भौतिस संरचना मात्रै विकास होइन : न्यौपाने

शेयेर गर्नुहोस

टीकापुर २२ बैशाख //
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य इस्वरी न्यौपानेले भौतिक संरचनाको विकास मात्रै विकास नहुने बताएकी छन् ।
सामुदायिक रेडियो टीकापुर एफएमको सातौं साधारणसभाको उद्घाटन गर्दै न्यौपानेले कुनै सम्भावनालाई स्थापित गर्न सके भौतिक संरचनागत विकास आफै हुने बताएकी हुन । “टीकापुर संरचनागत रुपमा निकै सुन्दर छ । त्यो सुन्दरतामा फुलबुट्टा भर्न हाम्रो एकता र सहकार्यको अभाव देखेकी छु ।” प्रतिनिधि सभा सदस्य न्यौपानेले भनिन्, “चुनावमा जो जता भएपनि समग्र क्षेत्रको विकासका लागि हाम्रो एकता नहुँदा समस्या देखिएको हो ।एउटा सडक र एउटा पुल निर्माण गरेर हामीले कल्पना गरेको टीकापुर बन्न सक्दैन ।”
उनले पटकपटक टीकापुर घटनाको घाउ कोट्याएर बल्झाउने काम मात्रै गरेको बताइन् । “चुनौतीका बाबजुद ठूलो सपना हाम्रा अगाडि छ । तर अहिले टीकापुरमा स्थापित हुनेभन्दा विस्थापित हुनेको संख्या बढेको छ ।” न्यौपानेले भनिन्, “हामीले विस्थापितलाई निरुत्साहित गरेर स्थापित गराउन खोज्ने हो । आज त्यहीँ एउटा घटनालाई पटकपटक कोट्याएर बल्झाउने काम हुँदै आएको छ । परिवर्तनको समयमा हुने यस्ता घटनालाई राजनीतिक ढंगबाट समाधान गरिनुपर्छ ।” उनले टीकापुरको संयुक्त एउटा साझा आवाज बन्न नसकेसम्म कुनै कुरा सम्भव नहुने बताइन् ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अबको पत्रकारिता खोजमुलक नभए अस्तित्व समाप्त हुनसक्ने स्थिति आएको बताएका छन् । उनले अनलाइन प्रणालीलाई सशक्त र विश्वासिलो बनाएर पाठक र श्रोताको माझमा प्रस्तुत हुनुपर्ने समय आएको बताए । अध्यक्ष चौधरीले निहित स्वार्थको लागि स्थापना भएका सामुदायिक रेडियो सामुदायिक बन्न नसकेको टिप्पणी गरे । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले टीकापुर सामुदायिक रेडियो देशको उदाहरणको रुपमा रहेको बताएका छन् । उनले टीकापुरको जस्तो सभ्य पत्रकारिता पनि अन्य कुनै क्षेत्रमा नभएको बताए । “अन्य कयौं क्षेत्रमा भाड्ने, स्वार्थ परक पत्रकारिता हुँदै आएकोमा टीकापुरको पत्रकारिता जोड्नेमा लागिपरेको छ , उनी बताउँछन् ।
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले सामाजिक सरोकारका विषयमा पत्रकारलाई अनुदार भएर कलम चलाउन आग्रह गरेका छन् । उनले सामुदायिक रेडियो टीकापुर एफएम टीकापुरको धरोहर भएको बताउँदै एफएमले आगामी दिनमा कसै प्रति अनुदार भएर काम गर्नुपर्ने बताएका छन् । टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले सामाजिक सञ्जालका कारण अहिलेको पत्रकारिता ओझेलमा परेको बताउँदै सामाजिक सञ्जालमा फैलाइएका अफवाहहरुलाई चिरेर सत्य कुरा पाठक तथा श्रोताको माझमा ल्याउने काम पत्रकारले गर्नुपर्ने बतएका छन् ।
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष ध्रुव खत्रीले सार्वजनिक महत्त्वको विषयमा कलम चलाउन टीकापुरका मिडिया चुकेको गुनासो गरेका छन् । उनले सम्भावित क्षेत्रहरुको विकासका लागि बहसको पैरवी पत्रकारले गर्न जरुरी देखिएको बताएका छन् । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारीले पत्रकारले सबै सार्वजनिक सरोकारका विषयमा प्रतिपक्षी भएर भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले टीकापुर अस्पतालको विकासमा सबै टीकापुरबासीको सहयोगको अपेक्षा समेत गरेको बताए । नागरिक अगुवा भिमराम चपाईले सुशासन र पार्दशिताको विषयमा रेडियोले भुमिका निकै महत्त्वपूर्ण खेलेको बताएका छन् ।
सामुदायिक रेडियोका अध्यक्ष रंगप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सामाजिक ब्याक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । रेडियो संचालक समिती सदस्य कमला केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्टेसन म्यानेजर एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।
सातौं साधारणसभाले सामुदायिक रेडियोको संचालक समितिको अध्यक्षमा पुनः रंगप्रसाद अधिकारी चयन भएका छन् । सभाले संचालक समितिको अध्यक्षमा अधिकारीलाई आगामी दुई वर्षका लागि चयन गरेको हो । अधिकारी टीकापुरस्थित कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष हुन् । निर्वाचन अधिकृत मातृकाप्रसाद तिमिल्सेनाले दिएको जानकारी अनुसार टीकापुर साना सहरी टीकापुर खानेपानी कैलालीका विश्राम चौधरी, टीकापुर उद्योग वाणिज्य संघका नवराज रिमाल, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष सूर्या भट्टराई, बौनियाँ बजार व्यवस्थापन समितिका बालकुमारी सुनार, मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्रका कमला केसी र भानु सामुदायिक पुस्तकालयका सन्तोष नेपाली सञ्चालक समितिको सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
सामुदायिक रेडियोमा विभिन्न १७ वटा संस्थागत सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *