शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १३ जेठ /
टीकापुरमा व्यवस्थित शहरको रुपमा परिचित छ ।
टीकापुरका परिकल्पनाकार स्वर्गीय खड्गबहादुर सिंहले टीकापुरलाई व्यवस्थित हुने गरी योजमा बनाएको र त्यसलाई फुलबुट्टा भर्ने काम मात्रै बाँकी रहेको नगर प्रमुख रामलाल डगौरा थारुले प्रायः फोरमहरुमा बोल्ने गर्छन् । तर दशक भन्दा बढी समयदेखि व्यवस्थित भनिएको टीकापुर शहरमा अटो चालक भने अव्यवस्थित नै रहेका छन् । उनीहरूको आज पनि नगरपालिकाले ऐन बनाएर आफुहरुलाई व्यवस्थित गर्ला भन्ने आशामा छन् । त्यो कुराको सुनुवाइ नहुँदा अटो रिक्सा चलाउँदै आएका अटो चालकहरू स्थानीय सरकारले यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलित हुने गरेका छन् ।
जिल्लाका अन्य स्थानीय तहले अटो रिक्सा दर्ता प्रक्रिया स्थानीय तहबाट सुरु गरिसके पनि टीकापुर नगरपालिकाले अहिलेसम्म पनि अटो रिक्सा दर्ता प्रक्रिया अगाडि बढाउन नसक्दा समस्या हुन थालेपछि आन्दोलनमा उत्रनु परेको अटो चालक ठग्गुराम डगौरा थारु बताउनुहुँन्छ । “रिक्सा चलाउन थालेकै एक दशक हुन थाल्यो । अहिलेसम्म स्थानीय सरकारले हाम्रो व्यवस्थापन गर्न सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “दर्ता र नवीकरणका लागि अटो लिएर नेपालगन्ज र धनगढी पुग्न सक्ने स्थिति छैन ।”
२२ वर्ष अगाडि ठेला रिक्सा चलाउनुभएका सुकैया थारु त्यसबेला ठेला रिक्सा चालकलाई पनि नगरपालिकाले परिचयपत्र दिने गरेको बताउनुहुँन्छ । त्यो बेला प्रक्रियामा रहेर काम गर्ने स्थानीय तहलाई पटकपटक आग्रह गर्दा पनि दर्ताको प्रक्रिया अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । “स्थानीय सरकारले रिक्सा दर्ता गर्दा राम्रै हुन्छ, आन्तरिक स्रोत बढ्छ ।” उहाँले भन्नुभयो, “स्रोत आउने ठाउँमा पनि सरकारको ध्यान पुग्न सकेको छैन । हामी अभिभावक बिहिन जस्ता बनेका छौँ ।”
टीकापुर नगरपालिका क्षेत्र भित्र एक हजार भन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । त्यसको निगरानी गर्ने निकाय अझै एकिन छैन । यातायात कार्यालयले स्थानीय तहमा दर्ता हुन भन्ने गरेको अटो चालक पदम विश्वकर्माले बताउनुभयो । सात वर्ष पहिलेदेखि अटो रिक्सा चलाउँदै आउनुभएका पदमले अटो रिक्सा दर्ता र नवीकरणमा समस्या हुँदा ट्राफिक प्रहरीबाट निकै सास्ती खेप्न परेको बताउनुभएको छ । “उमेरले म ५८ वर्षको भए । मलाई सामान्य लेखपढ गर्न पनि आउँदैन । बाटोमा ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र माग्छ । नत्र जरिवाना तिराउँछ ।” उहाँले भन्नुभयो, “सामान्य लेखपढ गर्न नजान्ने म कसरी सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास हुन सक्छु ? कि त मैले व्यवसाय बन्द गर्नुपर्यो ।”
