शेयेर गर्नुहोस
झलनाथ खनाल,अछाम २७ असोज /
दुर्गम गाउँ । खानको लागि निकै अभाव । न्यून उब्जनी खेतिपाती शुन्य । दैनिक मजदुरी र पानी घट्ट परिवारको आयआर्जनको माध्यम । अछामको रामारोशन गाउँपालिका वडा नं. १ का बालाराम परियार दैनिकी यसरी नै बित्यो । कैलाश खोलाको किनारमा भएको एक पानी घट्टले बालारामको १० जनाको परिवार पालिन्थ्यो ।
“खेतिबारी केही थिएन । कि दिनभर मजदुरी गर्नुपर्थ्यो । कि परिवार पाल्ने आधार त्यहीँ पानी घट्ट ।” बालारामले भन्नुभयो, “त्यसै घट्टले मेरो बुवाले गुजारा चलाए । मेरो पनि आधा उमेर त्यसै घट्टका ढुङ्गा पल्टाएर बित्यो ।” अहिल्यै बालाराम उमेरले ७० पुग्नुभयो । उहाँको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि उहाँले कैलाश खोलाका ढुङ्गा पल्टाउन छोड्नु भएको छैन । उहाँले घट्ट गेडागुडी पिसाउन आएकाहरुसँग केही पिठो लिनुहुन्छ ।
त्यसको कुनै नापजाँच भने हुँदैन । जस्ले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालाराम बताउनुहुँन्छ । “यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।” बालारामले भन्नुभयो, “दिनमा दुईवटा देखि पाँच केजिसम्म पिठो भैलाल्छ ।” गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट थिए । अहिले त्यहीँ बालारामको मात्रै छ । २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौं पानी घट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका छन् ।
“गाउँगाउँमा बिजुलि बत्ती पुगेपछि गाउँमै मिल सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्त्व छैन ।” स्थानीय दाताराम खनाल बताउनुहुँन्छ, “पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्नेहरु मात्रै घट्ट आउँछन्, नभए पानी घट्ट विस्थापितको अवस्थामा पुगिसकेको छ ।” उहाँले परम्परागत रुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व निकै संकटमा रहेको बताउनुभयो । त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानी घट्ट हुन्थ्यो । नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मिहेनत भने निकै हुन्थ्यो ।
ग्रामीण वस्ती लागि पानी घट्ट एक महत्त्वपूर्ण आवश्यकता भित्रको वस्तु हो । गेडागुडी पिसाएर पिठो बनाउनको लागि पानी घट्ट र जातोको प्रयोग हुँदै आएको छ । जातो विकल्पमा प्रयोग हुने गरेपनि पानी घट्ट ग्रामीण क्षेत्रको लागि महत्त्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चक्रबहादुर साउँद बताउनुहुँन्छ ।
“पानी घट्ट, जातो र ओखलसँग हाम्रो नजिकको सम्बन्ध छ । यसको संरक्षण र सम्बर्द्धन निकै आवश्यक छ ।” वडा अध्यक्ष साउँदले भन्नुभयो, “संकटमा रहेका यस्ता बस्तुहरुलाई संरक्षण गरी राख्न सकेपछि आउँदा सन्ततिका लागि इतिहास बन्न सक्छ ।” त्यस्तै ग्रामीण वस्तीको अर्को महत्त्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानिको लागि पानी घट्ट र जातो जस्तै कुटानीको माध्यम भनेकै ओखल हो । अहिले पुरानो पानी घट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।
कल्धरी विक कुनैबेला बिहान तिन/ चार बजे उठ्नुहुन्थ्यो । बिहानको चुलोचौको भन्दा पहिले ओखलमा धान कुट्नु उहाँको दैनिकी जस्तै हुन्थ्यो । “साना छोराछोरी, प्रदेशी श्रीमान, कामको चाप ।” कल्धरीले भन्नुभयो, “छोराछोरी उठ्नुभन्दा पहिला सबै काम सक्नुपर्थ्यो । उनिहरुलाई खाजा खुवाएर मेलापात जानू हाम्रो दैनिकी थियो ।” अहिले अवस्था फेरिएको छ । गाउँमा मिल सञ्चालनमा आएपछि ओखल कल्धरीले देख्नुपरेको छैन ।
गाउँमा कल्धरी मात्रै होइन त्यस्ता कैयौं महिलाहरुको दैनिकी फेरिएको छ । दिनभर बाहिरी कामको चटारोमा रहने महिलाहरू बिहानको समय धान कुटेर चामल बनाउन ओखलमै व्यस्त हुने गर्थे । “दिनभरको कामको थकानले छिट्टै निदाएछु । निद्रामा पनि भोलिको कामको चिन्ता थियो । हातमा घडी थिएन । असोजको महिना खेती भित्र्याउने चटारोमा आधा रातमै धान लिएर ओखल पुगेकी रहेछु ।” विगतमा दिनहरू स्मरण गर्दै नामसरा खनालले भन्नुभयो, “धान कुटेर फेरि दुई/ अढाई घण्टा सुतेपछी उज्यालो भयो । त्यो बेलाको दुख र अहिलेको सुविधा सम्झँदा अहिले पनि मन थाम्न गाह्रो हुन्छ ।”
स्थानीय चन्द्रा परियार यति छिटो समय परिवर्तन हुँदा निकै अचम्म हुनुहुन्छ । मट्टीतेलबाट लाल्टिन र टुक्कीको सहारामा आधा जिबन काटेकी चन्द्रालाई कहिलेकाही एकाएक भएको परिवर्तन सपना जस्तै लाग्ने गरेको छ । उहाँले गाउँगाउँमा बिजुली आएपछि मिल सञ्चालन भएर कुटानी र पिसानीमा सहज भएपनि आफ्नो पुरानो परम्परा हराउँछ कि भन्ने चिन्ता पनि बढेको बताउनुहुँन्छ । “घरघरमा बिजुली पुग्यो । गाउँमा यातायात पुग्यो । सबै कुराले सहज भएको छ ।” चन्द्राले भन्नुभयो, “यहीँ सुविधा र सहजताले हाम्रा पुर्खाको सम्पत्तिको अस्तित्व हराउँदै जाने त होईन ?”
गाउँमा सबै कुराको सहजता भएपछि पहिलेको जस्तो कामको चटारो हटेको छ । नागरिकहरु फुर्सदिला भएका छन् । पिठ्युँमा भारी बोकेर मेलापात जानुपर्ने बाध्यता टरेको छ । दिनभर घट्टमा पालो कुरेर बस्नुपर्ने समयको अन्त्य भएको छ । त्यस्ता कयौं समस्याहरुबाट छुटकारा पाएपनि पुर्खौदेखीको परम्परागत संरचनाहरुको अस्तित्व नै समाप्त हुने चिन्ता पनि बढ्दै गएको छ ।