रक्तजन्य रोग नियन्त्रण गर्न अभिमुखिकरण

शेयेर गर्नुहोस


टीकापुर १५ जेठ /
सिकलसेल एनिमिया, थलासिमिया लगायत रक्तजन्य रोगहरुको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको भएको छ ।
टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले देशभर सिकलसेलका झण्डै पाँच हजार बिरामी रहेको बताउँदै उपचारको पहुँच बाहिर भएकाहरु अझै तथ्यांकमा समावेश नभएको बताएका छन् । नेपालमा ११ प्रतिशत थारु समुदायमा सिकलसेल रहेको तथ्यांकमा उल्लेख छन् । थारु समुदायमा मात्रै नभई अन्य समुदायमा पनि सिकलसेल पुष्टि भएको डा. पाण्डेले बताए । वर्षौं पहिले औलोको बढी जोखिममा रहेको समुदायमा औलोलाई पचाउन सकेका व्यक्ति सिकलसेलबाट ग्रसित भएको उनको भनाई छ ।
डा. पाण्डेले शहरी स्वास्थ प्रवर्द्धन तथा सिकलसेल केन्द्र टीकापुर नगरपालिकाले सञ्चालनमा ल्याएपछि यस क्षेत्रका प्रभावित व्यक्तिलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरेका छन् । “यो रोगलाई नियन्त्रण गर्नका लागि बच्चा जन्मेको ९ महिनामै स्क्रीनिङ्ग हुन जरुरी छ ।” उनले भने, “त्यसो हुँदै बिरामीको पहिचान समयमै हुने र त्यसलाई त्यसैअनुसार निदान गर्न सकिन्छ ।” खासगरी सिकलसेलको रोग पत्ता लगाउनकै लागि बिरामीको ठूलो खर्च भैरहेको उल्लेख गर्दै डा. पाण्डेले सबै बिरामीलाइ स्वास्थ्य बिमामा जोड्दै उपचारको पहुँचमा ल्याउनुपर्नेमा जोड दिएका छन् । समुदायका सबै नागरिकहरूलाई एकपटक स्क्रीनिङ्ग आवश्यक रहेको उनको भनाइ छ ।
सिकलसेलको परिक्षण एकपटक गरे त्यसपछि गर्नु पर्दैन । सरकारले सिकलसेलका एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ भने टीकापुर नगरपालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवल सिंह भुलले जानकारी दिएका छन् । उनले सिकलसेल बिरामीको उपचारका सहयोग पुर्याउने उद्देश्यले नै सिकलसेल केन्द्र सञ्चालनमा ल्याएको बताए । उनका अनुसार केन्द्रमा १६ शय्या रहेका छन् । एक करोड ८३ लाखको लागतमा भवन निर्माण भएको छ । नगरपालिकाले विशेषज्ञ चिकित्सकको समेत व्यवस्थापन गरेको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कैलालीकि सिकलसेल फोकल पर्सन विमला ज्ञवालीले बिरामीहरू अझै खुलेर आउन नसकेको बताउँदै स्थानीय पाठ्यक्रममा सिकलसेलको विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिएकी छन् । उनका अनुसार २०८१/०८२ सम्म कैलाली जिल्लामा ७ सय ४० जना बिरामी रहेका छन् भने सिकलसेल ट्रेटको संख्या भने तीन हजार ७ सय ९१ रहेको छ । त्यो समयमा कैलाली जिल्लामा २८ हजार ७ सय ६१ जनाको स्क्रीनिङ्ग गरिएको थियो ।
कार्यक्रममा सहभागी सिकलसेल बिरामीले उपचारकै क्रममा लाखौं खर्च भैसकेको बताउँदै अस्पतालमा चिकित्सकबाट पनि राम्रो व्यवहार नपाएको गुनासो गरेका थिए । दुखाइ सहन गर्न नसकेर अस्पताल पुग्दा चिकित्सकले गर्ने व्यवहार फरक हुनेगरेको र सहजरूपमा औषधि नपाउने गरेको गुनासो गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *