शेयेर गर्नुहोस
टीकापुर ०७ असार /
जानकी गाउँपालिका वडा नं. ६ मा स्थानीय अभिभावकलाई लागुऔषध दुर्व्यसनी तथा साइबर अपराधका घटनाबाट आफ्ना बालबालिकालाई टाढा राख्न प्रेरित गर्दै जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ ।
जानकी गाउँपालिका वडा नं. ६ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको प्रस्तुतिमा उक्त जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको हो । समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसनीको जोखिम कम गर्दै युवाहरूलाई गलत क्रियाकलापमा लाग्नबाट रोक्न अभिभावकको भुमिका महत्त्वपूर्ण हुने सन्देश सहितको नाट्क प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष इन्द्र चौधरीले बालबालिकालाई कस्तो बनाउने भन्ने जिम्मा अभिभावकको काँध हुने बताउँदै सानैदेखि उनीहरूका आधारभूत आवश्यकता पूरा गर्दै सुक्ष्म निगरानीमा राख्नुपर्ने बताएका छन् । “हामी आफ्नो बालबालिका सानो हुँदा सानै छ भनेर केही भन्दैनौं । पछी ठूलो हुँदा उ गलत बाटोमा फसिसकेको हुन्छ ।” अध्यक्ष चौधरीले भने, “अन्ततः जतिसुकै प्रयास गर्दा पनि आफ्नो बालबालिकालाई सुधार गर्न सक्दैनौं र त्यसको जोखिम स्वयम परिवारमा नै परिरहेको हुन्छ ।”
सभा, समारोह जस्ता कार्यक्रम सञ्चालन गरेर सिमित व्यक्तिलाई सहभागी गराएर हुने कार्यक्रमले भन्दा सार्वजनिक रुपमा सबैको सहभागिता रहने जनचेतनामूलक कार्यक्रमले समाजमा छिटो सन्देश प्रवाह हुने वडा सदस्य खगेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । उनले सडक नाटकले जीवनको वास्तविक घटनालाई चित्रण गर्ने भन्दै लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि तयार पारिएको नाटकले अभिभावकले हृदयबाट सन्देश बुझेको बताएका छन् ।
वडा भित्रका जगतपुर चौराह र धर्मापुर कटान चौराहमा प्रस्तुत गरिएको नाटकमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । “नाटकले एउटा बुवा अनि आमाको भावना माथी छोराले गरेको प्रहारले निकै मार्मिक बनाएको छ । सम्पत्ति भन्दा ठूलो सम्पत्ति आफ्नो बालबालिका हो भन्ने कुरा महसुस गराएको छ ।” स्थानीय भावना विश्वकर्माले भनिन्, “सुरुवातको बेवास्ताले भविस्यमा जति पछुतो गरे पनि केही हुन्न भन्ने निकै मार्मिक सन्देश दिएको छ । नाटक निकै राम्रो छ ।”










