वडाको वडघर, चिराकी सम्मान कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर १२ पुस /
टीकापुर नगरपालिका वडा नं. २ ले वडघर प्रणालीमा युवा तथा महिलाहरुका सहभागिता तथा वडघर चिराकी तथा गुरुवा सम्मान कार्यक्रम सुरु गरेको छ ।
वडघर प्रणालीमा युवा तथा महिलाहरूको सहभागितामा जोड दिँदै वडघर तथा चिराकी गुरुवा सम्मान कार्यक्रम सुरु भएको हो । टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चाैधरीले प्रत्येक वर्षको माघी पर्व मनाई सकेपछि एक वर्षका लागि वडघर चुन्ने परम्परा रहेको बताउँदै नेपालको संविधानमा पनि वडघर प्रणालीलाई जोड्ने काम भएको बताएका छन् । उनले स्थानीय तहमा वडघर ऐन पारित गरि सकेको बताएका छन् । वडा अध्यक्ष चाैधरीले कुनै पनि ठाउँमा विपद वा अन्य कुनै सामाजिक कार्यका लागि पनि सबैभन्दा पहिले वडघरहरुलाई सम्झिने गरेको बताए । कार्यक्रमले युवा तथा महिलाहरूलाई पनि वडघर, भलमन्सा, चिराकीको नेतृत्वमा जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुले थारु समुदायमा पहिलेदेखि नै चल्दै आएको वडघर प्रथालाई कानुनी मान्यता दिने प्रयासहरु हुँदै गएको बताएका छन् । उनले वडघर प्रथालाई एक संस्कारको रुपमा व्याख्या गरेका छन् । “हामीले हाम्रा संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्छ । त्यो संस्कार र संस्कृति पुस्ता स्थानान्तरण हुनुपर्छ । यस्तै कार्यक्रमले पुस्ता स्थानान्तरणमा महत्त्वपूर्ण भुमीका खेल्ने छ ।” उनले भने, “स्थानीय सरकारले गर्नुपर्ने काम गर्दै आएको छ । आफ्नो क्षेत्रबाट सबैले लाग्नुपर्छ । युवा र महिलाले पनि नेतृत्वमा आउने प्रयत्न गर्नुपर्छ ।”
सम्मान कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ भित्रका वडघर, चिराकी, गुरुवा, टोल विकास संस्था, विभिन्न क्लब, वन समिति, महिला स्वास्थ्य स्वयंसेवीका गरी झण्डै ६४ जनालाई सम्मान गरिने भएको छ । वडाका वडा सचिव चक्र बहादुर रावलले सञ्चालन गरेको कार्यक्रमको स्वागत विजयनगरका वडघर जित बहादुर चाैधरीले गरेका थिए ।
१३ गते सम्म चल्ले कार्यक्रमका सहजकर्ता सुदुरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक मीन बहादुर शाही, टोल विकास संस्थाकी सामाजिक परिचालक झर्ना जोशीलगायतले सहजिकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *