रेशम चौधरीले पाएनन् सफाइ

शेयेर गर्नुहोस


टीकापुर ०२ जेठ /
सर्वोच्च अदालतको फैसलाअनुसार कैलालीको टिकापुरमा २०७२ सालमा भएको टीकापुर घटनाका प्रतिवादी रेशमलाल चौधरीले सफाइ नपाउने भएका छन् ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेपछि उनी सफाइ नपाउने भएका हुन । अदालतले टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो । प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो ।प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको जिकिर गरिएको थियो । यस्तै अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो । टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
अहिले चौधरीकै संरक्षणमा नागरिक उन्मुक्ति पार्टी गठन भएको छ । स्थानीय तहको निर्वाचन भन्दा केही समय पहिले मात्रै गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार पालिकामा जित हाशिल गरेको थियो । त्यस्तै संघमा चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीका सुदुरपश्चिम प्रदेशमा सात जना र लुम्बिनी प्रदेशमा एक जना सांसद छन् । टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान गरिनुपर्ने, जेलबन्दीलाई रिहाई गरिनुपर्ने र थारुहरुको पहिचान स्थापित हुनुपर्ने लगायतका एजेण्डा सहित नागरिक उन्मुक्ति पार्टीको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *