संसद विघटनको बिरोधमा के बोले टीकापुरमा नेताले

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर १३ पौष /
संसद विघटनविरुद्ध नेपाली काँग्रेसले सोमबार देशैभर बिरोध प्रदर्शन गरेको छ ।
संसद विघटनको बिरोधमा काँग्रेसले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध सभाको आयोजना गरेको हो । यसैक्रममा काँग्रेस कैलाली क्षेत्र नं. १ को आयोजनामा टीकापुरमा विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस पूर्व केन्द्रीय सदस्य एवम् पूर्व ऊर्जा राज्यमन्त्री चन्द्रसिँह भट्टराईले लोकतन्त्रको रक्षार्थ काँग्रेस सडकमा आएको बताएका छन् । उनले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका छन् । ‘प्रतिगमनकारी शक्तिहरुलाई प्रोत्साहन गर्ने काम केपी ओली नेतृत्व सरकारले गर्दै आएको छ । शान्ति र सम्बृद्धिको साटो देशमा अशान्ति भएको छ ।’ भट्टराईले भने, ‘संसद विघटन हुँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो । तर, मन्त्री परिषद गठन हुँदैछ । यसले पनि केपी ओलीको मनमा खोट छ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।’ उनले मध्यावधि निर्वाचनको कुरा पनि एक नाटक मात्रै हुन सक्ने भन्दै ओलीले देशमा संकटकाल लगाउन सक्ने सम्भावना देखिएकोले काँग्रेस सचेत हुनुपर्ने बताएका छन् ।
सोही सभामा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले राष्ट्रपतिले प्रधानमन्त्रीको गैरसंवैधानिक कदममा साथ दिएर पदीय गरिमाको खिल्ली उडाएको बताएका छन् । उनले प्रधानमन्त्रीको गैरसंवैधानिक कदमलाई काँग्रेसले सडकबाटै परास्त गर्ने दावी गरेका छन् । ‘नेकपालाई पाँच वर्ष शासन गर्न जनताले जनमत दिएको थियो । तर, नेकपाले जनतालाई धोकाभन्दा अरु केही दिन सकेन ।’ नेता रावलले भने, ‘बहुमतबाट जे पनि गर्न पाउँछु भन्ने मनस्थिति नेकपामा छ भने त्यो मनस्थिति परिवर्तन गर्दा हुन्छ । काँग्रेस गलत प्रबृत्तिका बिरुद्ध सडकमा छ र हुनेछ ।’
सात दशक लगाएर आएको संविधान ओलीले धुजाधुजा बनाएको बताउँदै गद्दारहरुलाई कसैले पनि साथ दिन नहुने उनको तर्क छ । कोण सभामा नेपाली काँग्रेसका केन्द्रीय संगठित महाधिवेशन सदस्य फकिरसिंह कडायतले नेपालको संविधानमा उल्लेख नै नभएको काम नेकपाको नेतृत्व गर्दै आएका प्रधानमन्त्री ओलीले गरेको बताउँदै उक्त कदम नेपाली जनता र नेपाली काँँग्रेसका सह्य नभएको बताएका छन् । ‘गलत कदमका विरुद्ध हामी आज मात्र होइन भोलि पनि सडकमा आउनु पर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।’ कडायतले भने, ‘अहिले नेकपाभित्रको अन्तरद्वन्द्वकै कारण बाह्य शक्तिको चहलपहल बढ्दै गएको अवस्थामा झन् काँग्रेस चनाखो हुनुपर्ने बेला आएको छ ।’
पूर्व संविधान सभा सदस्य बुद्धिसागर चौधरीले संसद विघटन शतप्रतिशत अवैधानिक कदम भएको बताउँदै आफू सत्तामा रहनकै लागि ओलीले संसद विघटन गरेको बताएका छन् । ‘अविश्वासको प्रस्ताव पेश भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई फेस गर्न सक्नुपथ्र्यो ।’ चोधरीले भने, ‘ओलीले चोर बाटो अपनाएर आफ्नो सत्तालाई जोगाउनकै लागि संसद विघटन गरिएको हो । त्यसको पुनःस्थापनाको लागि नेपाली काँग्रेस जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्छ ।’
कार्यक्रममा पूर्व साँसद गंगाबहादुर कुँवरले जनताको दुई तिहाइको जनमत पाएको नेकपा सरकारले दुई तिहाइको धोती लगाएको आरोप लगाएका छन् । उनले संसद विघटनको जिम्मा ओली–प्रचण्डले मात्र नलिई सिङ्गो नेकपाले लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसबाट समानु–पातिकतर्फकी सुदूरपश्चिम प्रदेश साँसद उमादेवी बादीले सरकारको असंवैधानिक कदमका बिरुद्धमा नेपाली काँग्रेस सडकमा आउनु परेको बताएकी छन् । उनले ठूलो बलिदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रभन्दा पनि ओलीतन्त्र हावी भएको भन्दै त्यसलाई जुनसुकै हालतमा पनि परास्त गर्न नेपाली काँग्रेस तयार रहेको बताएकी छन् ।
उनले जुनसुकै अवस्थामा पनि संसद पुनस्थापना हुने र अदालतले जनताको पक्षमा वकालत गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कोण सभा कार्यक्रमको सञ्चालन शुभनाथ देवकोटाले गरेका थिए । बिरोध सभामा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *