विकासका मुद्दामा उम्मेदवार एक ठाउँमा

शेयेर गर्नुहोस


टीकापुर ११ फागुन /
यतिबेला देशभर चुनावी सरगर्मी निकै बढेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा जनमत आफ्नो पक्षमा पार्न राजनीतिक दल तथा उम्मेदवार लागि परेका छन् । जनताको मत कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर उम्मेदवारहरुले त्यसैअनुरूपका चुनावी घोषणापत्र सार्वजनिक समेत गरेका छन् । जनताको माझमा पुगेका उम्मेदवार अहिले कुनै पनि कुरा हुँदैन भन्दैनन । आजका दिनमा उम्मेदवार आफ्ना एजेण्डा मात्रै नभई अन्य साझा एजेण्डामा समेत एक ठाउँमा उभिन थालेका छन् । उसै पनि हरेक उम्मेदवारका एजेण्डा आआफ्नै भए पनि निष्कर्ष सबैको एउटै देखिने गरेको छ ।
शनिबार मात्रै टीकापुर जेसीजले तयार पारेको चुनावी एक्यवद्धतामा कैलाली क्षेत्र नं.१ बाट उम्मेदवार बनेका सातजना उम्मेदवारले सामुहिक एक्यवद्धता सहित हस्ताक्षर समेत गरे । नेपाली काँग्रेसबाट जनकराज चौधरी, नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डगौरा थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनकराज शाह, नेपाल कम्युनिस्ट पार्टी माओवादीका रामबहादुर विश्वकर्मा र स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहीले कैलाली क्षेत्र नं. १ सँग जोडिएका विकास र सुशासनका मुद्दामा सामुहिक एक्यवद्धता जनाएका हुन ।
टीकापुर जेसीजले सुशासन तथा पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र शून्य सहनशीलता नीति अवलम्वन गर्ने कुरालाई प्राथमिकता दिएको छ । सार्वजनिक खर्च तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, जवाफदेही, उत्तरदायी र सेवा-मुखी शासन प्रणाली विकास गर्ने कुरामा उम्मेदवारसँग प्रतिबद्धता मागेको छ ।
आर्थिक विकास तथा रोजगारी तर्फ स्थानीय उत्पादन प्रवर्द्धन र उद्यमशीलता विकास गर्ने, युवा रोजगारी सिर्जना र सीप विकास कार्यक्रम सञ्चालन गर्ने, कृषि, पर्यटन, उद्योग तथा नवप्रवर्तनमा लगानी अभिवृद्धि गर्ने भनिएको छ । उता शिक्षा तथा मानव पूँजी विकासतर्फ गुणस्तरीय, सीपमूलक तथा प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्ने, अनुसन्धान, नवप्रवर्तन र डिजिटल साक्षरतामा जोड दिने, युवालाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन पहल गर्ने विषयमा सातजना उम्मेदवारले सामुहिक प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ सबै नागरिकको लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न वर्गको सामाजिक सुरक्षा सुदृढ गर्ने भनिएको छ । पूर्वाधार तथा दिगो विकासतर्फ सडक, खानेपानी, ऊर्जा, सूचना प्रविधि जस्ता आधारभूत पूर्वाधार विस्तार गर्ने कुरामा उम्मेदवार एकमत देखिएका छन् ।
उनीहरू वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकता दिने, महिला, दलित, आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायको सार्थक सहभागिता सुनिश्चित गर्ने, समान अवसरमा आधारित समावेशी विकास प्रवर्द्धन गर्ने, नागरिकसँग निरन्तर संवाद र सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने, सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताप्रति जवाफदेही रहने कुरामा उम्मेदवार एक ठाँउमा उभिएको जेसीजका अध्यक्ष कमलराज सुवेदीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *