शेयेर गर्नुहोस
समाधान समाचार, २३ बैशाख/
यतिबेला स्थानीय तहमा चुनावी सरगर्मी निकै बढेको छ ।
उम्मेदवारहरु जनताको घरदैलोमा ब्यस्त छन् । चुनाव जित्नको लागि जनताको माझमा जाँदा लोकप्रिय एजेन्डाहरु बनाउने उम्मेदवारहरु निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् व कति गर्दैनन् त्यो पछिको पाटो छ । तर, टीकापुर नगरपालिकामा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन वा स्वतन्त्र सबैका चुनावी एजेन्डाहरुमा खासै भिन्नता देखिएको छैन । हिमालय टेलिभिजनले बिहीबार टीकापुरका मुख्य राजनीतिक दलबाट नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवार ललित थापा शिवसँग स्थानीय तहको निर्वाचनको विषयमा गरेको अन्तरसंवाद कार्यक्रममा आफ्ना चुनावी एजेन्डाको विषयमा कुरा गर्दा सबै उम्मेदवारका एजेन्डाहरुले विकास, समृद्धि र सुशासनलाई छोएको छ ।
तीन दलिय गठबन्धनबाट टीकापुर नगरपालिकाका मेयरका उम्मेदवार नवराज रावलले पाँच वर्षमा १० वटा गौरवका आयोजनालाई चुनावी एजेन्डाको रुपमा अगाडि सारेका छन् । उनले विकास, समृद्धि, सुशासन, शिक्षा, स्वस्थ्य, रोजगारलाई नै बढी जोड दिएको पाइन्छ । उनले प्रत्येक वर्ष टीकापुरमा लगानी सम्मेलन गरेर औद्योगिक क्षेत्रको विकासलाई अगाडि बढाउने र समग्र टीकापुरलाई समृद्धिको दिशामा अगाडि बढाउन नगरपालिकाको नेतृत्वमा आफू आउनुपर्ने बताएका छन् ।
त्यस्तै नेकपा एमालेबाट नगरपालिकाको मेयरका उम्मेदवार श्याम खत्रीले टीकापुरको विकासको लागि एघार खब्बे विकास योजनालाई अगाडि सारेको बताएका छन् । उनले कोभिडका कारण वर्तमान स्थानीय सरकारले चाहेको काम गर्न नसकेको बताउँदै पुराना अधुरा कामहरुलाई पूरा गर्नको लागि र नयाँ केही कामहरु गर्नको लागि एमालेले जित्नुपर्ने बताएका छन् । उनले स्थानीय सरकारको पहलमा थुप्रै काम भएको बताउँदै टीकापुरको विकास, समृद्धि र सुशासन नै पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
टीकापुर नगरपालिकाका स्वतन्त्र मेयरका उम्मेदवार ललित थापा शिवले जनताको लागि बिना स्वार्थ काम गर्नको लागि उम्मेदवारी दिएको बताएका छन् । उनले पनि ३१ बुदे घोषणापत्र सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको घोषणापत्रमा पनि विकास, समृद्धि र सुशासनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि, रोजगार, प्राबिधिक शिक्षालाई समेत थापाले जोड दिएका छन् । “म कर्म गरेर खाने किसान हो । टीकापुर वासीले स्थानीय सरकारको अनुभुती हुनेगरी काम गर्नको लागि काम गर्ने छु । त्यसका लागि म कट्टीबद्द छु ।” थापाले भने, “टीकापुरमा कृषि क्षेत्रको विकास हुन सकेन भने समृद्धिको सम्भावनालाई पनि साकार पार्न सकिने अवस्था छैन । पहिलो आधार हाम्रोलागि कृषि हो ।”
नागरिक उन्मुक्ति पार्टीबाट नगरपालिकाको मेयरका उम्मेदवार रामलाल डगौंरा थारुले पनि आफुहरुको मुख्य एजेन्डा शान्ति, विकास, समृद्धि र सुशासन नै रहेको बताएका छन् । उनले अहिलेको असमानतालाई समान्तामा ल्याएर सामाजिक सद्भाव कायम गर्न सकेपछि मात्रै विकास, समृद्धि र सुशासनलाई प्रभावकारी बनाउन सकिने बताएका छन् । उनले केही सिमित ब्याक्तीहरुको बिचमा नेतृत्व घुम्ने भएका कारण पनि टीकापुरको विकासमा समानता नभएको बताउँदै विकासलाई आवश्यकताको आधारमा निर्धारण गरिने बताएका छन् । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि आफू कार्यपालिकाको सदस्य तथा वडाको अध्यक्षको रुपमा काम गर्ने अवसर पाएको बताउँदै नगरपालिकामा हुने हरेक निर्णयमा नेतृत्व नै हावी हुने गरेका कारणले पनि विकासमा असमानता देखिएको बताएका छन् । थारुले २०७२ सालको टीकापुर घटनापछि बिग्रेको सामाजिक सदभावलाई कायम गरी आन्तरिक रुपम देखिएको विभेदलाई अन्त्य गर्नु पनि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार लोकबहादुर बुढाक्षेत्रीले पनि चुनावी एजेन्डालाई अघि सारेका छन् । उनले भ्रस्टाचार मुक्त प्रशासन, जेष्ठ नागरिकहरुलाई निशुल्क स्वस्थ्य सेवा, समानतामुलक रोजगार, निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, कृषि क्रान्ति तथा आधुनिकीकरण, भौतिक पुर्वाधार विकास, पर्यटन औद्योगिक विकास, कृषि उत्पादनलाई बजारीकरण, नशामुक्त समाज निर्माणका लागि प्रतिबद्ध, किशोर किशोरीलाई समयसमयमा प्रशिक्षण र सुरक्षाको प्रतिबद्धता, लैङ्िगक असमानताको अन्त्य लगायतका एजेन्डा अघि सारेको बताएका छन् ।