संघको नेतृत्वका लागि कसले मार्ला बाजी

शेयेर गर्नुहोस


टीकापुर १९ भदौ /
टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी निकै बढेको छ ।
व्यवसायीको साझा संस्थाको रुपमा रहेको टीकापुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि यहीँ भदौ २१ गतेका लागि तय भएको निर्वाचनका लागि दुई प्यान चुनावी मैदानमा छ । दुबै प्यानलले आफ्नो जित सुनिश्चित भन्दै आएका छन् भने व्यापारीहरुको साझा उम्मेदवार आफुलाई दाबी गरिरहेका छन् । व्यापारी तथा व्यवसायीका साझा मुद्दामा आफ्नो नेतृत्वले मात्रै काम गर्न सक्ने दाबी दुबैको छ ।
नेतृत्वका लागि चुनावी मैदानमा होमिएका दुबै अनुहार संघका लागि नयाँ भने होइनन् । यसभन्दा पहिले संघको जिम्मेवारीमा रहेका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सन्तोष खड्काले संघको नेतृत्व गर्ने अवसर नै पाए भने अर्का उपाध्यक्ष कृष्ण प्रसाद उपाध्याय बजगाईले संघमा नेतृत्वदायी भुमिकामा रहेर काम गर्ने अवसर नपाए पनि संघ अनि व्यापारीका विषयमा उनी नजिकबाट जानकार छन् । खड्का कार्यसमिति सदस्य हुँदै संघमा पुगेका हुन भने बजगाईले एकपटक उपाध्यक्षमा हार बेहोरेका थिए ।
दुबै जना व्यापारी हुन । खड्का व्यापारीसँगै ठेक्कापट्टाको काम गर्दै आएका छन् । बजगाई बजाज मोटरसाइकलको टीकापुरमा आधिकारिक बिक्रेता हुन । उनी जैमिनी अटोमोटिभ्स कम्पनी लिमिटेड प्रबन्धक हुन । उनको करोडौंको लगानिमा ओम कृष्ण अस्पताल समेत सञ्चालनमा छ । टीकापुरमा बजगाईले व्यवसायमा ठूलो लगानी गरेका छन् । छोटो समयमा आफुलाई अब्बल व्यवसायीको रुपमा स्थापित गरेका बजगाई र खड्का बीच चुनावी प्रतिस्पर्धा रोचक बन्ने अड्कल कैयौंले गरेका छन् ।
व्यापारीहरु वास्तविक व्यापारी संघको नेतृत्वमा जानुपर्ने अडानमा छन् । व्यापारीले मात्रै व्यापारीहरुका पीडा बुझ्ने भन्दै संघलाई व्यापारीको साझा संस्था हो भन्ने अनुभुती दिलाउन सक्ने नेतृत्वको खोजीमा छन् । “हामीले व्यापारीको पिर मर्का बुझ्ने, खस्किँदै गएको टीकापुरको व्यापारलाई माथी उठाउन सक्ने नेतृत्व चाहिएको छ ।” साइकल व्यापारी द्वारिका तिमिल्सिना भन्छन्, “संघले व्यापारीका पीडा सुनेको स्थिति छैन । संघको काम महोत्सव लगाउने बाहेक व्यापारी केन्द्रित हुन सकेन ।”
संघमा व्यापारी तथा व्यवसायी भन्दा पनि राजनीतिक आस्थाका आधारमा नेतृत्व चयन हुने परिपाटीको अन्त्य यसपटक पनि नहुने भएको छ । नेतृत्वका लागि देखिएका दुई प्यानललाई विभिन्न राजनीतिक दलहरूको समर्थन रहेको छ । त्यसमा नेपाली काँग्रेसले निर्वाचनका लागि छुट्टै टिम खडा गरेको छ । खड्का प्यानलका सबै उम्मेदवार नेपाली काँग्रेस सम्बद्ध देखिन्छन् । उनीहरूलाई जिताउनका लागि नेपाली काँग्रेस रणनीतिका साथ लागेको छ ।
बजगाईलाई अन्य दलको समर्थन छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलमा आस्था भएका व्यक्ति उम्मेदवार छन् । उल्लेखित दलहरु बजगाईको नेतृत्वको प्यानललाई विजयी गराउनका लागि लागि परेका छन् । त्यसले पनि निर्वाचनलाई बढी महत्त्व र रोचक रुपमा हेर्ने गरिएको छ ।
व्यवसायी भने दलगत रुपमा जसको आस्था जता भए पनि नेतृत्वमा रहँदा व्यवसायी मैत्री काम गर्ने उम्मेदवारलाई मतदान गर्ने मनसायमा छन् । विगतमा पनि फार्म दर्ता गरेर संघको नेतृत्वमै सिमित भएकाहरूबाट ठूलो पाठ सिकिएको स्थानीय सुनिता चौधरी भन्छन्, “जो आए पनि हुने त केहि होइन । तर पनि खास व्यापारीलाई चुनाव जिताए आफुले भोगेका समस्यालाई सम्बोधन गर्न भए पनि काम गर्छ कि भन्ने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *