शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २३ माघ /
भजनि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर बिधालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगाराम चौधरीले तिनै तहको सरकारको समन्वयबाट शैक्षिक सुधारका गतिविधि सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले भजनी क्षेत्रको विगतको परिक्षाको नतिजालाई आत्मसात गर्दै आगामी दिनहरुमा त्यसलाई सुधार गर्नु पहिलो काम हुनुपर्ने बताए ।
“शिक्षा क्षेत्रको विकास भए, अन्य क्षेत्रको विकास आफै भएर जान्छ । त्यसका लागि तिनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक छ ।” उनले भने, “त्यसमा पनि शिक्षक बढी जिम्मेवार भएर आफ्नो कार्यमा लाग्न सक्यो र बिद्यार्थीहरुले पनि शिक्षाको महत्त्व बुझ्न सक्यो भने आगामी दिनमा भजनी क्षेत्रमा पहिलेको जस्तो पक्कै हुने छैन ।” सांसद चौधरीले समयको माग अनुसार शिक्षा नीतिमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद चौधरीले भजनी क्षेत्रले हरेक क्षेत्रमा क्षमतावान जनशक्ति उत्पादन गरेको पनि बताए । “भजनीले खेलकुद मात्रै नभई अन्य सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि सफल नेतृत्व जन्माएको छ ।” उनले भने, “त्यस मध्येको म पनि एक हु ।” भजनी क्षेत्रको समग्र विकासका लागि आफुले निरन्तर प्रयास गरिरहेको बताउँदै सांसद चौधरीले कैयौं प्रयास सफल भएको र केही हुने क्रममा रहेको बताएका छन् ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडा अध्यक्ष विक्रम चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महुन्याल माद्यामिक बिधालयका शिक्षक डम्बर मिश्रले गरेका थिए । प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुने छ ।