अटो रिक्सा चलाउने अधिकांश चालकहरूलाई सामान्य लेखपढ गर्न पनि आउँदैन । अटो दर्ता र नवीकरण जस्तै अर्को मुख्य समस्या सवारी चालक अनुमतिपत्रको पनि हुन थालेको छ । अनुमतिपत्र नभएकै कारण दैनिक जरिवाना तिर्नुपर्ने बाध्यता रहेको जमुना शाह बताउनुहुँन्छ । “दैनिक पाँच सय कमाउन पनि मुस्किल हुन्छ् । चालक अनुमतिपत्र नभएकै कारण ट्राफिकले पाँच सय जरिवाना तिराउँछ ।” उहाँले भन्नुभयो, “दैनिक पाँच सय जरिवाना तिरेर हामीले परिवार कसरी पालौं । घरको सबै आर्थिक भरोसा यहीँ अटो हो ।”
कैयौं अटो चालकले उमेर हदका कारणले पनि चालक अनुमतिपत्र पाउने स्थिति छैन । त्यस्ता चालकहरूलाई के गर्ने भन्ने ठोस योजना नबन्दा आफुहरुले दशक पहिले सुरु गरेको व्यवसाय संकटमा पर्ने चिन्ता पुरादी अधिकारीको छ । “न जग्गाजमिन छ, सुकुम्बासी शिविरमा बसोबास गर्दै आएको मेरो परिवारका लागि साझ बिहानको चुल्हो बाल्ने आधार यहीँ अटो बनेको छ ।” उहाँ भन्नुहुन्छ, “उमेरका हिसबले मैले चालक अनुमतिपत्र पाउदैन । यदि अनुमतिपत्र नभएर अटो चलाउन नपाइने भए म अनि मेरो परिवार भोकले मर्छ ।”
उहाँले ट्राफिक नियमको बारेमा आफुहरुलाई राम्रोसँग थाहा भएको बताउँदै ट्रायल मात्रै दिएर अनुमतिपत्र दिने स्थितिमा आफुहरु दिन सक्ने बताउनुभएको छ । स्थानीय क्षेत्रमा रोजगारीको मुख्य आधार बन्दै आएको अटो रिक्सा व्यवस्थापनमा देखिएका उल्झनले समस्या निम्त्याउँदै लगेको अटो चालक शेरबहादुर विश्वकर्मा बताउनुहुन्छ । “सुरुमा कसैले कुनै चासो नराखेकै कारण अहिले समस्या देखिएको हो ।” उहाँले भन्नुभयो, “अर्को स्थानीय सरकारले आफ्नो निगरानीमा लिएर व्यवस्थापन गर्न सकेको भए पनि समस्या समाधान हुन सक्थ्यो ।”
उहाँहरुले यथाशीघ्र आफुहरुको व्यवस्थापन हुनुपर्ने माग राख्दै आएका छन् । सोमबार ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा कैयौं अटो चालकले ट्राफिक नियमको उलंघन गरेको र आवश्यक कागजात समेत नभएको भन्दै जरीवाना तिराउन थालेपछि इलाका प्रहरी कार्यालय टीकापुर घेराउ समेत गरेका छन् । स्थानीय सरकार गम्भीर नभए सबै अटो रिक्सा लिएर नगरपालिका थन्क्याएर राख्ने संयुक्त इलेक्ट्रोनिक तथा अटो समितिका संयोजक लोकबहादुर बुढाक्षेत्रीले बताउनुभएको छ । उनका अनुसार स्थानीय सरकारले दिएको समय सिमा सकिन केही दिन मात्रै बाँकी रहेको बताए ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले अटो रिक्सा व्यवस्थापनका लागि नगरपालिकाले ऐन निर्माणको काम गरिरहेको बताउनुभयो । उहाँले ऐन बनाउने कार्यमा विलम्ब भएको स्विकार गर्दै चालू आर्थिक वर्षभित्र ऐन जारी गरेर अटो रिक्साको व्यवस्थापन गरिने बताउनुभयो । “ऐन निर्माण भैरहेको छ । यसै आर्थिक वर्षमा ऐन पास गरेर देखिएको समस्या समाधान गर्छौं ।” उहाँलले भन्नुभयो, “ढिला भएको छ । आउने आर्थिक वर्षमा सबै अटो रिक्सालाई नियमन गर्ने काम नगरपालिकाले गर्छ ।”










