काम सम्पन्न गरिसक्ने नीति लिनुपरेको बताउनुभयो ।
“दशैसम्म हाम्रा सबै आयोजनाको काम सुरु भैसक्ने छ । चौथो चौमासिकको पहिलो महिनामा सबै आयोजनाको काम सम्पन्न हुनेछ ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “सम्झौताअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीको म्याद थपको काम पनि हुनेछैन । आयोजनालाई अल्यामा नलैजाने नगरपालिकाले नीति लिएको छ ।” उहाँले संघ र प्रदेशको काममा ढिलासुस्ती भएपनि नगरपालिकाको काममा कुनै जालसाजी नचल्ने बताउनुभएको छ ।
त्यतिमात्र होइन विकास निर्माणका कामलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजनाको अनुगमनका लागि पनि तेस्रो पक्षबाट अनुगमन गराउने भएको छ । “जसले आयोजनाको स्टिमेट बनाउछ, त्यसलाई आयोजनाको अनुगमन गर्न दिइने छैन ।” अनुगमन समितीका संयोजक समेत रहनुभएका शाहले भन्नुभयो, “तेस्रो पक्षबाट अनुगमन गर्दा आयोजनाको काम गुणस्तरीय हुनेमा हामिले विश्वास लिएका छौं ।”
वडा तहमा विनियोजन भएको विकास तर्फको उपभोक्ता समिती मार्फत काम गर्नुपर्ने आयोजनाको उपभोक्ता समिती गठनको काम सुरु भैसकेका छन् । सबैभन्दा झन्झटिलो र बढी समय विकास आयोजनाको काममा लाग्ने भएका कारण आर्थिक वर्षको सुरुमै उपभोक्ता समिती गठनको काम अगाडि बढाएको टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले जानकारी दिनुभएको छ । “समय पनि बढी लाग्ने, काम गराउन पनि बढी झन्झटिलो र देखिने काम नै विकास आयोजनाको भएका कारण त्यसैलाई प्राथमिकता दिएका छौं ।” वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, भदौ १५ गतेभित्र उपभोक्ता समिती गठन गरिसक्नुपर्ने छ तर हामिले भदौ पहिलो हप्ता मै उपभोक्ता समिती गठनको काम सम्पन्न गरेर कामलाई अगाडि बढाउने योजनाका साथ लागेका छौं ।”
नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष ऋषि श्रीपाईली ले वडामा उपभोक्ता समिती गठनको काम सुरु भैसकेको बताउँदै भदौको पहिलो सातासम्म सम्पन्न गर्नेगरी सुचना जारी गरिसकेको बताउनुभएको छ । “पहिलेका जनप्रतिनिधिहरुको भन्दा केही नयाँ काम गर्नुपर्छ भन्नेमा हामी छौं । विकासका लागि असार पर्खनुपर्दैन भन्ने उदाहरण नागरिकहरूलाई दिनुपर्ने छ ।” वडा अध्यक्ष श्रीपाईलीले भन्नुभयो, “हामिले गर्ने काम केही भिन्न हुनेछ । भिन्न काम गर्ने विश्वासका साथ जनताको जनमत पाएका पनि हौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *