सिँचाइका लागि जनश्रमदानमा जुटे किसानहरू

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०२ जेठ /

गहुँ बाली भित्र्याएसँगै किसानहरू बर्खे बाली अर्थात धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसानहरू जुटेका हुन । यतिबेला रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तिनै कुलोका किसानको खेतसम्म पुग्ने सिँचाइ कुलोको मर्मतसम्भारमा किसानहरूले जनश्रमदान गर्दै आएका छन् ।
केहि दिनदेखि टीकापुरका विश्राम चौधरी पनि कुलो मर्मतसम्भारका लागि जनश्रमदानमा व्यस्त हुनुहुन्छ । गाउँका अन्य किसानहरूसँगै जमरा कुलोको पानी खेतसम्म पुर्याउनका लागि सिँचाइ कुलो मर्मतसम्भारमा लागिएको उहाँले बताउनुभयो । “बर्सेनि बर्खा सुरु हुनुभन्दा पहिले गाउँका सबै किसानहरूको सहभागितामा आफ्नो क्षेत्रको किलो मर्मतसम्भार गरेर खेत सिँचाइको लागि पानी ल्याउने चलन रहेको छ ।” विश्राम भन्नुहुन्छ, “गाउँको बडघरको नेतृत्वमा सबैको उपस्थिति हुने हुँदा काम छिटोछरितो र रमाइलोसँगै काम पनि हुन्छ । यो एउटा हाम्रो परम्परा जस्तो पनि बनिसकेको छ ।” जनश्रमदानमा सहभागी हुन नसक्ने किसानेले जरिवाना तिर्नुपर्ने चलन गाउँमा रहँदै आएको उहाँ बताउनुहुँन्छ ।
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले यसअघि नै मुख्य कुलोमा पानी छोडिसकेको छ । मुख्य कुलोबाट किसानको खेतसम्म पुग्ने सिँचाइ कुलो मर्मतसम्भार गरेर किसान धानको ब्याड राख्ने तयारीमा रहेको कृषक मोतीलाल चौधरीले बताउनुभयो । “हाम्रा लागि बर्खा सुरु भैसकेको छ । धानको ब्याडका लागि अधिकांश किसानले तयारी गरेका छन् । त्यसैको सिँचाइका लागि सामुहिक श्रमदानमा सिँचाइ कुलोको मर्मतसम्भार गरेर पानी ल्याउने काम भैरहेको छ ।” उहाँ भन्नुहुन्छ, “सिँचाइको सुविधा भएपछि केही दिनभित्रै किसानहरुलाई खेतको काममा भ्याइनभ्याई हुन्छ ।”
कुनै समय कैलालीका किसान सिँचाइका लागि महिनौं कर्णाली नदीको मुहनमै बसेर काम गर्दै आएको इतिहास धेरै भएको छैन । पुर्वी कैलालीका अधिकांश स्थानीय सिँचाइका लागि कुलामा पानी ल्याउनकै लागि कर्णाली नदीमा महिना दिन बिताउने गर्थे । त्यो बेला रानी जमरा कुलरिया कुलोमा पानी ल्याउनको हजारौं किसान दिनरात कर्णाली नदीमा बस्ने गर्थे । “त्यो घरबाट एकजना सिँचाइको लागि पानीको मुहान फर्काउन अनिवार्य थियो । हजारौंको सहभागितामा कर्णालीको पानी सिँचाइको लागि ल्याइन्थ्यो ।” स्थानीय बन्धु चौधरी भन्नुहुन्छ, “त्यो बेलाको स्थिति हेर्दा अहिले किसानलाई दुख नै छैन । प्रविधिको प्रयोग र राष्ट्रिय गौरवको आयोजनाले किसानलाई धेरै सहज बनाएको छ ।”
रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु भएपछि सिँचाइको लागि किसानहरूलाई कर्णाली नदीसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । मुख्य कुलोबाटै काम गर्नुपर्ने बाध्यतामा रहेका किसानहरू आयोजना सुरु भएपछि मुख्य कुलोको सहायक कुलोबाट सिँचाइ कुलो मात्रै किसानहरूले मर्मतसम्भार गर्नुपर्छ । त्यतिमात्र नभई किसानलाई आवश्यक मात्राको पानी कुलोमा ल्याउन मिल्ने भएपछि कुलो समितिले मात्राअनुसार पानी छोड्ने गरेको छ । बढी भएको पानी कर्णाली नदीमा फर्काउने व्यवस्था मिलाइएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले काम सम्पन्न गरेपछि किसानहरूले बार्है महिना सिँचाइ सुविधा पाउने छन् । आयोजनाका सुचना अधिकारी नवीन पौडेलका अनुसार जमरा कुलोको काम अन्तिम चरणमा रहे पनि रानी कुलोको काम अहिले पनि ३० प्रतिशत सम्पन्न भएको छ । उता कुलरिया कुलाको ५० प्रतिशत काम सम्पन्न भएको सुचना अधिकारी पौडेलले बताउनुभयो । “समग्रमा आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भए पनि जमरा कुलोको काम सम्पन्न हुने अवस्थामा पुगेको छ ।” उहाँ भन्नुहुन्छ, “बाँकी रानी र कुलरियाको काम सुरुमा प्राविधिक समस्याले ढिला भए पनि अहिले कामले गति लिएको छ ।”
नेपाल सरकार स्वीकृत खरिद योजना अनुसार यहीँ असारमा सम्पन्न हुने भनिए पनि पुनः एक वर्ष थप भएर २०८१/०८२ मा सम्म कायम गरिएको उहाँले बताउनुभयो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *