वडाले गर्यो आफ्नो कार्य प्रगति सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर २२ असार /
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०८१/०८२ को सेवा प्रवाह कार्यक्रम र आयोजनाको सार्वजनिक सुनुवाइ मार्फत वडाले कार्य प्रगति सार्वजनिक गरेको छ ।
वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाबाट प्रवाह भएको सेवा, चालू आर्थिक वर्षको योजना कार्यान्वयन लगायतका विषय सार्वजनिक गरिएको थियो । जसमध्ये वडा कार्यालयबाट चालू आर्थिक वर्षको असार १९ गतेसम्म १७ हजार तीन सय २४ जनाले सेवा लिएका छन् । जसमध्ये सबैभन्दा बढी अङ्ग्रेजी सिफारिस तथा प्रमाणित चार हजार एक सय तीन जनाले सेवा लिएका छन् भने दोस्रोमा चार किल्ला प्रमाणित गर्ने दुई हजार दुई सय १३ जनाले सेवा लिएका छन् ।
त्यसैगरी नागरिकता प्रतिलिपीका लागि एक हजार ८ सय ४८ जनाले वडाबाट सेवा लिँदा नयाँ नागरिकता सिफारिस लिनेको संख्या एक हजार तीन सय १० जना रहेको वडा सचिव तारा बिक्रम रानाले बताएका छन् । उनका अनुसार स्थानीय आवश्यकता अनुसार सिफारिस वा प्रमाणित गर्ने सेवाग्राहीको संख्या तीन हजार चार सय ४० रहेको छ ।
चालू आर्थिक वर्षको नगरपालिकाको आन्तरिक स्रोतको झण्डै आधा राजश्व वडा नं.१ ले संकलन गरेको पाइएको छ । वडा कार्यालयले असार २० गतेसम्म तीन करोड १६ लाख ५२ हजार ६ सय २२ रुपैयाँ १६ पैसा रहेको छ । जसमध्ये तीन करोड ११ लाख ७३ हजार पाँच सय १४ रुपैयाँ ६६ पैसा बैंकमा दाखिला भैसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा साढे सात करोड राजश्व संकलनको लक्ष्य लिएको छ ।
वडा कार्यालयले चालू आर्थिक वर्षमा वडाबाट कार्यान्वयन भएका वित्तीय तथा योजनाको प्रगति समेत सार्वजनिक गरेको छ । वडा कार्यालयले आर्थिक विकास शाखाका केहि कार्यक्रम बाहेक सबै कार्यक्रमसम्पन्न भएको जनाएको छ । सामाजिक विकासतर्फका ३० वटा कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी विपद व्यवस्थापन सम्बन्धि तालिम पनि सम्पन्न भएको वडा सचिव रानाले बताए । संस्थागत सुधार तथा व्यवस्थापन अन्तर्गतका कार्यक्रमहरु पनि निर्धारित समयमा सम्पन्न भएको बताइएको छ ।
त्यसैगरी पुर्वाधार विकास तर्फ वडाले ८२ दशमलव ८१ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । वडाले छुट्याएका ६४ योजना मध्ये ५३ योजनाको काम सम्पन्न भएको सब इन्जिनियर गम्भीर सिंह साउँदले बताए । उनका अनुसार पुर्वाधारमा वडाले एक करोड ४३ लाख ८६ हजार ७ सय ७२ रुपैयाँ ७५ पैसा विनियोजन गरेकोमा असार १९ गतेसम्म एक करोड १८ लाख ८१ हजार ७ सय ४२ रुपैयाँ दुई पैसा खर्च भएको छ । जुन ८२ दशमलव ५८ प्रतिशत हुन आउँछ ।
सब इन्जिनियर साउँदले २१ वटा आयोजना उपभोक्ता समिति मार्फत सम्पन्न भएको बताएका छन् । त्यसैगरी १० वटा आयोजना टोल विकास संस्थामार्फत कार्यान्वयन गरिएको छ भने, २५ वटा आयोजना सरकारी निकाय/संघसंस्था मार्फत कार्यान्वयन भएका छन् । सिलबन्दी दरभाउबाट एउटा आयोजना कार्यान्वयन हुँदा अमानतबाट एउटा आयोजना कार्यान्वयन भएको बताइएको छ ।
कार्यक्रममा वडा अध्यक्ष विकले जनताको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि वडाको सिंगो टिम लागेको बताउँदै आफ्नै भवन नभएका कारण सेवा प्रवाहमा समस्या भैरहेको बताए । आफुहरु जनताको सुझाव सल्लाह अनुसार नै अगाडि बढिरहेको भन्दै उनले वडाको बजेटलाई आवश्यकताको आधारमा समानरूपले वितरण गर्दै आएको पनि बताए । “वडा नं. १ लाई चार भागमा विभाजन गरेर बजेटको कार्यान्वयन गर्दै आएका छौँ । यसबाट निश्चित क्षेत्रलाई प्राथमिकतामा नराखी हामीले काम गरिरहेका छौँ ।” उनले भने, “जनताको सुझावलाई आगामी दिनमा आत्मसात गर्दै थप सेवा र कामलाई प्रभावकारी बनाउँदै लैजानेमा प्रतिबद्ध छौँ ।”
सामुदायिक रेडियो टीकापुर एफएमको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न व्यक्तिहरुले वडासँग सम्बन्धित सुझाव सल्लाह र प्रश्न गरेका थिए । वडाले बर्सेनि एउटा भए पनि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको छ । अन्य वडाले प्रायः सार्वजनिक सुनुवाइ गर्न सक्ने ल्याकत राखेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *