शेयेर गर्नुहोस
टीकापुर २८ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले समाजलाई रुपान्तरण सहित समृद्धिको दिशामा डोर्याउनका लागि टोल विकास संस्था महत्त्वपूर्ण हुने बताएका छन् ।
वडाको आयोजनामा सुरु भएको छोराछोरी बीचको विभेद लगायत गलत प्रवृत्ति निरुत्साहित सहितको जनचेतनामूलक सडक नाटक तथा हस्ताक्षर संकलन कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष विकले पछिल्लो समय टोल विकास संस्थाको भुमिका महत्त्वपूर्ण बन्दै गएको बताएका हुन । “समाजलाई कस्तो बनाउने भन्ने कुरा अब टोल विकास संस्थाको हातमा छ ।” उनले भने, “हामी पनि टोल विकास संस्था मार्फत समाजलाई समृद्धिको दिशामा अगाडि बढाउने प्रयत्न गरिरहेका छौं ।”
वडा अध्यक्ष विकले सामाजिक विभेद, बालविवाह, लागुऔषध दुर्व्यसनी, लैङ्गिक विभेद अन्त्यका लागि टोल विकास संस्थाले भुमिका खेल्नुपर्ने बताए । “आज पनि समाजमा विभेद अनि बालविवाहका घटना व्याप्त छन् । त्यसलाई रोक्नको लागि विगतका भन्दा फरक ढंगबाट प्रस्तुत भएका पनि छौँ ।” उनले भने, “नाटकको माध्यमबाट समाजलाई सुन्दर बनाउने संकल्प हामीले लिएका छौँ ।”
सिर्जनशील युवा समाज नेपालको समन्वयमा भएको उक्त कार्यक्रम वडा नं.१ का १० स्थानमा सम्पन्न गरिएको छ । खासगरी बालविवाह र लैङ्गिक विभेदको बढी जोखिम रहेको सुकुम्बासी शिविर, नयाँ वस्ती, बनगाउँको सरस्वती माद्यामिक बिधालय, कृषि हाट बजार तथा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागितामा सम्पन्न भएको हो । नाटक सहित बालविवाह र छोराछोरी बीचको विभेद गर्ने छैन भन्दै प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम पनि गरिएको थियो ।
नाटकले बालविवाह, छोराछोरी बीचको विभेदसँगै लागुऔषध दुर्व्यसनीका कारण हुन सक्ने क्षति र त्यसबाट बच्नको लागि अपनाउनु पर्ने भुमिकाको बारेमा सन्देश प्रवाह गरिएको सिर्जनशील युवा समाज नेपालका सचीव राजेन्द्र विश्वकर्माले बताएका छन् । “नाटक कुनै व्यक्तिको वास्तविक घटनासँग जोडिएको हुने अनि धेरैको सहभागितामा कार्यक्रम गर्न सकिनुका साथै सन्देश प्रवाहको लागि महत्त्वपूर्ण हुने भएका कारण पनि सधै अर्थपूर्ण बन्दै आएको छ ।” उनले भने, “समाजलाई सचेत बनाउने र गलत प्रवृत्तिको अन्त्यका लागि कम बजेटमा धेरै प्रभावकारी बन्ने नाटक नै हो ।”
सडक नाटकमा झण्डै पाँच हजारले प्रत्यक्ष ज्ञान हासिल गरेको उनको भनाई छ् ।