शेयेर गर्नुहोस
टीकापुर ०८ मंसिर /
गएको कार्तिक १२ गते परिक्षण उडान सफल भएसँगै सोही दिन तारा एयरलाइन्सले पहिलो व्यावसायिक उडान भरेको टीकापुर विमानस्थलबाट नियमित उडानको प्रक्रिया थालिएको छ ।
टीकापुर नगरपालिकाले थालेको पहलमा तारा एयरलाइन्स कम्पनीले टीकापुर विमानस्थलबाट नियमित उडान भर्ने भनिएको छ । तारा एयरलाइन्सको सानो (ट्युनिटर) जहाजले टीकापुर – काठमाडौं र टीकापुर – अछाम साफेबगरसम्मको उडान सुरु लागेको हो । तारा एयरलाइन्सको जहाजले कैलालीकाे टीकापुर विमानस्थलबाट काठमाडौँ र अछामको साँफेबगरमा यही मङ्सिर १७ गतेबाट नियमित उडान गर्ने भएको छ । १८ सिटे जहाज मार्फत टीकापुर – काठमाडौँ र टीकापुर – अछामको साफेबगरमा नियमित उडान गर्नका लागि तारा एयरलाइन्स कम्पनी र टीकापुर एयरपोर्टको तर्फबाट टीकापुर नगरपालिकाले सम्झौता गरेको बताइएको छ ।
मङ्सिर १७ गतेबाट नियमित उडान हुन लागेको जहाजकाे टीकापुरमा टिकटका लागि तत्काल सिद्धार्थ होटल ग्रुपलाई जिम्मा दिने र त्यसपछि एयरलाइन्स कम्पनीको सहयोग र सहमतिमा अनलाइन समेत टीकट काट्ने व्यवस्था गरिने नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन् । कम्पनीसँग सम्झौता भए अनुसार टीकापुरबाट अछामको साँफेबगरको चार हजार ७ सय र टीकापुरदेखि काठमाडौंको १३ हजार पाँच सय भाडादर कायम हुने भनिएको भए पनि त्यसलाई समायोजन गर्न नगरपालिकाले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरिरहेको बताइएको छ । बर्दियाको साविकको ११ गाविस र कैलालीको छिमेकी पालिकासँग पनि नगरपालिकाले समन्वय गरिरहहेको छ ।
यस विषयमा टीकापुर स्थित राजनीतिक दलहरूको प्रतिक्रिया सकारात्मक देखिएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नं.१ का सभापति प्रकाश शाहले विमानस्थल सञ्चालनमा आउनु टीकापुरका लागि खुशीको कुरा भएको बताएका छन् । उनले विमानस्थल सञ्चालनका लागि विगतदेखि नै पार्टीको तर्फबाट प्रयास हुँदै आएको र आगामी दिनमा निरन्तरताको लागि पनि समन्वय र सहकार्य भैरहने बताए । “हाम्रै पार्टीको विभागीय मन्त्रीसँग पनि कुरा हुँदै आएको छ । उहाँ विमानस्थल सञ्चालनको विषयमा निकै सकारात्मक हुनुहुन्छ ।” शाहले भने, “विमानस्थल नियमित रुपमा सञ्चालन हुने गरी काम हुनुपर्छ ।”
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले विमानस्थलको व्यावसायिक उडान नियमित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले निश्चित समय उडान भरेर फेरि बन्द हुने स्थिति सिर्जना नहिने गरी योजनाका साथ लाग्नुपर्ने बताए । “नियमितको कुरा सँगसँगै भाडाको कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ । अहिले बजारमा सुन्नमा आएको भाडा तिरेर कोहि जहाज चड्न सक्ने स्थिति देखिँदैन ।” उनले भने, “नागरिकहरूको स्थितिलाई मध्यनजर गरेर भाडादरमा हेरफेर गरेर दीर्घकालसम्म सञ्चालन हुने गरी विमानस्थल सञ्चालनमा ल्याउन सक्नुपर्छ ।”
त्यसैगरी नेकपा माओवादी केन्द्र टीकापुर नगर इन्चार्ज दयाराम संज्यालले टीकापुर विमानस्थल सञ्चालनमा आउने कुराले टीकापुर बासीमा उत्साह थपेको बताएका छन् । उनले विगत लामो समयदेखिको प्रयासले टीकापुर विमानस्थल सञ्चालन गर्न सम्भव भएको बताउँदै विमानस्थल सञ्चालनले वर्षौदेखिको सपना साकार हुने बताए । “विमानस्थल सञ्चालनमा आएर त्यसले निरन्तरता पाउनुपर्छ ।” उनले भने, “त्यसका लागि पनि सबैले आआफ्नो क्षेत्रबाट निरन्तर समन्वय गरिरहनुपर्ने देखिन्छ ।” सञ्चालनमा ल्याइसकेपछी फेरि बन्द हुने स्थिति आउन दिन नहुने उनको भनाई छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रिय सदस्य हरि तिमिल्सिनाले सस्तो लोकप्रियताको लागि मात्रै नभई दिगो रुपमा कायम हुनेगरी विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताएका छन् । “विमानस्थल सञ्चालनमा आउनु टीकापुरको लागि खुशीको कुरा हो । तर सत्तामा रहँदासम्म मात्रै रहनेगरी विमानस्थल सञ्चालनमा आउन लागेको भए, त्यो किमार्थ राम्रो हुनेछैन ।” उनले भने, “सानो जहाजसँगै ठूलो जहाज सञ्चालनमा ल्याउने योजना निर्माण गरेर कार्यान्वयनमा ल्याउन सक्नुपर्छ । अनि अहिलेको प्रयास पुर्ण सफल भएको मान्न सकिन्छ ।”