शेयेर गर्नुहोस
टीकापुर १० चैत /
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले सरकारको लचकताका कारण व्यवसायीहरुलाई सहज हुँदै गएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ सुफुरपश्चिम प्रदेशको आठौं प्रदेश सभामा बोल्दै केन्द्रिय उपाध्यक्ष ढकालले कोरोनाकालदेखि अस्तव्यस्त बन्दै आएको उद्योग व्यवसाय विस्तारै पुरानो लयमा फर्कने प्रयास गरिरहेको बताएका हुन । “कोरोनाका कारण कैयौं व्यवसायी विस्थापित हुनुभयो भने कैयौं विस्थापित हुने स्थितिमा पुग्नुभएको छ । त्यसको अर्को कारण देशमा स्थिर सरकार बन्न नसक्नु र अन्तरास्ट्रिय स्तरमा देखिने गरेको उतरचडावहरु नै हुन ।” उनले भने, “अहिलेको सरकार उद्योगीहरुसँग लचिलो बनेको छ । केहि सुधारका प्रयास पनि भएका छन । आशा छ सुधार हुँदै जानेछ ।”
सरकारसँग आज पनि नीतिगत कुरामा महासंघले लडाइ लडिरहेको उपाध्यक्ष ढकालको भनाई छ । कानुनी अड्चनका कारण व्यवसायीहरु लगानीको वातावरण पर्खेर बसेको बताउँदै केही कानुन संसोधन गर्ने कुरामा सरकारसँग समन्वय भैरहेको बताएका छन् । “देशमा लगानीको वातावरण सिर्जना हुँदै गएको छ । अर्थतन्त्र पनि चलायमान हुन थालेको छ ।” उनले भने, “व्यवसायीका पक्षमा सरकारले थोरै भए पनि राहतका काम गरेको महसुस भैरहेको छ ।”
सभामा बोल्ने क्रममा उपाध्यक्ष ढकालले सरकारलाई सबै तन्त्रलाई छोडेर अर्थतन्त्र सुधार्न तर्फ लाग्न पनि सुझाव दिएका छन् । “जहाँ अर्थतन्त्र मजबुत हुन्छ, त्यहाँ जुनसुकै तन्त्र आए पनि केहि फरक पर्दैन ।” उनले भने, “राजनीतिक स्थिरता, सुशासन र जनताको जीवनस्तरमा सुधार ल्याउन सके देशको समृद्धिका लागि बोलिरहनु पर्ने स्थिति हुँदैन ।” उनले अर्थतन्त्रका हिसाबले मुलुक ६० वर्ष यताकै जोखिमपूर्ण अवस्थामा गुज्रिरहेको बताए । ‘म ४० वर्ष भयो व्यवशायमा लागेको यस्तो अवस्था कहिल्यै आएको थिएन ।” उनले भने, ‘देश आर्थिक हिसाबले निकै गम्भिर मोडमा पुगेको छ ।’ पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा उच्च स्तरीय आर्थिक समिति गठन गरेर अर्थतन्त्र सुधारका प्रयास गरिरहेको जानकारी दिएका छन् । उनले अनुत्पादक क्षेत्रमा लगानी बढेकै बेला बैंक तथा वित्तिय संस्थाहरुले ब्याज वृद्धि गरेर ब्यापारी व्यवशायीलाई संकटमा पार्ने काम गरेको बताउँदै राष्ट्र बैंकको लापरवाहीले समस्या सृजना भएको आरोप लगाएका छन् ।
महासंघका कानुनी सल्लाहकार वीरबहादुर जेठाराले महासंघलाई व्यवसायीहरुको हकहित सहित सामाजिक संस्थाको रुपमा अगाडि बढाउन जरुरी रहेको बताएका छन् । उनले समृद्ध नेपाल सुखी नेपालिको नारा सफल बनाउने कुरामा होस् वा सरकारलाई सफल बनाउने कुरामा होस् महासंघले बृजको रुपमा काम गरिरहेको बताए । पिडितले न्याय लाएन भन त्यो संरक्षण संस्थालाई मैले कसरी मेरो संस्था भन्न सक्छु भन्दै प्रश्न गर्दै जेठाराले समाधानका बाटोलाई खुला गर्दै अगाडि बढ्न जरुरी रहेको बताए ।
टीकापुर उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको आठौं प्रदेश सभा कार्यक्रम महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शंकर बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज रावल, वर्तमान अध्यक्ष चक्रपाणी सापकोटा, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं, महासंघका पुर्व केन्द्रिय सदस्य हेमराज गिरि लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मदन नाथ पन्तले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए ।
सभाले बन्दसत्र मार्फत कोषाध्यक्ष लालमणी पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँ बराबरको आयव्यय र कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन समेत गरेको छ ।