शेयेर गर्नुहोस
टीकापुर २७ वैशाख /
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा सामाजिक विज्ञानमा बहुआयामिक अनुसन्धान र नवीनता विषयक राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
आजसम्म चल्ने सम्मेलनको शुक्रवार सुदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाटन गर्दै सम्मेलनको सुभारम्भ गरेका थिए। सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले अध्यायन अनुसन्धानबाट आएका निचोडलाई कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । विभिन्न विषयमा अध्यायन अनुसन्धान भएपनि त्यसलाई कार्यान्वयनमा नलिँदा गरेका कामको पनि परिणाम नदेखिने बताउँदै अबका दिनमा गरिने अध्यायन अनुसन्धानका निचोडलाई कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।
नेपाल सरकारको रकमबाट पढेका विद्यार्थीहरु पनि नेपालमा केहि काम नगरेर विदेशिनु दु:खद भएको बताउँदै उनले सरकारी रकममा पढेकाले नेपालकै लागि काम गर्नु पर्ने बताए । प्रदेश प्रमुख मियाँले टीकापुर बहुमुखी क्याम्पसको जग्गा धेरै भएर पनि उपयोग गर्न नपाएको बताउँदै सुकुम्बासीका नाममा कब्जा गरिएको जग्गा खाली गराउन सबै सरोकरावालाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने र त्यसमा आफ्नो पनि सहयोग रहने बताएका छन् ।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डा विद्यानाथ कोइरालाले अनुसन्धानलाई एउटा संस्कृतिका रुपमा विकास गर्दै लैजानु पर्ने बताए । अनुसन्धानकर्ताले हाम्रो संस्कार, संस्कृतिलाई अंगिकार गर्दै आफ्नो अध्यायनलाई अगाडी बढाउँदा राम्रो नतिजा आउने उनको भनाई थियो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ८ वटा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विधाहरू (भाषा साहित्य, व्यवस्थापन, समाजिकशास्त्र, संस्कृति, विज्ञान तथा प्रविधि, कृषिविज्ञान आदि) मा जम्मा ८१ वटा अनुसन्धान तथा खोजमूलक कार्यपत्रहरू प्रस्तुति गरिने छन् । विश्वविद्यालय अनुदान आयोग, सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पस, अमेरिकन राजदूतावास, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार, वित्तीय संघसंस्था, विद्यालयलगायत अन्य संघसंस्थाहरूको सहयोग र सहकार्यमा कार्यक्रम गर्न थालिएको हो ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन, स्थानीय पालिका प्रमुख, क्याम्पस तथा विद्यालयका प्रमुखहरूलगायत करिब २०० जना शिक्षाप्रेमी सहभागी छन् ।