राजनीतिक अस्थिरताले सामाजिक सद्भावको दुरी टाढा

शेयेर गर्नुहोस


टीकापुर २७ चैत /
पछिल्लो समय देशको राष्ट्रिय राजनीति सत्ता र स्वार्थमा लिप्त हुँदा त्यसले सामाजिक सद्भावलाई कायम राख्न नसकेको बताइएको छ ।
टीकापुर साहित्य समाजको आयोजनामा भएको राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ भन्ने विषयमा कुरा गर्दै पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा एमालेका वरिष्ठ नेता डा भिम रावलले सत्ता र सरकार हत्याउने अहिलेको राजनीतिले सामाजिक सद्भाव कायम हुन नसक्ने बताएका हुन । कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईले अहिले पनि समाजमा हिंसा र विभेदको स्थिति कायमै रहेको बताउँदै यस्तो अवस्थामा सामाजिक सद्भाव कायम हुन नसक्ने बताएका छन् ।
“समाजमा हिंसा र विभेद अझै छ । हाम्रो चेतनाको स्तर बढ्न सकेको छैन । मतभेद र स्वार्थका लागि लागिरहँदासम्म सामाजिक सद्भावलाई मुर्तरुप दिन सकिँदैन ।” भट्टराईले भने, “सत्ता हत्याउने सोचले समाज निर्माण गर्न सकिँदैन ।” आपसी एकतामा देखिएको दुरीले नागरिकहरूमा वैमनस्यता ल्याएको बताउँदै त्यसका लागि राजनीतिक नेतृत्व सच्चिन आवश्यक रहेको बताए ।
सोही प्रसंगमा उनले टीकापुर घटना राजनीतिक घटनाको रुपमा समाधानको बाटोमा लैजानुपर्ने समेत बताएका छन् । “पटकपटक टीकापुर घटनालाई कोट्याएर बल्झाउनु भन्दा त्यसको उपचार गरेर न्याय गरौं ।” भट्टराईले भने, “राज्यको परिवर्तनका बेला भएका घटनालाई हिजोको जस्तै गरि राजनीतिक तवरबाट समाधान गरिनुपर्छ । टीकापुर घटनाका राजबन्दीलाई रिहाई गरिनुपर्छ ।”
उनले परिवर्तनका लागि राजनीतिक रुपान्तरण निकै आवश्यक रहेको बताउँदै राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन् । राजनीतिक रुपान्तरण पनि सामाजिक सद्भावको एक अंग बन्न सक्ने भट्टराईले बताए । त्यस्तै एमालेका वरिष्ठ नेता डा भिम रावलले देशको पहिचान मेटेर कसैको पहिचान नभेटिने बताउँदै वर्तमान स्थिति आउनमा राजनीतिक दल नै सबैभन्दा बढी गैरजिम्मेवार बनेको बताएका छन् ।
“कुरा हामी पहिचानका गर्छौं । आज देशको पहिचान मेटिने स्थिति छ । यस्तो अवस्थामा सामाजिक सद्भाव कायम हुन सक्दैन ।” डा रावलले भने, “आफ्ना गल्तिलाई ढाकछोप गर्नको लागि हुने षड्यन्त्रले पनि हामीमा द्वन्द पैदा भएको छ । पहिला आफुले गरेको गल्तीलाई स्वीकार गर्न सक्यौं अनि समाजलाइ समुन्नत बनाउने सपना देख्नुपर्छ ।”
उनले राजनीतिक दलका नेताहरूमा राष्ट्रिय स्वाधीनता भन्दा सत्ताको लोलुप्ताले बिगारेको बताउँदै नेतृत्वमा सुधार आएपछि समाजमा आफै सुधार आउने बताएका छन् । “हिजो जुन सहमति भएको थियो त्यो सबै तोडिएको छ । यहाँ वर्ग र स्थिरताको राजनीति हुन सकेन । फाइदाको लागि जसले जसको साथ दिए पनि हुने भयो ।” रावल भन्छन् । “बिचार र सिद्धान्त भन्दा माथी सत्ता र स्वार्थ पुगेपछि समाजमा सामाजिक सद्भावको स्थिति देखिन सक्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *