शेयेर गर्नुहोस
टीकापुर २२ जेठ /
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नयाँ शा विस्तार गर्दै टीकापुरबाट कारोबार सुरु गरेको छ ।
देशभर ३०१ औं शाखाको रुपमा विस्तार भएको टीकापुर शाखाले बिहिवारबाट आर्थिक कारोबार सुरु गरेको हो । यसभन्दा पहिले टीकापुर नगरपालिकाको वडा नं. ७ स्थिति सत्तीबाट सेवा दिँदै आएको बैंकले ग्राहकहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरिएको शाखा प्रबन्धक प्रकाश बहादुर बिष्टले जानकारी दिएका छन् ।
सशस्त्र द्वन्दको समयमा सत्ती शाखा मार्फत सेवा दिँदै आएको बैंक सोही समयमा विस्थापित भएको थियो । त्यसपछि २०७६ माघ २२ गते २३९ औं शाखाको रुपमा कारोबार सुरु गरेको पाँच वर्षपछि टीकापुर बजारमा बैंकले अर्को शाखा विस्तार गरेको बताइएको छ । २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको बैंक हो ।
बैंकको कारोबार सञ्चालन कार्यक्रममा बैंकका सुदुरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु, वडा नं. १ का वडा अध्यक्ष मोहन विक, टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद उपाध्याय बजगाई लगायतको सहभागिता रहेको थियो ।










