शैक्षिक प्रदर्शनी मेला सुरु

शेयेर गर्नुहोस


टीकापुर ०३ फागुन /
जानकी गाउँपालिकामा पालिका स्तरीय वृहत् शैक्षिक प्रदर्शनी मेला शुक्रबारदेखि सुरु भएको छ ।
विद्यार्थीमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले वृहत् शैक्षिक प्रदर्शनी सुरु भएको हो । जानकी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी ३४ विद्यालयको सहभागिता उक्त शैक्षिक प्रदर्शनी मेलामा रहेको छ । ३४ विद्यालयका स्टलमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न बिज्ञान सामग्री, भाषा, कला तथा साहित्यका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । सोही अवसरमा कार्यक्रममा जानकी गाउँपालिकाले खेलकुदका माध्यमबाट जानकी गाउँपालिकालाई विश्वमा चिनाउन सफल भएका खेलाडीहरूलाई सम्मान समेत गरेको छ ।
भलिबल खेलाडी सरस्वती चौधरी, महिला राष्ट्रिय क्रिकेट टिमकी रचना कुमारी चौधरी र खोखो खेलाडी गणेश विश्वकर्मालाई जनही ११ हजार नगदसहित गाउँपालिकाले सम्मान गरिएको थियो । शैक्षिक मेला प्रदर्शनीबाट विद्यार्थी तथा विद्यालयलाई सहयोग पुगेको अरुणोदय माद्यामिक विद्यालयका प्रधानाध्यापक कपिल राज भाटले बताए । ‘गाउँपालिकाले आयोजना गरेको यो प्रदर्शनीमा हाम्रो पनि सहभागिता रहेको छ ।” प्रधानाध्यापक भाटले भने, ‘हाम्रा विद्यार्थीले निर्माण गरेका विज्ञानसम्बन्धी, भाषा–कला सम्बन्धी सामग्री प्रदर्शनका लागि राखेका छौँ । प्रदर्शनीमा आफूले बनाएका सामग्री प्रदर्शन गराउन पाउँदा विद्यार्थी उत्साहित भएका छन्, जसको फाइदा विद्यार्थी र विद्यालयलाई भएको छ।”
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउनका लागि शैक्षिक प्रदर्शनीको आयोजना गरिएको बताए । ‘प्रदर्शनीमा आएका विद्यार्थीहरूले आफूले बनाएका वा जानेका कुरालाई यहाँ प्रदर्शन गरून्, अरू विद्यार्थीले प्रदर्शनीका लागि राखेका कुराबाट ज्ञान लिउन् र आफ्नो ज्ञानको दायरा बढाउन् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।” अध्यक्ष चौधरीले भने, ‘यसरी प्रदर्शनीको माध्यमबाट विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि यो शैक्षिक प्रदर्शनीको आयोजना गरेका हौँ।’ अध्यक्ष चौधरीले शिक्षाले विश्व बदल्ने सामथ्र्य राख्ने कुरालाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *