सिमित स्रोतले असीमित अपेक्षा पूरा गर्न कठिन छ : चौधरी

शेयेर गर्नुहोस


भजनी २१ जेठ /
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सिमित स्रोतसाधनबाट असीमित अपेक्षा पूरा गर्न कठिन भएको बताएका छन् ।
भजनी नगरपालिकाले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग राय तथा सुझाव संकलन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताएका हुन । “हामीसँग स्रोतसाधन निकै कम छ । त्यो स्रोतसाधनले जनताका असीमित अपेक्षा पूरा गर्न कठिन छ ।” उनले भने, “स्रोतसाधनको हिसाबले हेर्दा भजनीमा विकासको आयाम थपिँदै गएको छ ।”
उनले शिक्षा, स्वास्थ्य, कृषि र बाढी तथा डुवानको क्षेत्रलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताउँदै त्यसैअनुरूप प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य पनि भैरहेको बताएका छन् । “मैले एक्लैले चाहेर सबै कुरा पूरा हुन सक्दैन । त्यसका लागि हामी सबै एक हुनुपर्छ ।” नगर प्रमुख चौधरी भन्छन्, “आस्था र विचारका दृष्टिकोणले फरक भए पनि विकासका ऐजेण्डामा हामी एक ठाउँमा उभिनुको विकल्प छैन ।” सुझाव संकलन कार्यक्रममा उनले नागरिक स्तरबाट आएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लगिएको दाबी गरे ।
विकासका सवालमा होस् वा नगरपालिकाले प्रवाह गर्ने सेवाको विषयमा आफुबाट कसैलाई काखापाखा गर्ने काम नभएको नगर प्रमुख चौधरी बताउँछन् । “मैले नगरपालिकाको नेतृत्वमा आइसकेपछि कसैलाई अंगालोमा च्याप्ने र कसैलाई पाखा लगाउने काम गरेको छैन ।” उनले भने, “मेरो धारणा अनि बिचार आज पनि साझा छ । भोलि पनि हुनेछ ।” नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको टिकाउन निकै गाह्रो हुने गरेको बताएका नगर प्रमुख चौधरीले भने, “कार्यालय प्रमुख र जनप्रतिनिधिको कुरा कैयौं स्थानमा बाझिएर आउँछ । त्यसले काममा अवरोध हुन्छ । निमित्तको भरमा नगरपालिकाको कामकाज चलाउन झन कठिन छ ।”
भजनी क्षेत्रका सरोकारवाला निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतको सहभागितामा आउने आर्थिक वर्षको योजना तर्जुमाको लागि सुझाव संकलनको काम गरेको छ । कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने लगायत जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *