शेयेर गर्नुहोस
टीकापुर २२ माघ /
कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता द्वारिका प्रसाद न्यौपानेले देशको राष्ट्रिय अखण्डतालाई कायम राख्दै समृद्ध नेपालको सपनालाई साकार पार्न उम्मेदवारी दिएको बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशलाई गम्भीर संकटबाट माथी उठाउने विश्वास सहित राष्ट्रिय अखण्डतालाई कायम राख्दै समृद्ध नेपालको सपनालाई साकार पारिने बताएका हुन । “मैले यसभन्दा पहिले प्रदेश तहको निर्वाचनमा उठाएका एजेण्डालाई यथावत राख्दै ती एजेण्डालाई माथिल्लो तहबाट पूरा गर्ने प्रतिबद्धताका साथ जनताको माझमा छु ।” उनले भने, “तिनै प्रतिबद्धता सहित राष्ट्रिय अखण्डतालाई कायम राख्दै समृद्ध नेपालको सपना साकार गर्नेगरी काम गर्ने मैले संकल्प लिएको छु ।”
कैलाली क्षेत्र नं. १ लाई समुन्नत क्षेत्र विकासका लागि आफुले यसअघि नै तयार पारेको विकासको खाकाले स्पष्ट पार्ने बताउँदै त्यसलाई कार्यान्वयन गर्नको लागि माथिल्लो अर्थात संघीय तहमा जाने अठोटका साथ जनताको माझमा आएको बताएका छन् । “यो क्षेत्र निकै सम्भावना भएको क्षेत्र हो । कर्णाली नदी, सत्ती भन्सार, पर्यटनसँग जोडिएका क्षेत्रका साथै थारु बाहुल्य क्षेत्रलाई पर्यटनसँग जोड्दै होमस्टे र कृषि क्षेत्रको विकासलाई अगाडि बढाउन सक्यो भने यो क्षेत्र आफैमा समुन्नत बन्ने छ ।” उनले भने, “यसका लागि म प्रतिबद्ध छु । जनताले विश्वास गर्नुभयो भने म त्यसलाई साकार गर्न अनवरत रुपमा लाग्ने छु ।”
कैलाली क्षेत्र नं. १ राजनीतिक अस्थिरतासँगै असल नेतृत्वको अभावमा सधैं जनतालाई अन्योलमा पार्ने काम भैरहेको उल्लेख गर्दै न्यौपानेले जनताले साथ दिएको खण्डमा असल अभिभावकको भुमिका निर्वाह गर्न आफू तयार रहेको बताएका छन् । न्यौपानेले सक्षम व्यक्तिलाई जनताले विश्वास गर्ने अपेक्षा गरेका छन् ।










