शेयेर गर्नुहोस
टीकापुर १५ मंसिर /
सुन्दर सुदुरपश्चिम यातायात प्रालिले भिआइपी सोफा सिट भएको टीकापुर एक्सप्रेस बस सेवा टीकापुरदेखि काठमाडौंसम्म सुरु गरेको छ ।
सुन्दर सुदुराश्चिम यातायात प्रालिले आइतबार एक कार्यक्रमको आयोजना गर्दै भिआइपी सोफा सिट भएको बस सेवा टीकापुरदेखि काठमाडौंसम्मका लागि सुरु गरिएको हो ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले निजि संस्थाको लगानी बिना विकासको परिकल्पना गर्न नसकिने बताएका छन् ।
“देश विकासको प्रमुख मेरुदण्ड निजि संस्था हुन । निजि संस्थाको लगानी विना समृद्धिको परिकल्पना पनि गर्न सकिँदैन ।” नगर प्रमुख थारुले भने, “राज्यले निजि क्षेत्रको लगानीमा संरक्षकको भुमिका गरेर उहाँहरुको हौसला बढाउने काम गर्नुपर्छ ।” नगर प्रमुख थारुले विकासका लागि महत्त्वपूर्ण साधन यातायात भएको बताउँदै पछिल्लो समय यातायात व्यवसायीले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बताए ।
टीकापुरदेखि काठमाडौं जानको लागि यात्रुहरूलाई स्तरीय सेवा प्रदान गर्नका लागि सुदुरपश्चिम यातायात प्रालिले सुरु गरेको सेवाको उनले प्रशंसा समेत गरे । आगामी दिनमा यसलाई अझै चुस्त दुरुस्त बनाउँदै लैजान आग्रह गरेका छन् ।
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण प्रसाद रिमालले पछिल्लो समय यातायात क्षेत्रको विकासलाई लिएर पहिलेका दिनलाई स्मरण गरेका थिए । उनले कुनै समय टीकापुरमा बस सञ्चालन गर्दाको चुनौती र अहिलेको स्तरीय सेवालाई लिएर यातायात क्षेत्रमा ठूलो परिवर्तन भएको उल्लेख गरे ।
सोही अवसरमा पुराना व्यवसायी पदमसिंह बमलाई सम्मान समेत गरिएको थियो । टीकापुरमा पहिलोपटक २०३४ सालमा सुदुरपश्चिम यातायातबाट बस सेवा सञ्चालन गरेर आवागमनलाई सहज गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रालिले सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन सुरेन्द्र बोहराले गरेका थिए ।
प्रालिले टीकापुर रुटमा स्तरीय भिआइपी सोफा सिट भएका पाँचवटा बस सञ्चालन गरेको छ । ती बसले दैनिक रुपमा सेवा दिने बताइएको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै स्तरीय टीकापुर एकसप्रेस बस सेवा सुरु गरिएको प्रालिका अध्यक्ष सापकोटाले बताएका छन् ।










