संघीयता कार्यान्वयनमा अवसरभन्दा चुनौती बढी

शेयेर गर्नुहोस


टीकापुर १३ चैत /
नेपालको संघीयतामा अवसर र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका र नेपाल समाजशास्त्र संघको संयुक्त आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले संघीयताकै कारण विपन्न वर्ग नेतृत्वमा पुग्न सफल भएको बताएका छन् । “म सरकारको नेतृत्वमा छु । जुन अवसर संघीयताले नै दिएको हो ।” नगर प्रमुख थारुले भने, “अहिले विपन्न वर्ग नेतृत्व तहमा पुग्दा विरोधीहरुलाई पीडा भएपछि मात्रै संघीयता खतरामा परेको हो ।”
उनले नीति बनाउने राजनीतिक दल नै त्यसको कार्यान्वयनमा जिम्मेवार नभएपछि समस्या आएको बताए । “स्थानीय सरकार आज पनि नीति तथा कार्यक्रम बनाउँदा नागरिकहरूसँग योजना माग्छ । प्रदेश र संघीय सरकार कार्यकर्तासँग योजना माग्छ । अनि संघीयताको उलंघन कसले गर्दै आएको छ त्यसलाई बुझ्न कठिन छैन होला ।” नगर प्रमुख थारु भन्छन्, “समन्वय र सहकार्यको निकै अभाव छ । तिनै तहको सरकार आआफ्नो तरिकाले प्रस्तुत हुँदै गएको स्थितिमा एउटाले चाहेर संघीयताको कार्यान्वयन हुनसक्ने स्थिति रहँदैन ।”
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संघीयता कसलाई चाहिएको हो भन्ने नै अन्योलमा रहेको बताएका छन् । “संघीयता ब्याक्तीलाई चाहिएको हो वा कुनै नदी तथा भौगोलिक क्षेत्रका लागी हो ।” अध्यक्ष चौधरीले भने, “ब्याक्तीलाई हो भने त्यो अनुसारको संघीयताको कार्यान्वयन हुनुपर्छ । संघीयताको संरचना आवश्यकताको आधारमा हुनुपर्छ ।”
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले संघीयता नेपालको शासन प्रणाली नेपालका लागि नौलो अनुभव नै भएको बताएका छन् । उनले संघीयतालाई सुरु देखि नै कालो हो भन्ने मानसिकता नागरिकहरूमा पारिएको भन्दै त्यसको परिणाम अहिले देखिन थालेको बताएका छन् । निवर्तमान नगर प्रमुख रावलले संघीयताको कार्यान्वयन गर्ने कुरामा कमजोरी रहेको भन्दै राम्रा र नराम्रा कुराहरूलाई छुट्याउन नसक्दा पनि समस्या आएको बताएका छन् ।
कार्यक्रमको स्वागत गर्दै नेपाल समाजशास्त्र संघका महासचिव प्राध्यापक डा पासाङ शेर्पाले राजनीतिक निर्णयको आधारमा संघीयता आएको बताउँदै संघीयताका धेरै राम्रा पक्ष हुँदाहुँदै पनि नागरिकहरूमा वितृष्णा पैदा भएको बताएका छन् । कार्यक्रममा संघका उपाध्यक्ष प्राध्यापक विश्वकल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथीको टिप्पणीमा नागरिक अगुवा भिमराम चपाईले संघीयता आउँदा जुन खुसियाली मनाएका नागरिकहरु यस्तै अवस्थामा खारेज हुँदा पनि त्यस्तै खुसियाली मनाउने स्थिति आउनसक्ने बताएका छन् । उनले संघीयता सेवा प्रवाह क्षेत्रमा निकै कम्जोर सावित भएको बताउँदै विद्वानहरु मिलेर लुट्ने काम मात्रै भएको अभिव्यक्ति व्यक्त गरेका छन् ।
चपाईले जिन्दावाद र मुर्दावादका लागि मात्रै स्थापित भएको महसुस गर्नुपर्ने स्थिति आएको बताएका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेश योजना आयोगका सदस्य प्राध्यापक डा. जगतबहादुर सिंह रावलले २००७ सालपछिको परिवर्तन शान्ति र समृद्धिका लागि नै भएको बताउँदै त्यसको उपलब्धिको अनुभुती अझै हुन नसकेको बताएका छन् । उनले संघीयता विरोध गर्नेका लागि विरोध मात्रै भएको बताए । नेपाली काँग्रेसका टीकापुर नगरपालिका वडा नं. १ का वडा सभापति चक्रबहादुर बटालाले संघीयतामा सात प्रदेश नै अनावश्यक भएको बताएका छन् । उनले चित्त बुझाउनको लागि संघीयताको क्षेत्र निर्धारण गरिएको बताउँदै त्यसले नागरिकहरुलाई सम्पन्न बनाउन नसक्ने बताएका छन् ।
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष ध्रुव खत्रीले संघीयताले नागरिकलाई पिडामा पारेको बताएका छन् । उनले संघीयताले गरिबलाई झन गरिब हुँदै जाने तर धनी पोसाउँदै जाने काम भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिकक परियारले संघीयताले नागरिकहरुलाई एक ठाउँमा जोड्ने काम गरेको बताउँदै कार्यान्वयनमा देखिएको उल्झनले संघीयता खतरामा पर्दै गएको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगर अध्यक्ष जितबहादुर चौधरीले संघीयताले पिछडिएका समुदायको अधिकारलाई समेट्न नसकेको बताउँदै सबै बर्ग र समुदायको पक्षमा संघीयता फलदायी बन्न नसकेको बताएका छन् । नेपाल समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष बिरेन्द्र साउँदले संघीयता सिमित ब्याक्तीका लागि आए जस्तो भएको बताउँदै आफन्तवाद, नातावाद र कृपावाद हाबी भएको बताएका छन् । कार्यक्रममा बिरेन्द्र बिधा मन्दिर माध्यमिक बिधालयका प्राचार्य फणीन्द्रराज रेग्मी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिना, समाजसेवी भतर बिष्ट, कृषि बिज्ञ कृष्ण न्यौपाने लगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचीव जनक तिमिल्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *