शेयेर गर्नुहोस
टीकापुर १० असार /
समुदायमा लागुऔषध दुर्व्यसनी, साइबर अपराध, ट्राफिक नियमको उलंघन तथा योन अश्लीलता सम्बन्धि जनचेतनामूलक सडक नाटक सुरु गरिएको छ ।
सिर्जनशील युवा समाज नेपालको गुडिमुन्टे समुहको आयोजना तथा टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा जनचेतनामूलक सडक नाटक सुरु गरिएको हो । पछिल्लो समय लागुऔषधका कारण समाजमा अन्य आपराधिक घटनाहरु बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरणका लागि समुदायका नागरिकहरूलाई सचेत गराउने उद्देश्यले जनचेतनामूलक सडक नाटक सञ्चालन गरिएको हो । नगरपालिकाका विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
सिर्जनशील युवा समाज नेपालका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले सडक नाटकमार्फत समुदायमा पुगेरै कार्यक्रम सञ्चालन गर्दा त्यसले प्रभावकारीता हासिल गर्ने भन्दै लागुऔषधको जोखिममा रहेका समुदाय लक्षित गरेर सडक नाटक आयोजना गरिएको बताएका छन् । “हाम्रो जल्दाबल्दा समस्या मध्येको मुख्य समस्या लागुऔषध दुर्व्यसनी नै हो । त्यसको समाधान सहजरुपमा हुन निकै कठिन भैसकेको छ ।” विश्वकर्माले भने, “एउटा बन्द कोठामा समाजलाई बुझेको बौद्धिक ब्याक्तीसँग अन्तरक्रिया गरेर नियन्त्रण हुने सम्भावना छैन । समुदायस्तरमा अभिभावक र त्यस क्षेत्रका युवाहरूलाई सचेत बनाउन सके त्यसबाट प्रभावकारिता हासिल गर्न सकिने छ ।”
उनले बन्द कोठाको कार्यक्रमको औचित्य नरहेको बताउँदै जहाँ समस्या छ, त्यहीँ पुगेर समाधान खोज्नुपर्ने बताएका छन् । “समस्या एकातिर हुन्छ । हामी समाधान अर्कोतिर खोज्छौँ । काम ठिक विपरीत हुँदा त्यसबाट उत्कृष्ट नतिजा खोज्नु कतिसम्म जायज होला ?” कार्यक्रम संयोजक विश्वकर्मा भन्छन्, “लागुऔषध दुर्वसनीलाई समाजबाट निर्मुल पार्नका लागि समुदायमा वा जोखिममा परेका समुदाय र अभिभावकलाई जिम्मेवार बनाउनु पहिलो कर्तव्य हुन्छ ।”
जनचेतनामूलक सडक नाटकमा वडा नं. २ विजयनगरकी सीतारानी चौधरीले समाज लागुऔषधका कारण अस्तव्यस्त भैसकेको बताएकी छन् । उनले नाटकमा प्रस्तुत भएको घटनाभन्दा समाजको घटनामा कुनै फरक नभएको भन्दै अभिभावककै कारण बालबालिका/युवाहरू आपराधिक घटनामा सरिक हुँदै गएको बताइन् । “हामी गम्भीर छौं, जिम्मेवार छौँ, कुरा पनि दार्शनिक गर्छौं । त्यो अवसर पायो भने ।” सीतारानी भन्छिन्, “बाहिर आदर्शका कुरा गर्ने हाम्रो घर सबैभन्दा बढी भद्रगोल छ । घरलाई सुधार्न नसकेका हामी समाज परिवर्तनको सपना देख्छौँ, अनि समाज बन्छ त ?”
त्यस्तै वडा नं.१ गणतन्त्र चोकका रुपलाल चौधरीले समुदायमा जनचेतनाको निकै कमि भएको बताएका छन् । उनले सुरुमा आफ्नो बालबालिकालाई बेवास्ता गर्ने र भोलि त्यसले नकारात्मक रुप धारण गरिसकेपछि सुधार गर्न नसक्दा त्यसले समुदाय जोखिममा पर्दै गएको बताएका छन् । “घटना घट्नुभन्दा पहिले हामी सचेत बन्न सक्दैनौं । जब घटना हुन्छ, त्यसपछि हाम्रो पछुताउने बानी छ ।” रुपलालले भने, “त्यसका लागि पनि समुदायका नागरिकहरूलाई चेतना फैलाउन आवश्यक छ । विशेषगरी ग्रामीण क्षेत्रमा सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके त्यसबाट धेरै कुराको सिकाइ हुने र त्यसको कार्यान्वयन पनि हुने स्थिति रहनसक्छ ।”
स्थानीयले स्थानीय सरकारका कार्यक्रम बजारमुखी नभई ग्रामीणमुखी हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई समुदाय केन्द्रित बनाउँदै लैजान आग्रह समेत गरे । शनिबारदेखि सुरु भएको कार्यक्रम ११ गते सम्पन्न हुनेछ । नगरपालिकाका ग्रामिण क्षेत्रमा उक्त कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिइने आयोजकले बताएको छ ।