साढे छ लाख खर्च भएको चिल्ड्रेन पार्कमा ताला

शेयेर गर्नुहोस


टीकापुर ३१ साउन /
कुनै संरचना निर्माण हुनु मात्रै ठूलो कुरा होइने, महत्त्वपूर्ण कुरा त्यसलाई प्रयोगमा ल्याउनु हो ।
कैयौं यस्ता संरचना छन्, जुन संरचना नियमनकारी निकायको अगाडि छन् तर बन्द छन् । त्यसको एक उदाहरण हो टीकापुर नगरपालिकाको मुख्य प्रवेशद्वारको अगाडि रहेको चिल्ड्रेन पार्क । सधै विवादित बनेको पार्क हिजो बजेट अभावमा विवादित बन्यो भने अहिले सञ्चालनमा आउन नसकेर विवादित बनेको छ । सुदुरपश्चिम प्रदेशको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको १० लाख बजेटबाट मर्मत सम्भार भएको चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेन । असार १५ गते नै मर्मतसम्भारको काम सम्पन्न भैसकेको चिल्ड्रेन पार्कको प्रवेशद्वारमा यतिबेला ताला लागेको छ ।
पार्कलाई प्रयोगमा ल्याउन नसक्दा त्यसको स्वरुप पुरानै अवस्थाको भैसकेको छ । लाखौं बजेट खर्च भएका संरचना यसरी कुरुप बन्दै जाने हो भने त्यसमा लगानी गर्नुको औचित्य नहुने स्थानीय बताउँछन् । फेरि त्यस चिल्ड्रेन पार्कमा प्रदेश र नगरपालिका दुबैले रकम विनियोजन गरेका थिए । पछि नगरपालिकाले पार्कको लागि विनियोजन गरेको रकमबाट दुई ठाउँमा हाइमास्क लाइट जडान गरेको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए ।
उनले प्रदेशको आयोजनामा नगरपालिकाको कुनै भुमिका नहुने भन्दै एउटै आयोजनाको दोहोरो बजेट भएपछि नगरपालिकाले विनियोजन गरेको बजेटले सिटी बसपार्क र टीकापुर खुला मैदानमा हाइमास्क लाइट जडान गरिएको बताएका छन् । “प्रदेशको बजेटबाट कति काम भयो त्यो हामीलाई थाहा भएन । त्यसको सबै प्रदेश आफैले हेर्छ ।” इन्जिनियर रावलले भने, “नगरपालिकाको बजेट भने अर्को आयोजनामा परिवर्तन गरेर खर्च गरिसकेका छौं ।” उनले निर्माण भएको संरचना सञ्चालनमा आउनुपर्ने बताएका छन् ।
चिल्ड्रेन पार्कमर्मतसम्भारको जिम्मा पाएको उपभोक्ता समितिका अध्यक्ष जनक बहादुर विष्टले आफुहरुले लागत अस्टिमेट अनुसार काम सम्पन्न गरिसकेको बताएका छन् । उनले बजेट १० लाख भने पनि भुक्तानी ६ लाख ६४ हजार मात्रै भएको बताए । “काम सम्पन्न भएर बजेट पनि निकासा भैसकेको हो । बजेटको मापदण्डअनुसार सबै काम सम्पन्न भएको छ ।” विष्ट भन्छन्, “सञ्चालन गर्ने जिम्मा हाम्रो होइन ।” उनकाअनुसार अझै पार्क भित्र थुप्रै काम बाँकी रहेको छ ।
बालबालिकाका लागि खेलौनाका सामाग्रीहरु त्यहाँ राख्न सकेपछि मात्रै त्यसलाई सञ्चालनमा ल्याउने गरी नगरपालिकासँग छलफल भएको उनी बताउँछन् । खेलौनाका सामाग्री नभएकै कारण अन्य गलत क्रियाकलापका लागि पार्क प्रयोग नहोस् भनेर आफुहरुले ताला लगाएको विष्ट बताउँछन् । चिल्ड्रेन पार्कमा लाखौं खर्च हुँदा पनि त्यसको प्रयोग गर्न नपाएको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *