श्रमिक दिवस : कसैलाई उत्सव त कसैलाई काम नपाएको पीडा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २० वैशाख /
बुधबार १३५ औं अन्तरास्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहँदा कैयौं मजदुर दिनभर कामको खोजीमा भौंतारिए ।
टीकापुर नगरपालिकामा पनि मजदुरको हकहितका लागि स्थापना भएको टीकापुर डकर्मी व्यवसायी संगठनले तामझामका साथ श्रमिक दिवस मनायो । उसले टीकापुरको बजार क्षेत्रमा कार्यक्रम मनाइरहँदा टीकापुर नगरपालिका विजयनगर शिविरका सिराकु चौधरी दिनभर कामको खोजीमा देखिए । अन्य दिनमा सहजै काम पाउने उनले बुधबार काम पाएनन् । रिक्सामा सामान बोकेर त्यसबाट आएको पैसाले जीविकोपार्जन गर्दै आएका सिराकुलाई मजदुर दिवसका कारण सबै कामधन्दा बन्द हुँदा रित्तै हात घर फर्किनु पर्यो । “पाइने काम भनेको त्यहीँ सरिया र सिमेन्ट बोक्ने काम हो । सबै ठाउँ काम बन्द भएपछि बुधबार कतै काम पाइएन ।” उनले भने, “सबै ठाउँ काम भएको भए काम पाइन्थ्यो । दुईचार पैसा आउथ्यो अनि हातमुख जोर्न सजिलो हुन्थ्यो ।”
जोशीपुर गाउँपालिका वडा नं. ५ बन्कट्टाका देवप्रकाश चौधरी सात वर्षदेखि सामान बोक्ने ठेला रिक्सा चलाउँदै आएका छन् । उनी दैनिक कामको खोजीमा जोशीपुरबाट ठेला रिक्सामा टीकापुर पुग्छन् । ठेला रिक्सा उनको जीविकोपार्जनको महत्त्वपूर्ण माध्यम हो । बुधबार उनको पनि दिन सिमेन्ट पसलको बाहिर ग्राहक कुर्दै बित्यो । डकर्मी संगठनले आयोजना गरेको कार्यक्रम स्थल नजिकै रहेका उनले त्यहाँ बोल्ने सबै वक्ताको भाषण सुन्न भ्याए, तर साझसम्म पनि ग्राहक नपाएपछि रित्तो हात घर फर्कनु पर्यो । “कामका लागि टीकापुर आएको थिए तर भाषण सुन्न आए जस्तो भयो । काम पाइएन, त्यहीँ भाषण सुनेर घर फर्के ।” उनले भने ।
जसले जस्ता कुरा गरे पनि काम नगरी कसैले सित्तैमा खान नदिने भन्दै देवप्रकाशले गरिबलाई भजाएर खाने काम मात्रै भएको उल्लेख गरे । “जसले जे भने पनि सित्तैमा खान कसैले कसैलाई दिने होइन । बरु श्रमिक दिवसको नाममा समाजमा समाजसेवी भन्नेहरुले श्रमिकको शोषण गरेका छन् ।” देवप्रकाशले भने, “श्रमिक दिवसको नाममा काम बन्द गर्न लगाएर जबर्जस्ति कार्यकर्तामा उपस्थित हुन आव्हान हुनु पनि श्रमिक माथीको शोषण हो । कसैको कारणले कसैले काम रोकिनु अर्को शोषण होइन ?” सिराकु र देवप्रकाश एउटा उदाहरण मात्रै हुन उनीहरू जस्ता कैयौंले अरुका कारण काम पाउन सकेनन् । वर्षौदेखि बोल्ने त्यहीँ शब्द सुन्दा सुन्दा दिक्क भएका श्रमिकहरुको हक अधिकारका लागि वास्तविक रुपमा काम गर्ने कोहि नभएको उनीहरूको गुनासो छ ।
उता टीकापुर डकर्मी व्यवसायी संगठनको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नगरपालिकामा श्रमिकहरुको तथ्यांक संकलन गरेर सुचिकृत गर्दै परिचयपत्र वितरण गर्ने भन्न भ्याए । “हामीले कार्यविधि तयार गरिसकेका छौँ । त्यसको कार्यान्वयनका लागि नगरस्तरिय समिति गठन गरेर मजदुरको समस्यालाई दीर्घकालीन रुपमा समाधान हुनेगरी काम गर्छौं ।” नगर प्रमुख थारुले भने । उनले वास्तविक मजदुरको अभिभावक स्थानीय सरकार बन्ने बताउँदै नगर प्रमुख थारुले मजदुरलाई मालिक बनाउनका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले राज्यले दिएका अधिकारहरुलाई प्रयोग गर्न मजदुरलाई आग्रह गरे । उनले संघसंगठन मजदुरको नाममा स्थापित भए पनि ती संगठनले पनि उपलब्धि मुलक काम गर्न नसकेको बताए । “अधिकार प्राप्तिका लागि एकता आवश्यक हुन्छ । जहाँ एकता हुन्छ त्यहाँ सबै कुरा सम्भव हुन्छ ।” वडा अध्यक्ष विकले भने, “कम्तिमा रोजगारदातासँग श्रमिकहरुले वैधानिकताका आधारमा काम गर्न सक्यो भने मात्रै पनि श्रमिक बलियो बन्न सक्छ ।” उनले बालश्रमलाई निरुत्साहित गरेर बालबालिकालाई बिधालयसम्म पुर्याउने बाताबरण बनाउनु सबैको दायित्व भित्र रहने पनि बताए ।
टीकापुर डकर्मी व्यवसाय संगठनका संस्थापक अध्यक्ष अमर बहादुर शाहीले श्रमिकहरुले पाउनुपर्ने पारिश्रमिकका कसैले कसैलाई विभेद गर्न नहुने बताएका छन् । उनले ठेकेदार पनि एक मजदुर नै भएको उल्लेख गर्दै सबै श्रमिकहरुको एकताले मात्रै मजदुरको हकहित स्थापित गर्न सकिने बताएका छन् । “आज कतिपय मजदुरहरुले काम गरेको ज्याला नपाएका घटना छन् भने ठेकेदारहरु पैसामै अल्झेको स्थिति छ ।” उनले भने, “गरेको कामको ज्याला कसैले कसैको मार्नु हुँदन । त्यस्तो हुन्छ भने त्यो भन्दा ठूलो अन्याय अरु केही हुन सक्दैन ।” टीकापुर नगरपालिकाले श्रमिक कोष स्थापना गरेर काम गर्ने क्रममा हुने भवितव्यं घटनाबाट पिडितलाई राहत उपलब्ध हुने व्यवस्था गर्न शाहीले आग्रह गरेका छन् ।”
यसरी श्रमिकहरुको हक अधिकारको पक्षमा तामझामका साथ आयोजना गरिएको कार्यक्रम स्थलबाट बोलीरहँदा श्रमको खोजी गरिरहेका कयौं श्रमिकको कार्यक्रम भन्दा कामको चिन्तामा दिन बित्यो ।

श्रमिक दिवसको दिन काम खोज्दै श्रमिक
ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *