श्रीमतीलाई हटाएर बुबालाई पार्टी अध्यक्षको जिम्मेवारी

शेयेर गर्नुहोस


टीकापुर १५ साउन /
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् ।
पार्टीभित्र विवाद बढिरहेको बेला पार्टीका संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष लालवीरलाई बनाइएको हो । अध्यक्षका लागि पार्टी भित्र अन्य व्यक्ति आकांक्षी भए पनि अन्ततः लालवीरलाई नै नयाँ अध्यक्ष चयन गरिएको घोषणा बिहीबार गरिएको छ । यसअघि पार्टीको संस्थापक अध्यक्षको रुपमा रहेकी रञ्जितालाई पार्टीको प्रथम महाधिवेशनले जिम्मेवारीबाट हटाएर रेशम चौधरी अध्यक्ष बनेका थिए । उनलाई निर्वाचन आयोगले अध्यक्ष बन्न अयोग्य भनेपछि रञ्जिता पुनः अध्यक्षमा आएकी थिइन । उसरी भन्नुपर्दा अब संरक्षक रेशम चौधरी, श्रीमती रञ्जिता र बुवा लालवीर गरेर एउटै परिवारका तीनजनाले छोटो समयमा पार्टीको अध्यक्ष बन्ने अवसर प्राप्त गरेका छन् ।
अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लालवीरले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताएका छन् । उनले रञ्जितालाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताएका छन् ।
तर पार्टीकी अध्यक्षमा आफू यथावत रहेको रञ्जिताले प्रतिक्रिया दिएकी छन् । उनले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताइन् । राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको उनको भनाइ छ ।
पार्टीको प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकी अध्यक्ष रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।
आफूमाथि कारबाही भएको दोस्रो दिन श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेकी छन् ।
श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको स्पष्टीकरण पत्रमा लेखेकी छन् ।
उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *