शेयेर गर्नुहोस
टीकापुर २७ कार्तिक /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको कार्तिक महिनासम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको कार्तिक २५ गतेसम्म दुई करोड ७६ लाख ३८ हजार पाँच सय ७१ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । जुन नगरपालिकाको वार्षिक लक्ष्यको साढे ३२ प्रतिशत हुन आउँछ । नगरपालिकाले चालू आर्थिक वर्षमा ८ करोड ५० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
नगरपालिकाले साउन महिनामा ७८ लाख ३९ हजार पाँच सय १९ रुपैयाँ, भदौ महिनामा ६९ लाख ४८ हजार ८ सय ५२ रुपैयाँ, असोजमा ५४ लाख ६६ हजार ७ सय ८० रुपैयाँ र कार्तिक २५ गतेसम्म ७३ लाख ८३ हजार चार सय १८ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख नन्दबहादुर केसीले जानकारी दिएका छन् । नगरपालिकाले गत आर्थिक वर्षको कार्तिक २५ गतेसम्म दुई करोड ३२ लाख ८५ हजार ७६ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
७ करोड ५३ लाख दुई हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले गत वर्ष ९ करोड ८ लाख ६९ हजार ९ सय ६ रुपैयाँ राजश्व संकलन गरेको थियो । गत वर्ष नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउन सकेन । जहाँबाट लाखौं राजश्व गुमाएको थियो । अन्य कैयौं आन्तरिक राजश्वका ठेक्काको लागि सूचना आव्हान गर्दा पनि ठेक्का परेको थिएन । त्यो मध्येको एक घण्टा घर पनि हो । जुन घण्टा घर नगर प्रमुखले केही दिनमा सञ्चालनमा आउने भन्दाभन्दै वर्ष बितेको थियो ।
उसो त नगरपालिकाले सपिङ्ग कम्प्लेक्स भाडामा दिए बापत साढे दुई करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । नगरपालिकाले दुई करोड ८३ लाख ६० हजार एक सय ८२ रुपैयाँ सपिङ्ग कम्प्लेक्सबाट भाडा उठाउन बाँकी रहेको देखिएको हो । निकै विवादित बन्दै आएको भाडाको विषयमा जनप्रतिनिधिहरुको उदासीनता अनि सबै जिम्मेवारी कर्मचारी माथी थुपार्दा बर्सेनि बक्यौता पनि थुप्रदै गएको छ । उसो त कतिपय व्यापारीले सटर छोडेर गैसकेका छन् । त्यसरी गएका व्यापारीले तिर्नुपर्ने रकम तिरेका छैनन् । कोहि भाडा नतिरेर पनि बसिरहेका छन् ।
खाली भएका सटर भाडामा लगाउनका लागि सुचना हुन सकेको छैन । सुचना नहुँदा नगरपालिकाले आम्दानीको स्रोतलाई गुमाएको मात्रै छैन,आजको समस्या भोलीसम्मका लागि थाती राख्ने काम जनप्रतिनिधिबाट हुँदै आएको छ । उसो त नगरपालिकाले राजश्वका दायरा बढाएर काम गर्न सके वार्षिक १५ करोड भन्दा बढी राजश्व संकलन गर्न समस्या नहुने नगरपालिका भित्रैका कर्मचारीहरु बताउँछन् । अटो रिक्सा व्यवस्थापन मात्रै गर्न सके पनि नगरपालिकाले वार्षिक लाखौं राजश्व उठाउन सक्ने भन्दै स्थानीय बिक्रम बिष्टले नगरपालिकाको आँखामा त्यहीँ पार्क मात्रै परेको बताएका छन् ।










