शेयेर गर्नुहोस
टीकापुर २९ कार्तिक /
टीकापुर विमानस्थलमा परिक्षण उडान भएको १७ दिन पूरा भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको टीकापुर नगरपालिकाको समन्वयमा यहीँ कार्तिक १२ गते परिक्षण उडान भएको थियो । नेपाल एयरलाइन्सको जहाजले सफल परिक्षण उडान गरेको केही समयमै त्यसै दिन तारा एयरलाइन्सको जहाजले पहिलो व्यावसायिक उडान समेत गरेको थियो । ठुलै तामझामका साथ विमानस्थलको परिक्षण उडान सफल गरेको नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांशले विमानस्थल सञ्चालन नियमित गर्नुपर्ने भनेका मात्रै थिएनन् राजनीतिक जस लिनेहरुले टीकापुर विमानस्थलमा जहाज आउँदो रहेछ भन्ने सम्मको भन्न भ्याएका थिए ।
पहिलो व्यावसायिक उडान भएकै दुई हप्ता भन्दा बढी समय हुँदा विमानस्थलमा अर्को जहाज कहिले आउँछ भनेर प्रश्न उठ्न थालेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले विमानस्थलमा परिक्षण उडान हुनुभन्दा पहिले नै विमानस्थल सञ्चालनमा आउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैअनुसार विमानस्थलको परिक्षण उडान सफल भएपछि निकै उत्साहित भएका राज्यमन्त्री चौधरी सहित टीकापुर नगरपालिकाका जनप्रतिनिधिलाई टीकापुरले पुनः विमानस्थल सञ्चालनको विषयमा प्रश्न गर्न थालेका छन् । उनले विमानस्थलबाट नियमित उडान हुने पनि बताएका छन् ।
परिक्षण उडानकै क्रममा पनि सकारात्मक भन्दा बढी नकारात्मक टीकाटिप्पणी बढी भएका थिए । त्यसबेला नकारात्मक टीकाटिप्पणी गर्नेहरूले यतिबेला आलोचना गर्ने थप मौका पाएका छन् । उनीहरुले नगरपालिका र केही व्यक्तिको सस्तो लोकप्रियता कमाउने माध्यम विमानस्थल बनेको बताएका थिए । विमानस्थल सञ्चालनका लागि भएको प्रयास सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्दै स्थानीय कर्ण रावलले त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । “विमानस्थल आउँदा टीकापुरमा जुन उत्साह थियो त्यो उत्साह मर्नु भएन ।” उनले भने, “विमानस्थल सञ्चालन हुनुपर्छ । नियमित टीकापुरमा जहाज आउन सक्यो भने मात्रै त्यो उत्साहले सार्थकता पाउने छ ।”
टीकापुर नगरपालिकाले भने विमानस्थल सञ्चालनका लागि आवश्यक समन्वय र छलफल गरिरहेको बताएको छ । केही दिनअघि स्थानीय राजनीतिक दल सहितको सर्वदलीय बैठकबाट प्रतिक्रिया लिएका नगर प्रमुख रामलाल डगौरा थारुले कैलाली क्षेत्र नं. १ बाट संघीय तहमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि छलफल गरेको बताएका छन् । “हामी छलफल र समन्वय गरिरहेका छौं । नगरपालिकाले आफ्नो क्षेत्रबाट पहल कदमीका लागि सबैसँग आग्रह पनि गरिरहेको छ ।” नगर प्रमुख थारुले भने, “विमानस्थल सञ्चालन हुन्छ । त्यसमा कुनै शंका छैन । साथ सबैको चाहिन्छ ।”
उनले भन्ने बित्तिकै सबै सम्भव नहुने बताउँदै प्रक्रियागत रुपमा काम अगाडि बढाइएको जानकारी दिएका छन् । नगर प्रमुख थारुले चाडपर्वले धेरै समय खाएका कारण ढिलो भएको पनि बताए । “बिचमा चाडपर्वहरुले ढिलो भयो । भरखरै कार्यालय सञ्चालन भएका छन् । अझै कर्मचारी कार्यालय पुगिसकेको स्थिति छैन ।” उनले भने, “अब केही दिनमा सबै कुरा थाहा हुन्छ । विमानस्थल चल्छ । हामी चलाउने भनेरै लागेका छौं ।”