विमानस्थल सञ्चालनको प्रक्रिया सुरु

शेयेर गर्नुहोस


टीकापुर ०३ कार्तिक /
टीकापुर विमानस्थल सरसफाइका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालनका लागि आवश्यक सरसफाइ सहितको सहजीकरणको पत्र पठाएपछि विमानस्थल नगरपालिकाले पत्रको आधारमा प्रक्रिया अगाडि बढाएको हो । २०८१ कात्तिक १ गते पठाएको चलानी नम्बर ४३ को तीन हरफको पत्रमा विमानस्थल सञ्चालन गर्न मन्त्रालय पूर्ण रुपमा तयार रहेको र दुवैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाइ गर्ने व्यवस्था मिलाउनु भनिएको छ ।
त्यसैको आधारमा शुक्रबार विमानस्थल भित्र राखिएका निर्माण सामाग्री हटाउने काम सुरु गरिएको छ । निर्माण सामाग्री हटाएपछि अन्य सरसफाइ र बाटो बन्द लगायतका काम गर्ने नगरपालिकाले जनएको छ । “मन्त्रालयले पठाएको पत्रअनुसार नगरपालिकाको तर्फबाट गर्नुपर्ने काम गर्छौं ।” नगर प्रमुख रामलाल डगौरा थारुले भने, “बाँकी विमानस्थल सञ्चालन गर्ने नगर्ने जिम्मा प्राधिकरणको हो ।”
२०४२ सालमा सञ्चालनमा आएको टीकापुर विमानस्थल २०५४ मा बन्द भएको थियो । लामो समयसम्म विमानस्थल बन्द भएपछि २०६१ सालमा चार सय मुक्त कमैयाले विमानस्थलको जग्गा अतिक्रमण गरेका थिए । वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट पहल हुन थालेपछि टीकापुर नगर विकास समितिले विमानस्थलमा बसेका मुक्त कमैयालाई २०६९ मा अन्यत्र स्थानान्तरण गरेको थियो । सशस्त्र द्वन्दको समयमा बन्द रहेका २२ वटा विमानस्थल सरकारले सञ्चालन गर्ने निर्णय गरेपछि टीकापुरमा विमानस्थल सञ्चालनका लागि टीकाराम जैसीको संयोजकत्वमा सञ्चालक समिति गठन भएको थियो ।
त्यसपछिका दिनमा विमानस्थलको अतिक्रमित जग्गा खाली गरेर करिब दुई करोड खर्च गर्दै सञ्चालनका लागि घेरावार र धावनमार्ग मर्मत समेत गरियो । समितिकै पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाइट’ पनि गरिएको थियो । सञ्चालक समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । त्यसबेलाको त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन र विमानस्थल पुनः बन्द भयो ।
विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद विक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो । त्यसरी मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैयाँ रकम संकलन भएको बुझिन्छ ।
पटकपटक सञ्चालनका लागि पहल भए पनि विमानस्थल सञ्चालन हुन सक्ने स्थिति नभएको कैयौंपटक नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुले बताउँदै आएका छन् । निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलको पालामा मात्रै विमानस्थलको तीनपटक सर्भे भएको थियो । हालको विमानस्थलको विकल्पमा अर्को विमानस्थल निर्माण गर्ने चर्चा पनि त्यसबेला चल्यो । त्यतिमात्र नभई यसअघिको स्थानीय तहको निर्वाचनको समयमा केही राजनीतिक दलले भोटको प्रलोभनमा विमानस्थलमा डोजर समेत चलाएको चर्चा भयो ।
अहिले पनि राज्यमन्त्री चौधरीको निजी सचिवालयले नगरपालिकालाई पत्र पठाउँदा नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको धारणा व्यक्त गरेका छन् । प्राधिकरण र विमानस्थल पुनः सञ्चालन हुने कुरा प्राविधिक रुपमा कठिन रहेको विगत देखि बताउँदै आएको छ । “विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । जहाज अवतरणका लागि त्यो धावनमार्ग अपुग हुन्छ । हाल सञ्चालनमा रहेका ठूला जहाजका लागि कम्तीमा १२ सय मिटरको धावनमार्ग चाहिन्छ ।” सूचना अधिकारी भुलले भने, “विगतमा प्राधिकरणले गरेका प्रत्येक सर्भेले त्यही देखाएको छ । हो सानो जहाज चलाउनको लागि भने समस्या छैन ।”
टीकापुर नगरपालिका भने प्राधिकरणसँग अन्तिम लडाइ लड्ने पक्षमा देखिएको छ । यसपटक पनि विमानस्थल सञ्चालन गर्ने भन्दै धोका भएको खण्डमा विमानस्थलको नाममा रहेको जग्गा फिर्ता माग्ने सम्मको तयारीमा नगरपालिका देखिएको छ । “हुन त यसभन्दा पहिले पनि विमानस्थल सञ्चालनमा ल्याउन नसकिने भए जग्गा फिर्ता गर्न भन्दै लिखित पत्र पठाइसकेका थियौं ।” नगर प्रमुख थारुले भने, “कि विमानस्थल सञ्चालनमा आउनुपर्यो । होइन भने हाम्रो जग्गा प्राधिकरणले फिर्ता गर्नुपर्यो । जग्गा फिर्ता भए अर्को विकल्पमा जाने आधार तयार हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *