शेयेर गर्नुहोस
टीकापुर ०९ साउन /
टीकापुर पार्क भित्र व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका युवाहरू साउन १ गतेदेखि बेरोजगार बनेका छन् ।
टीकापुर पार्कको मातहतमा रहेको टीकापुर पार्क भित्र व्यावसायिक फोटोग्राफीका लागि लाग्ने दस्तुर दोब्बर बनाएपछि उनीहरू नगरपालिकाले कायम गरेको रकम तिर्न नसक्ने भन्दै काममा नगएपछि बेरोजगार बनेका हुन । झण्डै ३०/३५ जना युवाहरूले फोटोग्राफीबाट राम्रो आम्दानी गर्दै आएको भए पनि साउन १ गतेबाट उनीहरू पार्क भित्र प्रवेश गरेका छैनन् । नगरपालिकालाई महिनाको तीन हजारका दरले रकम तिर्दै आएका फोटोग्राफीको शुल्क ६ हजार पुर्याएपछि त्यत्रो रकम तिर्न नसकिने भन्दै उनीहरू पार्कमा पुगेका छैनन् ।
एकाएक दोब्बर शुल्क बनाएको विरोधमा उनीहरूले नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई पनि भेटिसकेका छन् । भेटमा नगर प्रमुख थारुले शुल्क घटाउने विषयमा सोच्न नसकिने बताउँदै बरु काम गर्न नसकिने भए काम नगर्न भन्दै अस्वभाविक जवाफ दिएको उनीहरूको गुनासो छ । “आफ्नै क्षेत्रमा केही गरेर दुईचार पैसा कमाएको नगरपालिकालाई अपाच्य भयो । त्यसलाई देखि सहन गर्न सकेन ।” फोटोग्राफर चन्द्र बोहराले भने, “अब सरकार नै युवाहरू स्वरोजगार भएको देख्न सक्दैन रहेछ । विकल्पमा विदेश भन्दा अब अरु के होला ?”
पार्कमा फोटोग्राफी गर्ने अधिकांश युवाहरू टीकापुरमा डेरा गरेर अध्ययनलाई समेत सँगसँगै अगाडि बढाइ रहेका छन् । उनीहरू आफ्नो पढाई खर्च लगायत व्यक्तिगत खर्चका लागि परिवारको पर्नु परेको छैन । बरु कमाएको केही पैसा घरपरिवारलाई सहयोग समेत गर्दै आएका छन् । “आफ्ना लागि अरुसँग माग्नुपरेको छैन । बरु घरपरिवारलाई परेको समयमा सहयोग गर्दै पनि आएका छौँ ।” दुई वर्षदेखि फोटोग्राफीको काम गर्दै आएका नैनबहादुर चौधरीले भने, “अझै मैले त व्यावसायिक कुखुरा पालनको काम छोडेर यसमा लागेको हो ।”
पार्कमा फोटोग्राफीको काम गर्दै आएका युवाहरू टीकापुर खुला मैदानको पिपल चौतारीमै दिन बिताएर फर्किने गरेका छन् । नगरपालिकाले। शुल्क बढाउनै पर्ने भए पनि हजार/पन्ध्र सय बढाउनुपर्ने उनीहरुको भनाइ छ । अहिले पनि नगरपालिकाले शुल्कमा हेरफेर गर्ला भन्ने आशामा उनीहरू छन् । उता पार्कमा कार्यरत कर्मचारी विनोद चौधरीका अनुसार साउन १ गतेबाट पार्क भित्र कुनै फोटोग्राफर आएका छैनन् ।
पार्कमा अहिले पनि दैनिक दुई सयदेखि दुई सय ५० को बीचमा पर्यटकहरु आउने गरेको चौधरी बताउँछन् । “पर्यटकहरुको चहलपहल उस्तै छ । गतवर्षको तुलनामा बढेको देखिन्छ ।” उनले भने, “शुल्क बढेको विषयमा पर्यटकले त्यस्तो कुनै गुनासो गरेका छैनन् । संख्यामा पनि कमि आएको छैन ।” नगरपालिकाले यसवर्षबाट पार्कको प्रवेश शुल्क प्रतिव्यक्ति ३० बाट बढाएर ५० पुर्याएको छ ।










