शेयेर गर्नुहोस
टीकापुर २५ चैत /
टीकापुर नगरपालिकाले बजार क्षेत्रमा आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर निर्माण गरेका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।
नगपालिकाले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक जग्गा/बाटो/नालामा पर्ने गरी बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन १५ दिनको समयसीमा तोक्दै सूचना जारी गरेको हो ।
नगरपालिकाले नियमित बजार अनुगमनका क्रममा केही घरधनी तथा व्यवसायीहरुले ओपन स्पेश, बाटो, नालामा पर्ने गरी नियम विपरीत संरचना निर्माण गरेको पाइएकाले तत्काल हटाउन सूचना मार्फत भनिएको छ ।
सूचनामा ‘गृह मन्त्रालयको परिपत्र र जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान कार्यान्वयन गर्न पालिकाको स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको चैत्र २४ गते बसेको बैठकको निर्णयानुसार अनाधिकृत रुपमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचनाहरु सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन’ भनिएको छ ।
सूचनामा ‘सूचनाको अटेर गरी संरचना नहटाइएको पाइएमा प्रचलित कानुनअनुसार भई जाने र यसबाट पर्न जाने असरको जिम्मेवारी स्वयं सम्बन्धितमा रहन जाने व्यहोरा जानकारी गराइन्छ’ भनिएको छ । नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालद्धारा जारी सूचनामा त्यस्ता संरचनाले अन्य व्यवसायीलाई समेत असर परिरहेको उल्लेख छ ।
जिल्लाका सार्वजनिक जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि नै सूचना जारी गरिसकेको छ ।










