शेयेर गर्नुहोस
टीकापुर ०५ असोज/
टीकापुर नगरपालिका वडा नं. १ ले महाप्रस्थान यान खरिद गरेर सञ्चालन तयारी गरेको छ ।
वडा नं. १ का वडा अध्यक्ष मोहन विकले निर्वाचनकै समयमा वडा नं. १ मा कुनै नागरिकहरूको मृत्यु हुँदा घरदेखी घाटसम्म लास लैजानको लागि सहज होस भन्ने उद्देश्य राखेर एजेण्डा बनाएर महाप्रस्थान यान खरिद गर्ने बताएका थिए । त्यहीँ एजेण्डाअनुसार वडा कार्यालयले महाप्रस्थान यान खरिद गरेको हो । “मैले आवश्यकताको महसुस गरेर निर्वाचनका बेला पनि महाप्रस्थान यानको विषयलाई उठाएको थिए । जुन कुरालाई नेतृत्वमा आइसकेपछि पूरा गर्ने प्रयास गरेको हु ।” वडा अध्यक्ष विकले भने, “कम्तिमा पनि लासलाई दाहसंस्कारको लागि घाटसम्म लिँदा सहज हुने विश्वासका साथ यो योजना सोचेको हु ।”
परिवर्तित समयसँगै धेरै कुराहरू परिवर्तन हुँदै गएको बताउँदै वडा अध्यक्ष विकले महाप्रस्थान यान समयको माग भएको बताएका छन् । “हिजो लासलाई बोकेरै घाटसम्म लगिन्थ्यो । दाहसंस्कार गर्ने क्षेत्र टाढा भएका कारण अहिले ट्याक्टरमा लिने गरिएको छ । सहजरूपमा ट्याक्टर पनि पाइँदैन ।” उनले भने, “महाप्रस्थान यान भएपछि ट्याक्टरको खोजी गर्नुपर्ने, अन्य विकल्प खोज्नुपर्ने स्थिति रहनेछैन ।” महाप्रस्थान यान कार्यविधि बनाएर सञ्चालनको तयारी वडा कार्यालयले गरेको छ । असोज ७ गतेपछि बस्ने कार्यपालिकाबाट कार्यविधि पास गर्ने तयारी रहेको वडा अध्यक्ष विक बताउँछन् ।
वडा कार्यालयले केही शुल्क लिएर महाप्रस्थान यान उपलब्ध गराउने गरी कार्यविधि कार्यपालिकाबाट पास गराउने तयारी गरेको छ । जसमा वडा नं. १ का नागरिकहरूलाई विशेष प्राथमिकतामा राखिने छ भने अन्य वडाले पनि यानको सेवा पाउनेछन् । करिब २० लाखको लागतमा यान खरिद गरिएको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताएका छन् । उनले २८ लाख ७५ हजार बजेटको टेन्डर आव्हान गर्दा २० लाखमा यान खरिद भएको उनल्र बताएका हुन । टीकापुरमा वडा कार्यालयले खरिद गरेको महाप्रस्थान यान सहित अब दुईवटा भएका छन् । टीकापुर सरोकार समुहले यसअघि नै टीकापुर अस्पताललाई महाप्रस्थान यान खरिद गरेर हस्तान्तरण गरेको थियो ।