शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २२ बैशाख /
कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क त्यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रिय रुपमा चिनएको छ । राज महेन्द्रले स्वास्थ्य लाभ गर्न त्यस क्षेत्रमा आएर राज्य संचालन गरेको ठाउँलाई पार्कको रुपमा स्थापित गर्नमा स्व खड्ग बहादुर सिंहको महत्त्वपूर्ण योगदान रहेको छ । वार्षिक एक लाख भन्दा बढी पर्यटकहरु अवलोकन तथा वनभोजका लागि टीकापुर पार्क आउने गरेका छन् । आन्तरिक मात्रै नभई बाह्य पर्यटकका लागि पनि निकै आकर्षण उत्तिकै छ । पार्क अवलोकन गर्न आउने पर्यटकबाट टीकापुर नगरपालिकाले वार्षिक ५० लाख भन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।
यतिबेला टीकापुर पार्क संरक्षणको अभावमा खंडहर जस्तै बनेको छ । कुनै बेला एक सय ४० प्रजातीका गुलाफ मात्रै पाइने पार्कमा अहिले गुलाफको फुल देख्न मुस्किल हुन थालेको छ । गार्डनहरु निकै उजाड छन् । बनेका संरचना मर्मतसम्भार नहुँदा जिर्ण बनेका छन् । “केही वर्ष पहिले टीकापुर पार्कमा आउने मौका मिलेको थियो । त्यो बेलाको र अहिलेको पार्कको अवस्था निकै फेरिएको रहेछ ।” धनगढीबाट पार्क घुम्न आएका बालकृष्ण ओझाले सरसफाइमा निकै लापरबाही देखिएको बताउनुभयो ।
उसो त पार्कमा १३ जना कर्मचारी कार्यरत छन् । त्यसको नेतृत्व गर्ने जिम्मा एक जना नायब सुब्बा स्तरको कर्मचारीलाई दिएइको छ । आज काम गर्ने जनशक्ति र हिजो पार्कमा काम गर्ने जनशक्ति उहीँ हो । हिजोको भन्दा यतिबेला पार्कको स्थिति निकै कुरुप बनेको छ । उसरी हेर्दा कर्मचारी परिचालन गर्ने पार्कको नेतृत्व जागरुक नहुँदा कर्मचारीले काम गर्न छोडेको बुझ्न कठिन छैन । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमका १० जना कर्मचारीहरु करिब डेढ महिनादेखि पार्कमा कार्यरत छन् । पार्कमा पुगेका पर्यटक पहिलाको जस्तो खुशी भएर फर्कने स्थिति नरहेको पार्कमा भेटिएका टीकापुरमा नन्दसिंह विक बताउनुहुँन्छ ।
पार्कको वनभोज स्थलको हालत पनि उस्तै छ । वनभोज स्थलमा भएको सार्वजनिक शौचालयको ताला कहिल्यै खुल्दैन । पार्क स्थापना भएदेखि सञ्चालनमा रहेको एउटै पानी ट्याङ्कीले त्यो वनभोज स्थलमा पुगेका पर्यटकहरुको प्यास मेटाइरहेको छ । खानेपानीको व्यवस्थापन अझै हुन सकेको छैन । “पार्क स्थापना भएदेखिको सबै गतिविधि मैले नजिकबाट हेरेको छु । निकै संघर्षका बाबजुद टीकापुर पार्क स्थापना भएको हो ।” स्थानीय समाजसेवी नरबहादुर रावल बताउनुहुँन्छ, “विगत केही वर्षदेखि पार्कको विकासका लागि कोहि जागरुक देखिएका छैनन् । पार्कको अस्तित्वले टीकापुरको अस्तित्व जोगाएको कुरा बिर्सनु हुँदैन ।”
पार्कभित्र दुईवटा विश्राम गृह छन् । विरेन्द्र विश्राम गृह र महेन्द्र विश्राम गृह । विरेन्द्र विश्राम गृहको मर्मतसम्भार गरेको भएपनि महेन्द्र विश्राम गृहको अवस्था नाजुक छ पार्कका इन्चार्ज अर्जुन कुँवर पार्क कुरुप भएको कुरा स्वीकार गर्न चाहनुहुँदैन । “हामीले सक्ने जति गर्ने हो । त्यो गरिरहेका छौं । तपाईले भनेजस्तै पार्क खंडहर भएको छैन ।” कुँवरले भन्नुभयो, ” पार्कमा जनशक्ति कम भएकै कारण काम हुन सकेको छैन । एक्लै चाहेर कति काम सम्भव होला र ?” उहाँले पार्कको विषयमा कर्मचारीलाई भन्दा जनप्रतिनिधिलाई प्रश्न गर्न पनि आग्रह गर्नुभयो । निर्देशन दिएको काम आफुहरुले गर्ने भन्दै कुँवरले कर्मचारीहरुको काम काम गर्ने भएको र त्यसको अन्य कुरा जनप्रतिनिधिलाई सोध्न भन्नुभयो ।
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले एक्लै नगर प्रमुखले चाहेर टीकापुर पार्कको सुन्दरता कायम गर्न नसकिने बताउनुभएको छ । उहाँले पार्कको अस्तित्व जोगाउनका लागि सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने भन्नुभयो । “हामीले त्यहाँ गएर काम गर्ने होइन । त्यहाँ कर्मचारी परिचालन गरेर काम गर्ने हो ।” नगर प्रमुख थारु भन्नुहुन्छ, “तपाइँलाई थाहा छ, कर्मचारी परिचालन भएका छन् । अब काम गरिदिदैँनन त म एक्लैले के गरु ?” उहाँले कर्मचारीहरुलाई पटकपटक निर्देशन दिँदा पनि कामबाट सन्तुष्ट मिल्ने स्थिति नरहेको बताउनुभयो ।
त्यसैगरी पार्कको गौरवको रुपमा प्रवेशद्वार निर्माण पनि गरिएको छ । प्रवेशद्वार निर्माण भएर हस्तान्तरण भएको पनि एक वर्ष भन्दा बढी समय भैसकेको छ । त्यस प्रवेशद्वारको दुई भागमा टिकट काउन्टर बनाइएको छ । जुन काउन्टर नयाँ वर्षको दुई दिन सञ्चालनमा आएर पुनः बन्द भएको छ । नयाँ टिकट काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाउन सकिए राजस्व चुहावटमा कमि आउने भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । पार्क इन्चार्ज कुँवर जनशक्ति नभएकै कारण नयाँ काउन्टर प्रयोगमा ल्याउन नसकिएको बताउनुहुँन्छ । उहाँले जनशक्ति व्यवस्थापन भए नयाँ काउन्टर सञ्चालनमा ल्याउन समस्या नभएको बताउँदै अहिले नयाँ काउन्टरबाट टिकट वितरण गर्दा पार्क घुम्न आउने पर्यटकहरु अलमलमा पर्ने गरेको बताउनुभयो ।
स्थानीय स्तरमा पनि पार्कको विषयमा विभिन्न प्रश्न उठ्न थालेका छन् । अहिलेको नगरपालिकाको नयाँ नेतृत्वले स्थानीय तहको निर्वाचनमा टीकापुर पार्कलाई व्यवस्थित गर्दै निजि क्षेत्रलाई ठेक्कामा दिने कुरा पनि उठेको थियो । अहिले टीकापुर पार्कका लागि जनप्रतिनिधिहरु पनि सम्पर्क विहिन जस्तै बनेको स्थानीयको गुनासो छ ।