शेयेर गर्नुहोस
टीकापुर १८ माघ /
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाले २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केही प्रसारण लाइनमा जोडिएको हो । जानकी गाउँपालिका वडा नं. ९ कटाक्षेमा बनेको जलविद्युत आयोजना गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत आएको बेला विद्युतको औपचारिक परिक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् । रानीबजमरा कुलरिया सिँचाइ आयोजनाको पूरै उत्पादन भएका तीन वटा ट्रवाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुनेछ ।
२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि सोही वर्षको कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माणमा ढिलाई भएको थियो । दुई अर्बको लागतमा विद्युत् आयोजना बनेको आयोजना निर्माण कम्पनीका साइड इन्चार्ज प्राविधिक उदय पोख्रेलले जानकारी दिएका छन् । एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ । रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६/६७ सालमा सुरु भएको थियो। यसबाट शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी छ ।
विद्युत उत्पादन भएपछि सुदुरपश्चिममा हुँदै आएको अघोषित लोडसेडिङ अन्त्य हुने विश्वास स्थानीयले लिएका छन् । उनीहरूले विद्युत उत्पादनले टीकापुर लगायत कैलाली क्षेत्रको विकासका लागि पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।