सामुदायिक चौपायाको गोबरबाट बायो ग्यास प्लान्ट सञ्चालनमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०६ असार /

कैलालीमा सामुदायिक पशु चौपायाका कारण किसानहरू निकै आजित छन् । लगाएको अन्न बाली नष्ट गर्न थालेपछि किसानहरू निकै आजित भएका हुन । किसानहरूको समस्या समाधानको लागि स्थानिय पालिकाले धेरै प्रयत्न गरे । ती गरेका प्रयत्न सफल हुन नसकेपछि स्थानीय सरकारले पनि सामुदायिक चौपाया व्यवस्थापन गर्न सकेनन् । सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि स्थानीय सरकारले थुप्रै विकल्पहरुको खोजी गरिरहँदा टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरेको क्षेत्रमा बायो ग्यास प्लान्ट जडान गरेको छ ।
नगरपालिका भित्रका सामुदायिक चौपायाहरुलाई वडा नं . २ को खोटेना भिराखानी सामुदायिक वनमा व्यवस्थापन गरिँदै आएको छ । चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायो ग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरणको तयारी थालेको छ । प्लान्टको सम्पुर्ण काम सम्पन्न भएर स्थानीयको घरघरसम्म पाइप लाइन जडानको काम समेत सम्पन्न भइसकेको छ । “पलान्टको सम्पुर्ण काम सम्पन्न भैसकेको छ । अहिले निर्माण कम्पनीले परिक्षणको काम गरिरकेको छ ” नगरपालिकाका इन्जिनियर नवराज जोशीले भन्नुभयो, “अर्को आर्थिक वर्षको पहिलो महिनादेखि नै स्थानीयले सहुलियत दरमा ग्याप प्राप्त गर्ने छन् ।”
एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल उर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/०७७ भदौबाट सुरु भएको थियो । आयोजनाको काम निर्माण कम्पनीले नगरपालिका र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संयुक्त लगानिमा बायो ग्यास प्लान्ट निर्माण भएको हो । ५५ घरधुरीलाई नगरपालिकाले खाना पकाउनको लागि उक्त बायो ग्यास नागरिकहरुको घरघरमा पुर्याएको छ । इन्जिनियर जोशिले यसबाट नगरपालिका भित्रका सामुदायिक चौपाया व्यवस्थापन सँगै स्थानीयले ग्यास प्राप्त गर्नुको साथै खेतको लागि प्राङारिक मल समेत उत्पादन हुने बताउनुभएको छ ।
नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै फोहोरको व्यवस्थापन गर्ने तयारी समेत गरेको छ । बजार क्षेत्रबाट संकलन भएको सडने फोहोरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र बाँकीलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगरपालिका नगर प्रमुख रामलाल डगौंरा थारुले बताउनुभएको छ । “अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुने छ । ग्यासको लागि चौपायाको बढी भन्दा बढी आवश्यकता पर्ने भएकोले त्यसलाई रोजगारीसँग जोडेर गाईहरुबाट उत्पादन भएको दुध लगायतका बस्तुको बजारीकरणका लागि डेरि सञ्चालनको समेत सोच बनाएका छौं ।” नगर प्रमुख थारुले भन्नुभयो, “एकातिर चौपाया व्यवस्थापन पनि हुने र अर्कोतिर विपन्न परिवारले सहुलियतमा ग्यास पाउने भएकोले पनि यो आयोजनालाई नगरपालिकाले विशेष महत्त्वका साथ लिएको छ ।”
दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराको लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायो ग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसानहरू पनि खुशी भएका छन् । बिगतका वर्षहरूमा सामुदायिक चौपाया व्यवस्थापनका लागि लाखौं खर्च हुने गरेको भएपनि किसानले लगाएको अन्न बाली चौपायाबाट बचाउन सकेको थिएनन् ।
“सामुदायिक चौपाया व्यवस्थापन भएको स्थानबाट दुई सय मिटर नजिकै मेरो खेत छ । रातिको समयमा गौशालाबाट चौपाया आएर बाली नष्ट गर्न थालेपछि मैले खेती लगाउन नै छोड्नुपर्यो ।” किसान विक्रम चौधरीले भन्नुभयो, “चौपायाकै त्रासका कारण खेतमा तारबार गर्नुपर्यो । अनि मात्रै खेती बचाउन सकिएको छ ।” उहाँले आफू मात्रै सामुदायिक चौपायाबाट पिडित नभएको बताउँदै अधिकांश किसानहरू आजित भइसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *