शेयेर गर्नुहोस
टीकापुर १६ कार्तिक /
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिल तथा कानुन मन्त्री डा. रणबहादुर रावलले टीकापुर सुदुरपश्चिम प्रदेशको महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै कृषि र पर्यटन क्षेत्रको विकासले टीकापुरलाई समुन्नत बनाउन सकिने बताएका छन् ।
कैलाली क्षेत्र नं. १ प्रदेश “ख” बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका डा. रावलले प्रदेश सरकारको प्रतिपक्षीमा रहँदा पनि टीकापुर क्षेत्रको हरेक क्षेत्रको विकासमा आफ्नो भुमिका रहेको बताएका छन् । “म टीकापुरको भविष्य प्रती निकै चिन्तित छु । टीकापुरलाई बनाउनका लागि हामी सबैको भुमिका सकारात्मक हुन जरुरी छ ।” डा. रावलले भन्नुभयो, “एउटैले चाहेर टीकापुर बनाउन सकिँदैन । हामी भित्रमा आक्रोश र कुण्ठाला त्यागेर रचनात्मक भुमिकामा विकासका कुरामा एक ठाँउमा उभिन सके विकास भन्ने कुरा टाढाको कुरा होइन ।”
उनले प्रदेश सरकारको प्रतिपक्षीमा भएर पनि टीकापुर क्षेत्रको विकासका लागि संघ प्रदेश सरकारसँग निरन्तर सम्पर्कमा रहेको दाबी गरेका छन् । “हामी चार वर्ष सरकार बाहिर रहेर पनि त्यो बेला भएको टीकापुर क्षेत्रको विकासलाई यहाँका जनताले राम्रोसँग मुल्यांकन गरेका छन् ।” डा. रावलले भने, “अहिले सरकारमा छौं । चालू आर्थिक वर्षमा टीकापुर क्षेत्रको विकासका लागि प्रदेशबाट विनियोजन भएको बजेटले यस क्षेत्रको विकासमा झन टेवा पुग्नेमा म विश्वस्त छु ।”
उनले निर्वाचनको समयमा चुनाव जित्नको लागि जस्ले जेसुकै प्रोपोगन्डा अपनाए पनि स्थानीय तहको नेतृत्व गरिरहँदा उनीहरुको वास्तविकता जनताले राम्रोसँग बुझेको बताएका छन् । डा. रावलले अहिलेको निर्वाचनले कैलाली क्षेत्र नं. १ ले सक्षम र प्रदेशको नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई चुन्नेमा आफू विश्वस्त भएको बताउँदै अवसरलाई गुमाउँदा त्यसको असर दश वर्ष पछाडिसम्म पर्ने बताएका छन् ।
रावलले टीकापुर मात्रै नभई सुदुरपश्चिम प्रदेश थुप्रै सम्भावना भएको प्रदेश भएको बताएका छन् । रावलले कृषि, पर्यटन लगायतका क्षेत्रबाट सुदुरपश्चिम प्रदेशलाई समृद्धिसँग जोड्न सकिने बताउँदै त्यसका लागि सबैको सकारात्मक भुमिका आवश्यक भएको बताएका छन् । “हामिसँग धेरै सम्भावना छन् । ती सम्भावनाहरुलाई सहि सदुपयोग गरि त्यसबाट लाभ लिन मात्रै सकिराखेका छैनौं ।” डा. रावलले भने, “अब हामिले त्यसमा ढिला गर्नुहुँदैन । चार वर्ष प्रतिपक्षीमा रहेर पनि हामिले प्रदेशको विकासका लागि सधै आवाज उठाएको कुरा सबैलाई जगजाहेर नै भएको कुरा हो ।”