शेयेर गर्नुहोस
टीकापुर २६ पुस/
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले टीकापुर विमानस्थलको स्तरोन्नति गरिने बताउनुभएको छ ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको टीकापुर महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पाण्डेले विमानस्थलको स्तरोन्नति गरेर ठूलो जहाज सञ्चालनमा ल्याइने बताउनुभएको हो ।
“विमानस्थल सञ्चालनमा आएको छ । अब स्तरोन्नतिका लागि आउने वर्षको बजेटमा सुनिश्चित गरेर विमानस्थलको काम अगाडि बढाइने छ ।” मन्त्री पाण्डे भन्नुहुन्छ, “टीकापुर विमानस्थललाई विशेष महत्त्वका साथ हेरेका छौँ ।”
टीकापुरको भविष्यसँग विमानस्थलसँगै हुलाकी राजमार्ग र सेती लोकमार्ग पनि जोडिएको मन्त्री पाण्डेले बताएका छन् । “विमानस्थलसँगै अन्य सम्भावना भएका क्षेत्रहरुलाई पनि सँगसँगै अगाडि बढाउनुको विकल्प छैन ।” मन्त्री पाण्डे भन्छन्, “स्वर्गीय खड्गबहादुर सिंहले गरेको परिकल्पना अनुसार टीकापुरलाई अगाडि बढाइनुपर्छ । त्यसरी अगाडि बढेको देखिँदैन ।” उनले विमानस्थललाई विकासको एउटा इट्टा मात्रै भएको बताएका छन् । हिजोको परिकल्पनालाई अहिलेको नेतृत्वले जसरी परिकल्पना गरेको छ त्यसैगरी अगाडि बढ्न सुझाव पनि मन्त्री पाण्डेले दिएका छन् ।