शेयेर गर्नुहोस
टीकापुर २१ मंसिर /
टीकापुर नगरपालिका वडा नं. ६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ मा ९० लाख नाफा कमाएको छ ।
सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा गत वर्ष सहकारीले ९० लाख ५३ हजार चार सय ७६ रुपैयाँ ५९ पैसा खुद नाफा कमाउन सफल भएको हो । एक हजार तीन सय ९३ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ३० लाख ५० हजार दुई सय ५० पुगेको छ भने ११ करोड तीन लाख ९ हजार एक सय ३० रुपैयाँ ५४ पैसा निक्षेप सापटी रहेको छ । सहकारीले १३ करोड ८३ लाख ६० हजार ८ सय ३० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतक अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले लक्ष्मीनारायण सहकारीले सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरेर राम्रो काम गरेको बताएका छन् । उनले सहकारीको मेरुदण्ड सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधैं सबल र अग्रपंक्तिमा राख्नु पर्नेमा जोड दिए । सहकारीको धुरो भवनको निर्माण कार्य नगरपालिकाले सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि दीर्घ बहादुर ठकुल्लाले सहकारीहरु शेयर सदस्यहरुका सम्पत्ति रहेको बताउँदै ग्रामीण क्षेत्रका लागि सहकारी बैंकको रुपमा स्थापित भएको बताएका छन् । उनले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण जीविकोपार्जन गर्न सहज भएको बताएका छन् ।
वार्षिक साधारण सभाको अवसरमा सहकारीले गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल कर्णाली माद्यामिक विद्यालय सत्तीका विद्यार्थी अंकित टमट्टा, लोक तथा देउडा गित प्रतिष्ठानका सदस्य पदमबहादुर धामी, १६ वर्ष मुनिको सि डिभिजन फुटबल खेल खेलिसकेका उदयमान खेलाडी चरण ठकुल्लालाई फुटबल र नगद सहित सम्मान गरेको छ । सहकारीले वडा नं. ६ स्थित राष्ट्रिय माद्यामिक बिधालयलाई गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सम्मान गरेको छ ।
त्यस्तै सहकारीले १६ जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट सहित सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलगायतलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा शेयर सदस्य जनक चाैधरी, उमा भट्टराई, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद चाैधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणपुरकी सभापति धनसरी कुमारी कोइराला, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितराम चाैधरी, टीकापुर नगरपालिका वडा नं. ४ वडा अध्यक्ष लालबीर चाैधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव ओपेन्द्र बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष युवक कुमार नायकले गरेका थिए ।










