व्यावसायिक बन्दै पुर्व मुक्त कमलरी

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २० साउन /
कैलालीको जानकी गाउँपालिकाको वडा नं. ७ की रीता चौधरीलाई घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कमलरी बस्नुपयो । २०६३ सालमा कक्षा पाँच उतिर्ण गरेकी रीता त्यसभन्दा अगाडिको पढाइलाई निरन्तरता दिनको लागि कमलरी बसेको सुनाउनुहुँन्छ । पढाइका लागि कमलरी बस्नुभएकी रीताको पढ्ने सपना भने पूरा भएन । उहाँले कमलरी बसेपछि पढाइ छोड्नुपर्यो ।
“घरको अवस्था कमजोर थियो । घरमा कामसँगै पढाउने भनेपछि एकजनाको घरमा कमलरी बसे ।” उहाँले भन्नुभयो, “पछि कमलरी बसेपछि पढ्ने सपना पूरा भएन । अरुकै घरमा काम गरेर समय बित्यो ।” कमलरी छोडेर गाउँमै सञ्चालन भएको ९ महिने अनौपचारिक शिक्षा लिएर पुनः बिधालय पुग्नुभएकी रीताको सात कक्षासम्म पुगेर औपचारिक शिक्षाको यात्रा सकियो । सात कक्षा पास गरेकी उहाँले आर्थिक अवस्थाकै कारण पुनः पढाइलाई अगाडि बढाउन सक्नुभएन ।
त्यसपछिको करिब एक दशक अरुमा ज्याला मजदुरी गरेर जीविका चलाउनुभएकी रीता यतिबेला भने व्यावसायिक बन्ने प्रयत्न गरिरहनुभएको छ । गाउँकै सहकर्मी पुर्व मुक्त कमलरी सरस्वती थारुसँग मिलेर यहीँ साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गर्नुभयो । नेपाल युथ फाउन्डेसनको आर्थिक सहयोगमा १० दिने खाजा नास्ताको सँगै तालीम लिएका रीता र सरस्वतीले आफ्नै गाउँमा खाजा पसल सञ्चालन गर्नुभएको हो । घरायसी काममा अरुकोमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उहाँहरुको खाजा पसल सञ्चालन गरेपछि अरुकोमा गएर काम गर्नुपर्ने बाध्यता हटेको छ । त्यतिमात्र होइन आफ्नो मिहेनतले कमाएको थोरै पैसा पनि निकै ठूलो लाग्ने गरेको सरस्वती बताउनुहुँन्छ । “दिनभर अरुकोमा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो । १० दिनको तालिमले व्यवसायी बनायो ।” उहाँले भन्नुभयो, “अब यसैमा मिहेनत गरेर सिकेको सिपलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोचाइ रहेको छ ।”
संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला, र मुक्त कमलरीहरुलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो । तालिमसँगै २५ हजार बराबरको भाडाकुडा पनि नेपाल युथ फाउन्डेसनले सहयोग गरेपछि भजनी नगरपालिका वडा नं. ४ खैलाडकी पुर्व मुक्त कमलरी निलम चौधरीले पनि यहीँ साउन ९ गतेबाट खाजा पसल सुरु गर्नुभएको छ । घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपट लगायतका परिकार बनाएर व्यापार गर्नुहुन्छ । “दिनभर घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालीमले व्यावसायिक बनायो ।” उहाँले भन्नुभयो, “अब यहीँ व्यवसायलाई निरन्तरता दिएर यसैबाट आत्मनिर्भर बन्ने आशाका साथ लागेकी छु ।”
यतिबेला तालिम लिएका ३२ जना पुर्व मुक्त कमलरीले व्यवसाय सुरु गरेका छन् । टीकापुर शिवनगर शिविरमा बस्दै आउनुभएकी पुष्पा थारुको समस्या पनि कुनै फरक छैन । घरको आर्थिक अवस्थाले अरुको घरमा कमलरी बस्नु परेको बाध्यतालाई छिचोल्दै आउनुभएकी पुष्पा विगत एक वर्षदेखि गाउँकै स्थानीय बजारमा खाजा पसल सञ्चालन गर्दै आउनुभएको छ । अरुले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आउनुभएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउनुहुँन्छ । “सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने सिकाइ भएको छ । पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु ।” पुष्पाले भन्नुभयो, “कामको सिलसिलामा भारतमा भएका श्रीमानलाई घर बोलाएर त्यहीँ पेशामा लगाउने सोच बनाएकी छु ।”
टीकापुरकै संगीता चौधरी पहिलेदेखि नै किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । संगीता किराना पसल चलाएर बस्दा उहाँका श्रीमान फ्रेस हाउस सञ्चालन गरेर बस्नुभएको छ । पुर्व मुक्त कमलरी संगीताले खाजा बनाउने तालिम लिएपछि त्यसैमा खाजा पसल थप गर्नुभएको छ । व्यावसायिक रुपमा आफू परिपक्व भएको संगीताको भनाइ छ । “हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका छौँ । यसैमा परिवार खुशी छ ।” संगीताले भन्नुभयो, “घरायसी खर्च देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ ।”
कैलारीको हसुलियाकी निर्मला चौधरी दुई वर्ष अरुको घरमा कमलरी बस्नुभयो । पढाइ गर्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कमलरी बस्नुभएकी निर्मलाले सात कक्षा भन्दा माथीको पढाइ अगाडि बढाउन नसकेकोमा दु:ख व्यक्त गर्नुहुन्छ । अहिले भने उहाँ रेष्टुरेन्ट सञ्चालनको तयारी गरिरहनुभएको छ । “समयमा आर्थिक अभावले अध्ययनलाई निरन्तरता दिन सकिएन । हातमा सीप नहुँदा घरको काममा जीवनको महत्त्वपूर्ण समय खर्च भैसकेको महसुस हुन्छ ।” उहाँ भन्नुहुन्छ, “अहिले तालिम पाएपछि केही गर्ने साहस आएको छ । अब घरायसी कामबाट बाहिर आएर व्यवसाय सञ्चालनको तयारी गरिरहेकी छु ।”
सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेको थियो । विभिन्न संघसंस्थाहरुको सहयोगमा तालिम लिएरै आजसम्म ६ सयभन्दा बढी पुर्व कमलरी आत्मनिर्भर बनिसकेका छन् । कैलाली जिल्लामा चार हजार ७४ जना पुर्व मुक्त कमलरी छन् । त्यसमध्ये दुई हजार पाँच सय जनासँग मात्रै कमलरी परिचयपत्र छ । बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र भएकाहरुले पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको पुर्व मुक्त कमलरीहरुको भनाई छ ।
“राज्यले पुर्व मुक्त कमलरीहरुको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौं पुर्व कमलरीहरुले निकै दु:ख पाइरहेको अवस्था छ । केही संघसंस्थाहरुको सहयोग र समन्वयमा केही पुर्व मुक्त कमलरीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् ।” मुक्त कमलरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले पुर्व मुक्त कमलरीहरुको अभिभावकत्त्व निर्वाह गर्नुपर्ने हो । त्यो हुन सकेको छैन ।” आर्थिक अभावकै कारण कैयौं पुर्व मुक्त कमलरीहरुले बिचमा पढाइ छोड्नुपर्ने स्थिती आएको अध्यक्ष चौधरीको भनाई छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *