सरुवा रोग अनुसन्धानको भवनमा चरम लापरबाही

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ जेठ/

टीकापुर अस्पतालको परिसर भित्र सुदुरपश्चिम प्रदेशको बहुवर्षिय योजना अन्तर्गत सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माण भैरहेको छ ।
केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले शिलान्यास गरेको भवनको काम यतिबेला सुरु भएको हो । गत आर्थिक वर्षमा नै सुरु हुनुपर्ने सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन कोरोना संक्रमणका कारण भएको बन्दा बन्दीले सुरु हुन सकेन । यसपटक पनि ढिलो गरि सुरु भएको भवनमा निर्माण कम्पनीको चरम लापरबाही देखिएको छ । यतिबेला भवन निर्माणको जिम्मा पाएको रोयल पवन जेभीले जगको ढलानको काम गर्दै आएको छ । भवनको जग ढलानमा प्रदेशको सामाजिक विकास मन्त्रालयको स्टिमेटमा ओपिसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । तर निर्माण कम्पनी पिपिसी सिमेन्ट प्रयोग गरेको पाइएको छ ।
भवन निर्माणको काम गर्दै आएका एक जनाले नाम उल्लेख नगर्ने सर्तमा केही बोरा पिपिसी सिमेन्ट प्रयोग भएको बताए । उनले सुरुमा केही बोरा सिमेन्ट पिपिसी र ओपिसी मिक्स सिमेन्ट प्रयोग भएको बताएका छन् । “धेरै प्रयोग भएको छैन । एक दिन केही बोरा पिपिसी सिमेन्ट ओपिसीसँगै मिक्स गरेर प्रयोग भएको थियो । अहिले भने प्रयोग भएको छैन ।” उनले भने, “किन पिपिसी प्रयोग भयो, किन बन्द भयो थाहा भएन । हामी काम गर्ने मान्छे हौं , जस्तो निर्देशन आयो त्यस्तै काम गर्ने हो ।” रोयल पवन जेभीले अस्पतालको हाताभित्र गोदाम बनाएको छ । कम्पनीको गोदाममा तीन सय २० बोरा पिपिसी सिमेन्ट छ । गोदामको आधा भागमा पिपिसी सिमेन्ट मात्रै राखिएको छ । भवन निर्माणका क्रमममा कुनै पनि ठाउँमा पिपिसी सिमेन्ट प्रयोग गर्ने कुरा उल्लेख नभएको।निर्माण कम्पनी आफै बताउँछ । साथै निर्माण कम्पनीले पिपिसी सिमेन्ट प्रयोग नभएको दाबी समेत गरेको छ । पिपिसी सिमेन्ट किन राखिएको हो भन्ने प्रश्नमा रोयल पवन जेभिका सञ्चालक सिद्धराज भट्टले भवनको बाहिरी घेरा पर्खाल निर्माण हुने र त्यसमा प्रयोगका लागि ल्याएको बताए । “भवन निर्माण सँगै घेरा पर्खाल निर्माणको काम पनि छ । त्यहीँ घेरा पर्खाल निर्माणका लागि पिपिसी सिमेन्ट ल्याइएको हो । भवन निर्माणको लागि सिमेन्ट ल्याइएको होइन । पिपिसी सिमेन्ट भवनमा प्रयोग गर्न पाउने अधिकार हामुलाई दिएको पनि छैन ।” सञ्चालन भट्टले भने, “पर्खाल निर्माणमा ओपिसी र पिपिसी उल्लेख छैन । यदि प्रयोग गर्न दिए त्यहीँ पिपिसी सिमेन्ट प्रयोग गर्छौ । प्रयोग गर्न नदिए फिर्ता लिन्छौं ।”
अहिलेसम्म भवन निर्माणको काम सुरु मात्रै भएको छ । भवनको जग बसाउन मात्रै पनि अझै केही दिन लाग्ने देखिन्छ । भवन निर्माणको काम चालू आर्थिक वर्षमा सम्पन्न नहुने निर्माण कम्पनी आफै बताउँदै आएको छ । भवनको काम सम्पन्न नगरेर बाहिर पर्खालको काम सुरु हुने सम्भावना पनि छैन । निर्माण कम्पनीले गलत नियतका साथ कमसल संरचना बनाएर आफ्नो फाइदा खोजेको बुझ्न कठिन छैन । चार करोडको लागत स्टिमेट रहेको भवन निर्माण कम्पनीले दुई करोड ४१ लाखमा ठेक्का लिएको छ । लागत स्टिमेट भन्दा एक करोड ५९ लाख कममा निर्माणको जिम्मा लिएको कम्पनीले सरकारको मापदण्डअनुसार काम गर्दा घाटा हुने देखेपछि यस्तो हर्कत गरेको हुनसक्ने अनुमान गरिएको छ ।
अझै अहिले निर्माण सामाग्रीको मूल्य निकै वृद्धि भएको छ । मूल्य वृद्धिका कारणले पनि भवन निर्माणलाई चुनौती छ । “निर्माण सामाग्रीको मूल्य निकै वृद्धि भएको छ । यसले निर्माणमा समस्या ल्याएको छ । हामी आन्दोलन मै पनि छौं ।” जेभीका सञ्चालक भट्टले भने, “स्टिमेटमा निर्धारण गरेको सरियाको मूल्य ९२ छ । अहिले बजारमा एक सय ३२ पुगेको छ । काम गर्न निकै कठिन छ । यस्तो महंगीमा काम गर्न सकिने अवस्था छैन । म्याद थप हुन्छ । त्यसपछि काम सम्पन्न हुन्छ ।”
सम्झौताअनुसार निर्माण कम्पनीले भवनको काम।यहीँ असार २५ गतेभित्र गरिसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *