सरकारको काम छानबिन र निर्वाचन गराउने हो : रावल

शेयेर गर्नुहोस

टीकापुर २२ मंसिर/
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्व उपप्रधानमन्त्री डा भीमबहादुर रावलले वर्तमान अन्तरिम सरकारको काम निर्वाचन सम्पन्न गराउने रहेको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ ले टीकापुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका डा रावलले भदौ २३ र २४ गतेको घटनाको वास्तविक छानबिन गरेर दोषीलाई कारबाही गर्न र निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन काम वर्तमान अन्तरिम सरकारको रहेको बताएका हुन । “भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन भएर संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्छ ।” उनले भने, “देशका न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लगायत संरचनामा आगजनी गर्नेलाई दण्डित गर्दै तोकिएकै समयमा निर्वाचन गर्नु वर्तमान सरकारको प्रमुख कर्तव्य हो ।” सिंहदरबारलाई राष्ट्रको।स्वाधीनतासँग जोड्दै रावलले त्यस्ता गतिविधिमा संलग्नलाई हदैसम्मको दण्ड दिइनुपर्ने बताए ।
झण्डै दुई तिहाइको सरकारको नेतृत्व गरिरहँदा संसद विघटन गरेर निर्वाचनको मिति तोक्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै दम्भका कारण देश खरानी भएको उल्लेख गर्दै रावलले अहिले पुनः संसद पुनःस्थापनाको नारा लगाउनुको कुनै तुक नहुने बताएका छन् । “हिजो दुईपटक संसद विघटन गर्नेहरु आज संसद पुनःस्थापनाको माग गरिरहेका छन् ।” उनले भने, “ओलीकै यो दम्भले तत्कालीन नेकपा विभाजन भएको साचो कुरा हो ।”
रावलले देशको पछिल्लो परिस्थितिमा युवाहरू देशमा बस्न नचाहिरहेको उल्लेख गर्दै त्यसलाई आशामा परिणत गरेर खण्डहर बन्दै गएका कृषि योग्य जमिनमा हरियाली ल्याउने शक्ति आवश्यक रहेको बताएका छन् । अबका दिनमा कुनै पनि हालतमा विभाजन शब्द कसैले सुन्न समेत नहुने भन्दै नेता रावलले विगतको टुटफुटको इतिहासलाई हेरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले देशको आवश्यकतालाई मध्यनजर राख्दै कम्युनिस्ट पार्टीको एकतालाई बलियो बनाउन लागिएको बताए ।
“अब यहाँ कोहि माओवादी अनि कोहि समाजवादी रहेनन् । सबै नेपाली कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ता भएका छन् । ” उनले भने, “अब यसलाई जीवन्त राख्नको लागि तपाई हामी एकताबद्ध भएर अगाडि बढ्नुको अर्को विकल्प छैन ।” देशको समृद्धिका लागि नेपाली।कम्युनिस्ट पार्टी चाहिएको उल्लेख गर्दै विगतका सबै रंग छोडेर नयाँ रंगका साथ अगाडि बढ्न सबैलाई निर्देशन दिएका छन् ।
पार्टीका केन्द्रिय सदस्य नेप बहादुर चौधरी सिंहराजले विभिन्न राजनीतिक शक्ति मिलेर बनेको कम्युनिस्ट पार्टी देशको पहिलो पार्टी हुने जिकिर गरेका छन् । उनले वर्तमान देशको संकटलाई समाधान गर्दै समाजवादलाई स्थापित गर्नका लागि वृहत् कम्युनिस्ट एकता भएको उल्लेख गरे । उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई निरन्तर अगाडि बढाइरहँदा राष्ट्रलाई संकट परेको अवस्थामा देशव्यापी रुपमा छाएको निराशालाई चिर्नका लागि एउटा निकास दिने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।
“अब जनतामा भएको निराशालाई चिर्दै अगाडि बढ्नु नेपाली कम्युनिस्ट पार्टीको दायित्व हो । त्यो दायित्वबाट विमुख हुने छुट अब कसैलाई छैन ।” उनले भने, “राष्ट्र र राष्ट्रियतालाई जोगाउनु अहिलेको आवश्यकता हो । त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने छ र हामी सबैको त्यसमा हातेमालो रहनेछ ।”
नेता चौधरीले युवाहरूले सञ्चालन गरेको आन्दोलन पश्चात् दलहरु आत्मसमिक्षा गर्न बाध्य भएको बतौँदै यसलाई सुधार गर्ने मौकाको रुपमा लिएर सुधारको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । “अब विगतको जस्तो तरिकाले देश अनि जनताको माझमा गएर केही हुनेछैन । योजनाबद्ध रुपमा देशको आगामी कार्यदिशा अनि योजनाका साथ जनताको माझमा हामी पुग्नुपर्छ ।” उनले भने, “जनताले खोजिरहेको परिवर्तनको साक्षी हामी बन्नुपर्छ ।”
पार्टीका केन्द्रिय सदस्य गिता सोडारीले देश विषम परिस्थितिमा रहेका बेला त्यो संकटलाई समाधान गर्दै समाजवादको नारालाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीको जन्म भएको बताइन् । उनले जेनजी आन्दोलनले पार्टी एकतामा बल पुर्याएको बताउँदै त्यसलाई युवाको चाहना अनि देशको आवश्यकतालाई अनुसरण गरेर अगाडि बढ्नुको विकल्प नभएको बताइन ।
ओजारीलाल चौधरीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता सुरेन्द्र देउकरले गरेका थिए भने सञ्चालन रंगप्रसाद अधिकारीले गरेका थिए । सोही अवसरमा भजनी नगरपालिका वडा नं.८ का नेकपा एमालेका निवर्तमान सहसचिव धर्मराज तिमिल्सिना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *