लागुऔषध न्यूनीकरणका लागि बक्तित्वकला प्रतियोगिता

शेयेर गर्नुहोस


टीकापुर १५ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ को वडा स्तरीय लागुऔषध नियन्त्रण संजालको आयोजनामा मावी स्तरीय बक्तित्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ को स्वीकृत वार्षिक कार्ययोजना अनुसार वडा नं. १ भित्रका मावि तहका बिद्यार्थीहरुको सहभागितामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालेन्द्र नाथको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका अमित परियार प्रथम भएका छन् । उनले प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी कर्णाली माद्यामिक बिधालय टीकापुरकी माण्डबी विष्टले दोस्रो स्थान हासिल गरेकी छन् । विष्टले प्रमाणपत्र सहित १० हजार नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालयका हिमाल घर्तीले तेस्रो स्थान स्थान हासिल गरेका छन् । उनले पाँच हजार नगद सहित प्रमाणपत्र पाप्त गरेका छन् ।
“लागुऔषध दुर्व्यसनीको परिचय, प्रभाव, असर र त्यसको समाधानको उपाय” शिर्षकमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा नगरपालिका शिक्षा शाखामा कार्यरत बिना कुमारी पौडेल, वीरेन्द्र बिद्यामन्दिरका उपप्राध्यापक द्वारिका प्रसाद भण्डारी, लागुऔषध नियन्त्रण संजालका सदस्य कल्पेश कुँवर निर्णायक भुमिकामा रहेका थिए ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले लागुऔषध दुर्व्यसनीका घटनामा युवाहरू दिनप्रतिदिन फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्नुपर्ने बताएका छन् । उनले वडा कार्यालयले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि हरेक वर्ष प्रयास गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यो क्रमलाई निरन्तर गर्ने बताए । “दुर्व्यसनी नियन्त्रण गर्नका लागि सबैको हातेमालो आवश्यक छ । खासगरी नागरिकहरूमा जनचेतना फैलाउने देखि जोखिममा परेकालाई परामर्श दिन जरुरी देखिन्छ् ।” उनले भने, “त्यसका लागि प्रहरी प्रशासनको समन्वयमा नगरपालिका र वडा स्तरीय संजालले पनि काम गर्दै आएको छ ।”
कार्यक्रममा कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संजाल सदस्य सचिब उमेश नाथले गरेका थिए । प्रतियोगितामा ७ वटा बिधालयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *