शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०६ साउन /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ बनगाँउका रामबहादुर चौधरी व्यावसायिक तरकारी खेती गर्नुहुन्छ ।
उहाँले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनु भएपनि बजारीकरणको समस्याका कारण मौसमी तरकारीबाट राम्रो आम्दानी लिन सक्नुभएको छैन । उहाँले सिजनमा एक सय क्विन्टल भन्दा बढी आलु उत्पादन गर्नुहुन्छ । त्यो समयमा सबैसँग आलुको उत्पादन भएका कारण उहाँले २० रुपैयाँ प्रती किलो बिक्री गर्नुपर्ने बाध्यता छ ।
“उत्पादन नभएर किसान मर्कामा छैनन् । किसान बजारीकरणको समस्याका कारण मर्कामा छन् । हिजो हामिले २० रुपैयाँ प्रती किलो बिक्री गरेको आलु आज बजारमा ६० रुपैयाँमा आफैले खरिद गरेर खानुपर्ने अवस्था छ ।” रामबहादुरले भन्नुभयो, “यदि उत्पादन गरेको तरकारीलाई भण्डारण गर्ने व्यवस्था भएको भए हामीले लागत भन्दा कममा आफ्नो उत्पादन बिक्री गर्नुपर्ने अवस्था आउने थिएन ।”
टीकापुर कै अरुण चौधरी पनि व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । उहाँले बेमौसमी भन्दा बढी मौसमी तरकारी खेती गर्नुहुन्छ । सिजनमा सबैले तरकारी खेती गर्ने भएका कारण अरुणले उत्पादन भएको बस्तुबाट चाहेजस्तो फाइदा लिन सक्नु भएको छैन । “बजारीकरण वा भण्डारणको राम्रो व्यवस्था भए उत्पादन भएको बस्तुलाई राम्रो मुल्यमा बिक्री गर्न सकिन्थ्यो ।” अरुणले भन्नुभयो, “रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषिमा राम्रो सहयोग गर्दै आएको छ त्यसलाई बजारीकरण र भण्डारणको लागि व्यवस्था गर्न सकेको भए किसानलाई राहत हुनेथियो ।”
कार्यान्वयन इकाईले निर्माण गर्ने भनिएको शीत भण्डारलाई लक्षित गर्दै किसानहरुले गुनासो बढी गर्ने गरेका छन् । आर्थिक वर्ष २०५७/०७६ मा नै शीत भण्डार निर्माणको लागि बजेट विनियोजन गरेको थियो । तीन वर्षदेखि निर्माणको प्रक्रियामा रहेको शीत भण्डार निर्माणको काम चालू आर्थिक वर्षमा सुरु हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन इकाईको ७५ प्रतिशत र किसानहरूको २५ प्रतिशत लागत रहने गरि निर्माण हुने भनिएको शीत भण्डारको काम चालू आर्थिक वर्षमा सुरु हुने भएको हो ।
तीन वर्षदेखि कुलो समितिले उठाउनुपर्ने रकम संकलन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई हुँदै आएको थियो । तीन कुलो समितिको हुन आउने रकमको ८५ लाख जम्मा गरेर बाँकी एक करोड १५ लाख रुपैयाँ टीकापुर नगरपालिकाले उपलब्ध गराउने भएपछि कार्यान्वयन इकाईले शीत भण्डारको काम अगाडि बढाएको कार्यान्वयन इकाईका प्रमुख गोविन्द राज जोशीले बताउनुभएको छ ।
“हाम्रा पनि केही प्राविधिक समस्याहरु थिए । त्यसैमा कुलो समितिले उठाउनुपर्ने २५ प्रतिशत रकम जम्मा गर्न नसक्नु, जग्गाक टुंगो नलाग्नु र कार्यालयको तर्फबाट त्यसको सम्भाव्यता अध्ययनको रिपोर्ट ढिलो आउनुले पनि काममा ढिलाई भएको हो ।” कार्यान्वयन इकाईका प्रमुख जोशीले भन्नुभयो, “कुलो समितिले उठाउनुपर्ने रकम पनि जम्मा भएको छ । हामिले असोज/ कार्तिकबाटै शीत भण्डार निर्माणको कामलाई अगाडि बढाउने गरि प्रक्रियामा लागिसकेका छौं ।”
विगत तीन आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गर्दै क्रमागत आयोजनाको रुपमा लिने योजना बनाएको कार्यान्वयन इकाईले चालू आर्थिक वर्षमा भने एकै वर्षमा काम सम्पन्न गर्नेगरी ६ करोड बजेट विनियोजन गरेको छ । कार्यान्वयन इकाईले आलू भण्डारलाई विशेष प्राथमिकतामा राखेर शीत भण्डार निर्माण गर्न लागेको प्रमुख जोशी बताउनुहुँन्छ । “हाम्रो कार्यक्रममा पनि आलू खेती विस्तार तथा आलू पकेट क्षेत्र घोषणा समावेश गरिएको छ । त्यसैअनुसार आलूलाई विशेष महत्त्वका साथ लिएका छौं ।” प्रमुख जोशीले भन्नुभयो, “शीत भण्डार निर्माण भएपछि यस क्षेत्रका १६ हजार किसानहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ ।”
टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले शीत भण्डार निर्माण भएपछि स्थानीय उत्पादनलाइओ भण्डारण गरेर बजारीकरणमा सहज हुने बताउँदै यसले भारतीय तरकारीलाई विस्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । “हाम्रो समृद्धिको मुख्य आधार नै कृषि हो । कृषिमा आत्मनिर्भर बन्न सकेपछि मात्रै हामिले देखेको समृद्धि पूरा हुन सक्छ ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “शीत भण्डारका लागि चाहिने आवश्यक सहयोग स्थानीय सरकार गर्न तयार छ । बजेट व्यवस्थापन देखि अन्य कुरामा पनि नगरपालिकाले किसानको पक्षमा काम गर्छ ।”
करिब सात करोड लागत अनुमान गरिएको एक हजार मेक्ट्रीकटन क्षमताको शीत भण्डार निर्माण भएपछि टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्किचुहा नगरपालिकाको केही वडाका किसानहरूले प्रत्यक्ष लाभ लिनसक्ने छन् ।