शेयेर गर्नुहोस
समाधान समाचार,टीकापुर २३ असार /
विरेन्द्र बिद्या मन्दिर क्याम्पको नवनिर्मित तीन भवनको एकैसाथ उद्घाटन गरिएको छ ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले एक कार्यक्रमका बीच तीन भवनको उद्घाटन गरेका हुन । भवन उद्घाटन कार्यक्रममा मन्त्री रावलले सत्य कुरालाई पनि तोडमोड गरेर अतिरंजित गरिएकै कारण टीकापुर पछाडि परेको बताएका छन् ।
मन्त्री रावलले टीकापुरमा थुप्रै सम्भावनाहरु भएपनि त्यसको सत्यतथ्य कुरालाई बाहिर ल्याउन नसक्दा टीकापुर पछाडि परेको बताएका हुन । “हामिले राम्रा कुराको अझै प्रचार गर्न सकेका छैनौं । हाम्रो क्षेत्रका सम्भावनाहरुलाई प्रचारप्रसार गर्न सकेपछि टीकापुर आफै सम्पन्न छ ।” मन्त्री रावलले भने, “अहिले पनि सत्यतथ्य कुरालाई बाहिर ल्याउन सकेका छैनौं । सामान्य कुरालाई अतिरंजित गरेर अफवाह फैलाउने काम बढी भएको छ ।”
उनले टीकापुर शिक्षाको हबको रुपमा स्थापित भैसकेको बताउँदै त्यसलाई कार्यान्वयन गरेर शैक्षिक नगरिको रुपमा चिनाउन सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका छन् । “आज पनि टीकापुर शैक्षिक नगरिको रुपमा परिचीत छ । त्यसलाई संस्थागत गर्न हामी सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।” मन्त्री रावलले भने, “टीकापुरलाई स्व. खडक बहादुर सिंहले सम्पन्न बनाइदिएका छन्, त्यसलाई हामिले संस्थागत गरेर त्यसको फाइदा लिनसक्नु पर्छ ।”
उनले विकास निर्माणको क्षेत्रमा सरकारले मात्रै सबै काम गर्नुपर्छ भन्ने मानसिकतालाई त्याग्न आग्रह समेत गरेका छन् । “विकास जसले गरेपनि हुन्छ । विकास कुनै ब्याक्ती विशेषको कहिल्यै हुन सक्दैन । विकास सबैको साझा हुने भएकोले मैले गरे, उसले गर्यो भन्नू व्यर्थ हो ।” मन्त्री रावलले भने, “विकासका लागि जसको पहुँच जहाँ छ, त्यहीँबाट प्रयास गर्ने हो । एउटा सरकार र मन्त्रीले मात्रै विकास गर्ला भनेर बस्नु राम्रो कुरा होइन ।”
कार्यक्रममा प्राध्यापक डा. जगतबहादुर सिंह रावलले विरेन्द्र क्याम्पसले शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको बताएका छन् । उनले क्याम्पसको संरचनागत विकासले गति लिएसँगै शैक्षिक क्षेत्रमा थप नयाँ आयाम थपिएको बताएका हुन । रावलले शैक्षिक क्षेत्रको विकास हुन सकेमात्र अन्य क्षेत्रलाई क्रमश सुधार गरेर लैजान सकिने बताउँदै राज्यले शिक्षालाई विशेष महत्त्वका साथ प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान कैलाली क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारी, जनता समाजवादी पार्टीका हरि तिमिल्सिना, नेकपा एकीकृत समाजवादी पार्टीका भिमराम चपाई, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारी लगायतले मन्तव्य राखेका थिए ।
क्याम्पस व्यवस्थापन समितिका वरिष्ठ सदस्य जगदिश्वर पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीका गुठियार सदस्य सचीव किर्तिसिंह बमले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले गरेका थिए । २०६३ सालमा स्थापना भएको क्याम्पसमा हाल तीन हजार एक सय ९२ जना बिद्यार्थी अध्ययनरत छन् ।