शेयेर गर्नुहोस
टीकापुर २१ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ स्थिति नवदुर्गा आधारभूत बिधालयको शिक्षक नियुक्तिको घटना यतिबेला सतहमा आएको छ ।
एक वर्ष पहिले बिधालयबाट राजिनामा दिइसकेका शिक्षकलाई राष्ट्रिय अनुदान कोटामा नियुक्त गरेको विषय अहिले सतहमा आएको हो । बिधालयले २०७३ सालमा बिज्ञान विषयका लागि नियुक्त गरेका शिक्षक भगवती भट्टराईलाई बिधालयका प्रधानाध्यापक र बिधालय निरीक्षकको मिलेमतोमा राष्ट्रिय अनुदान कोटामा नियुक्त गरेको भन्दै बिधालय व्यवस्थापन समितिका अध्यक्षले यसलाई बाहिर ल्याएका हुन । बिधालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव खत्रीले व्यवस्थापन समितिको बैठकको उपस्थिति उठाइएको माइनटमा गोप्यरुपमा निर्णय गरेर अन्तिममा आफ्नो किर्ते हस्ताक्षर गरेर काम गरेको आरोप लगाएका छन् ।
“एउटा अध्ययन अनुमानि पत्र नभएको शिक्षकलाई निजि स्रोतबाट नियुक्त गरेर राष्ट्रिय अनुदान कोटामा उपस्थितिमा मेरो हस्ताक्षर भएको बैठकमा मलाई थाहा नहुने गरी निर्णय लेखेर माइनट क्लोजिङ्ग गरेको छ । प्रधानाध्यापक र नगरपालिकाको बिधालय निरीक्षकको मिलेमतोमा शिक्षक नियुक्ति गर्ने काम भयो ।” अध्यक्ष खत्रीले भने, “यो उजुरी अख्तियारमा गएको कारण त्यसको नतिजा खोजेका थियौं । अहिले अख्तियारले जिल्ला प्रशासनलाई हेर्न भन्दै फाइल पठाएपछि घटना सार्वजनिक गर्नुपरेको हो ।”
उता बिधालयका प्रधानाध्यापक रामप्रसाद भट्टराईले बिधालय व्यवस्थापन समितिको निर्णय बिन कुनै पनि कार्य अगाडि बढाउन नसकिने बताउँदै अध्यक्षकै सहमतिमा निजि स्रोतको शिक्षकलाई राष्ट्रिय अनुदान कोटामा सिफारिस गरिएको दाबी गरेका छन् । उनले अध्यक्षको हस्ताक्षर कसैले किर्ते नगरेको बताउँदै ल्याब टेस्ट पछि त्यसको वास्तविकता बाहिर आउने बताए । “एउटा प्रधानाध्यापकलाई हटाउन सक्ने हैसियत अध्यक्षको हुन्छ भने हिजोका दिनमा त्यो शिक्षकको तलबभत्ता रोक्न पनि सकिन्थ्यो होला । त्यो पनि अध्यक्षले गर्नुभएन । अहिले त्यो शिक्षक बिधालय भन्दा बहिर भएको पनि एक वर्ष भैसकेको छ ।” प्रधानाध्यापक भट्टराईले भने, “मैले चाहेर, बिधालय निरीक्षकले चाहेर मात्रै हुने कुरा भए त्यो आरोप लगाउन पनि सुहाउँदो हुन्थ्यो । तर आफै धामी आफै झाक्रीको भुमिका देखाउँदा त्यसले बिधालयमा नकारात्मक असर पार्नुभन्दा अरु केही हुन सक्दैन ।”
राष्ट्रिय अनुदान कोटामा गणित, बिज्ञान र अङ्ग्रेजी विषयका लागि एउटा बिधालयमा एउटा कोटासम्म दिने गरेको छ । पहिले बिधालयले त्यसरी आएको रकम बिधालयको आन्तरिक स्रोतमा देखाएर बाडफाड गर्ने गरेको भएपनि पछि शिक्षा शाखाको निर्देशनमा बिज्ञान विषयको शिक्षक व्यवस्थापनमा गरेको थियो । अहिले त्यतिबेलाको शिक्षकले राजिनामा दिएर त्यसको ठाउँमा अर्को शिक्षक नियुक्त भैसकेका छन् । त्यो बेला पनि खुला प्रतिस्पर्धाबाट राष्ट्रिय अनुदान कोटामा शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्थापन भएपनि बिधालय व्यवस्थापन समितिको बैठकले भगवती भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसमा अध्यक्षले आफ्नो सहभागिता नरहेको दाबी गरिरहँदा प्रधानाध्यापकले भने अध्यक्षको सहभागितामा त्यो काम भएको दाबी गरेका छन् ।
नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शिक्षक नियुक्ति अध्यक्षकै अगाडि भएको बताएका छन् । उनले नियुक्त भएका शिक्षकसँगको सम्झौतामा पनि अध्यक्षले हस्ताक्षर गरेको अवस्थीको दाबी छ । “बिधालय व्यवस्थापन समितिलाई आफुले गरेको निर्णय चित्त नबुझे त्यसलाई खारेज गर्ने अधिकार पनि छ । त्यो अधिकार अध्यक्षले प्रयोग गर्न सक्नुपर्थ्यो ।” शिक्षा अधिकृत अवस्थीले भने, “सामाजिक सञ्जालमा कसैको चरीत्र हत्या गरेर, कसैलाई आर्थिक प्रलोभनमा गलत काम गरेको भनेर मिथ्या कुरा लेख्नुले समस्याको समाधान हुन सक्दैन ।”