शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०९ चैत/
विकासका सवालमा बहस चल्दा सधै चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरेपनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ ।
विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमानस्थल । त्यतिमात्र होइन, राजनीतिक दलका नेताहरूलाई नागरिकहरूका अगाडि भजाई खाने माध्यम बनेको छ । विशेषगरी निर्वाचनमा समयमा विमानस्थललाई मैले यति बजेट विनियोजन गर्न लगाए, मैले चाहे विमानस्थल केही महिनामै सञ्चालन हुन्छ । मेरो मुख्य एजेण्डा नै विमानस्थल सञ्चालन हो । यी सबै नागरिकसामु गरेका अकाल्पनिक झुट सावित भएको स्थानीय लक्ष्मण विक बताउनुहुँन्छ ।
गत आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड बजेट विनियोजन गरेको भने पनि अहिले त्यो यथार्थ नभएको तथ्य खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन हुन नसक्ने बताएको छ । प्राधिकरणका इन्जिनियर सत्य राम दुवालले टीकापुर विमानस्थलको नाममा अहिलेसम्म कुनै बजेट विनियोजन नभएको बताउनुभयो ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एकाएक डोजर विमानस्थलमा देखिएपछि त्यसको विरोध समेत भएको थियो । “टीकापुर विमानस्थलका लागि भनेर कुनै बजेट थिएन । देशभरका विमानस्थलको मर्मतसम्भारका लागि बजेट थियो । त्यसमध्ये केही बजेट विमानस्थलमा खर्च भएको थियो ।” इन्जिनियर दुवाल भन्नुहुन्छ, “कसैले विमानस्थलका सञ्चालनका लागि शिर्षकमै बजेट विनियोजन गरेको भन्ने भ्रम सिर्जना गरेको भए त्यो गलत थियो ।”
उहाँले विमानस्थलको ग्राभेलको काम र भवन रंगरोगनका लागि एक लाख खर्च भएको बताउनुभयो। त्यस्तै चालू आर्थिक वर्षमा पनि विमानस्थलका लागि कुनै बजेट छैन । “एकमुष्ट विमानस्थलको मर्मतसम्भारको लागि बजेट छ । त्यसमा टीकापुर विमानस्थल पनि परेको होला । नभए विमानस्थलको लागि छुट्टै बजेट छैन ।” दुवालले भन्नुभयो, “बाहिर आउने कुराहरूको विषयमा हामीलाई कुनै कुरा थाहा भएन ।”
अतिक्रमणमा परेको विमानस्थल खाली भएपछि त्यसको मर्मतसम्भार गरेर नागरिक उड्डयन प्राधिकरणका पुर्व वरिष्ठ अधिकृत योगेन्द्र राज शर्माले सानो ट्युनिटर जहाज परिक्षण गराएका गराउनुभएको थियो । त्यो नै टीकापुर विमानस्थलका लागि अन्तिम जहाज अवतरण भयो । अब त्यो क्षेत्रमा विमान अवतरण हुने सम्भावना निकै कम भएको वरिष्ठ अधिकृत शर्मा बताउनुहुँन्छ । “उसो त टीकापुरमै विमानस्थल सञ्चालन हुनेमा निकै कम सम्भावना छ । त्यसमा पनि अहिलेको स्थानमा विमानस्थल सञ्चालन हुने सम्भावना नै छैन ।” शर्माले भन्नुभयो, “जुन खड्ग स्मृति रंगशालाको जग्गालाई विमानस्थल बनाउने कुरा छ, त्यहाँ सम्भावना छ ।”
उहाँले विमानस्थल सञ्चालनका लागि टीकापुरको स्थानीय सरकार, राजनीतिक दल, नागरिक अगुवाको साझा धारणाका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । “एउटा आउँछ, विमानस्थल यस्तो चाहियो भन्छ । अर्को आउँछ उसले पुरानो ठाउँमा विमानस्थल सार्नुपर्ने भन्छ । आपसमै कुरा मिल्दैन भने कसरी विमानस्थल बन्छ ।” शर्मा भन्नुहुन्छ, “सबैको समान धारणा बनाएर प्रस्तावित ठाउँमा विमानस्थल सञ्चालनका लागि दबाब दिन सकेपछि मात्रै सम्भावना देखिन्छ ।”
२०७४ सालको स्थानीय तहको निर्वाचन पछि विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पनि धेरैपटक संघ सरकारसँग आग्रह गरेको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु बताउनुहुँन्छ । “विमानस्थल सञ्चालन हुनुपर्छ भनेर पटकपटक संघीय सरकारसँग माग गर्दै आएका छौं । सरकारले पनि सकारात्मक प्रतिक्रिया दिएको हुन्छ ।” नगर प्रमुख थारुले भन्नुभयो, “हामीलाई भन्दा एक कार्यान्वयन गर्दा अर्को गरेको हो भने त्यो गम्भीर समिक्षाको विषय बन्न सक्छ । नभए विमानस्थल सञ्चालनम आउँछ र आउनुपर्छ ।” उहाँले पुरानो विमानस्थल सञ्चालन हुने स्थिति नभए नयाँ ठाउँमा काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
३०७६ सालमा टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको टीकापुर महोत्सवमा पनि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईलाई टीकापुर विमानस्थल सञ्चालनको एक सुत्रीय माग राखेको थियो । त्यसपछि विमानस्थलको स्थलगत निरीक्षण तथा अध्ययन समितीले तीन पटक विमानस्थलको अध्ययन गरेको छ । त्यो अध्ययनको प्रतिवेदन भने अझै सार्वजनिक हुन सकेको छैन ।